
१. काल विभाजनको लघुकथा- अर्धनग्न
ममता मृदुल

ममता मृदुल
“चारू म तिमीबिना बाँच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु ।”, छविले धेरैपटक चारूलाई भनेको थियो ।
चारूले मनमनै सोचिन्, “मलाई यति धेरै माया गरेको छ । म अरू के खोज्नु ? हुन्छ भनिदिन्छु । आखिर सँगै कलेज पढेका छौँ । पछि मिलेर केही गरौँला ।”
सात दिनसम्म भेट भएन । कसैलाई सोधिनन् । एकदिन कलेज जाँदा बाटोमा छविलाई देखिन् । परैबाट बोलाउन असजिलो लाग्यो । छवि भएको ठाउँमा गइन् । मुसुक्क मुस्कुराइन् । छविलाई केही भन्नुभन्दा पहिले नै कुरो बुझ्यो ।
प्रेम झ्यागिङ्यो । चारूलाई पनि छविको व्यवहार मन पर्छ । व्यवहारिक लाग्छ । सोचेर खर्च गर्ने, जथाभावी नबोल्ने उसको सुन्दर सालीन व्यवहार छ ।
एक्कासी चारूलाई फुपूको छोरीको बिहेमा जानुपर्न भयो । एक महिना फुपूको घरमा बसेर घर आइन् ।
हतार हतार छविलाई भेट्न डेरामा गइन् । छविको कोठामा एउटी महिला र तीन वर्षको बच्चा थियो । छवि डेरा सरेछन् । मनमनै सोचिन् ।
फर्किनै लागेकी थिइन् । पछाडिबाट ‘बेबी मलाई टाबेल देउ न, कता गयौ ?’ भन्ने आवाज सुनेर उनले पछाडि फर्केर हेरिन् । छवि अर्धनग्न अवस्थामा चारूको पछाडि उभिइरहेको थियो ।
###
नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकाल मानिन्छ । यही कालदेखि ममता मृदुलले लघुकथा लेख्न थालेकी हुन् ।
ममता विशेष: आख्यान लेख्न रुचाउँछिन् । सम्पादन र साहित्यिक संगठन उनीको क्षमता प्रदर्शन गर्ने थलो हो । पछिल्लो समय नारी स्रष्टा समाज र लघुकथा समाज, प्रदेश नं. १ को तर्फबाट साहित्यमा उत्पात सक्रिय छिन् ममता ।
प्रस्तुत लघुकथा “अर्धनग्न” प्रेम र घातको एक उत्कृष्ट कथा हो । लघुकथाकार ममताले यस कथामा मृदुल पारामा शीर्षक छनोट गरी न्याय दिएकी छिन् । घातको कथा हुँदाहुँदै पनि लघुकथाकारको कुसल कल्पना र शैलीले गर्दा कथा चोटिलो बनेको छ । ममता मृदुलको यो “अर्धनग्न” लघुकथा ममतालाई लघुकथामा स्थापित गराउने एक लघुकथा पनि हो ।
२. संग्रहभित्रको लघुकथा – कुकुर ‘क’
कृष्ण बजगाईं

कृष्ण बजगाईं
प्राथमिक तहको वर्णमालाका अक्षरहरू आफूखुसी अर्थ्याएर पढाउन थालेपछि गन्जोगोलको स्थिति सिर्जना भयो । त्यसपछि पठनपाठनमा एकरूपता ल्याउन सरकारले सबै राजनीतिक पार्टीका शिक्षक र भाषाविद्हरूको बृहत् भेला आयोजना गरयो ।
‘कपुरी ‘क’मा पुरानो सत्ताको धङधङी छ ।’ भेलाका सहभागी एक क्रान्तिकारी भाषाविद्ले कुरा उठाए ।
‘अबदेखि ‘क’बाट कम्युनिस्ट भनेर पढाउनु पर्दछ ।’ लेनिनकट दाह्री राखेका शिक्षकले भने ।
‘कम्युनिस्ट भन्दा काङ्ग्रेस पार्टी पहिला स्थापना भएको हो । ‘क’बाट काङ्ग्रेस भनेर पढाउनु पर्दछ ।’ बिपी कोइरालाको जस्तो चस्मा लगाएका अर्का भाषविद्ले तर्क राखे ।
एक जना कुर्ताधारीले ‘क’बाट कलम भनेर सिकाउनु पर्दछ भने ।
‘मिल्दैन, बिलकुलै मिल्दैन । कलम त्यो ….पार्टीको झन्डामा छ । कछुवा त्यो…. पार्टीको चुनाव चिन्ह हो । कमल त्यो… नेताको नाम हो । कापी चुनाव चिन्ह लिएका ती…. नेताले चुनाव जितेका छन्… ।’ विभिन्न तर्क र विरोधले मर्यादा नाघेर होहल्लाको रूप लियो ।
लामो समयसम्म छलफल गर्दा पनि कुनै शब्दमा सहमति हुन सकिरहेको थिएन । अधिकांश प्रतिनिधिहरू विचरा ‘क’को नाममा उत्तेजित हुँदै थिए । केही प्रतिनिधिहरू मैले भनेकै हुनुपर्दछ भन्दै कुकुरजस्तै भुक्दै थिए ।
होहल्लाकै बिच माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाऔँ हजुर ! भनेर प्रस्ताव राखे । वास्तवमा कुकुर कसैको नाता पर्दैन थियो । कुकुर शब्दमा सबैले सहमति जनाए ।
###
कृष्ण बजगाईंको पछिल्लो लघुकथासंग्रहको नाम हो “संवैधानिक पत्नी” । यस संग्रहमा संग्रहित अधिकांश लघुकथाहरू राजनीतिक विषयमाथि लेखिएको छ ।
कृष्ण बजगाईं बहुमुखी स्रष्टा हुन् । लघुकथाबाहेक पनि उनीका अन्य विधामा सम्मानित संग्रहहरू प्रकाशित छन् । उनी विदेशमा रहेर नेपाली साहित्यको सेवामा निरन्तर लागिपरिरहेका छन् ।
प्रस्तुत लघुकथा ” कुकुर क” कल्पनाभन्दा बाहिरको कथा हो । राजनीतिको उहीँ बासी किचलोलाई कृष्ण बजगाईंले कुकुर “क”बाट ताजगी बनाएका मात्रै छैनन्, कको गजबको अकल्पनीय व्याख्यासमेत गरेका छन् । यो कथा नेपाली लघुकथाको कोसेढुङ्गा नै बनेको छ ।
३. लघुकथा समूहभित्रको लघुकथा – अनुत्तरित प्रश्न
मिसु श्रेष्ठ

मिसु श्रेष्ठ
“बाबु फाराम पूरा भर्न त सक्छौ नि ? ” बुबाको प्रश्नले एकपल्ट फेरि प्रश्नावली पढ्न बाध्य भएँ । विज्ञानमा ए प्लस ल्याएर भर्खरै बाह्र उत्तीर्ण मलाई यो प्रश्नावली सामान्य लाग्यो ।
“तपाईँको श्रीमतीको नाम ?”
“छैन ।”
“किन र ? दुईवटा छोराछोरी छन् भनेको होइन र !”
“हो ।”
“अनि ?”
“यी छोराछोरी मेरा मात्रै हुन् , कसैका होइनन् ।”
“त्यस्तो नि हुन्छ र । कि पालिएका हुन् ?”
“के सम्बन्धविच्छेद भएको हो र ? ”
“तपाईंले भनेजस्तो केही होइन । यी नितान्त मेरा रगत हुन् , मेरै सन्तान हुन् । ” उसले आक्रोश ओकल्यो ।
“अनि नाम नै भन्न नहुने केही कारण छ र ? ” मैले बिस्तारै सोधेँ ।
“प्रश्नावलीमा कारण पनि खोजेको छ र ?”, लापरबाहीपूर्वक ऊ बोल्यो ।
“होइन , होइन ! छैन । तर, विवाहितको हकमा पत्नीको नाम अनिवार्य हो, जीवित होस् या मृत ।”, म हतास बोलेँ ।
“उसो भए अविवाहित लेख्नुस् ।” मलाई बाध्य पार्यो ।
`सिद्धान्तका ठेलीभन्दा एक पाना जीवनको प्रश्नावली कैयौँ गुणा कठिन हुँदोरहेछ । ´ मनन् गर्दै बुबालाई सम्झिरहेँ ।
###
“लघुकथा डबली” लघुकथाको विकास र विस्तारमा लागेका फेसबुक समूहहरूभन्दा नितान्त फरक समूह हो । थोरै सदस्य सङ्ख्या रहेको यो समूहमा लघुकथाकारहरूको सङ्ख्या भने उत्साहजनक छ । भारतीय लघुकथाकारहरूको राम्रा लघुकथा पनि यस समूहमा सहजै पढ्न पाइन्छ ।
यस पेजमा गतहप्ता मिसु श्रेष्ठले “अनुत्तरित प्रश्न” पोष्टाएकी थिइन् ।
मिसु श्रेष्ठ पछिल्लो समयमा लघुकथामा लागेकी एक बौद्धिक लघुकथाकार हुन् । उनी समसामयीक विषय रोजेर मानवीय सम्वेदनाभित्रको पीडा र अनुभूतिहरूमाथि विशेष चोटिलो शब्दहरू बुन्छिन् ।
प्रस्तुत लघुकथा “अनुत्तरित प्रश्न”मानवीय संवेदानाभित्रको एक चोटिलो कथा हो । फाराम त कथा बुन्ने एउटा सानो खेस्रा मात्र हो तर यस्ता अनुत्तरित प्रश्नको सामना जीवनको पानामा ठाउँ/कुठाउँ गरिरहनु पर्छ । कथा चोटिलो छ । मिसुलाई यस्तै गर्विलो लघुकथाहरू पस्किने जाँगर चलिरहोस् । शुभकामना ।
४. समसामयिक लघुकथा – छोरी घर
इन्दिरा गौतम

इन्दिरा गौतम (असम)
विस्तारै विस्तारै जाडो बढ्दै थियो । रबिनकी आमाको खोकी पोहोर सालको भन्दा पनि बढ्दै गयो । बुहारीलाई भने सासूको खोकीदेखि झर्को लाग्न थाल्यो । पोहोर साल पनि जाडोमा राताभरि खोकेर अशान्ति भएको थियो । राम्रो गरी सुत्न पाइनँ भनेर सधैँ बूढालाई किचकिच गरिन् । यसपालि चैँ बेलैमा बुद्धि निकाल्दै छिन् ।
एकदिन श्रीमान् नभएको मौका छोपेर सासूलाई भन्छिन् – ‘आमा, तपाईँको लागि छोराछोरी सबै उत्तिकै हुन्, यसो छोरीको घरमा गएको कहिले देख्दिनँ त ! तपाईँलाई जाने मन छ भने अफ्ठ्यारो नमानी भन्नुहोस् । नानीहरूको परीक्षा सकेपछि म लिन आइहाल्छु ।” सासूले केही भन्न नपाउँदै भोलिपल्ट बजारबाट स्वेटर र अन्य सरसामान दिँदै भन्छिन्, ‘छोरीलाई फोन गरेर भन्नु, म दुई चार दिनको लागि डुल्न आउँछु भनेर ।’
बेलुका छोराको छेउमा गएर आमा भन्छिन्, ‘मलाई सबै आफन्तसँग भेटघाट गर्ने मन थियो । छोरी, नाति-नातिना, भाइ, बुहारीलाई नदेखेको धेरै भयो । पुर्याइदिन्छस् कि ?”
छोराले भन्छन् – ‘ल, अहिले म तपाईंलाई लिएर जान्छु । हिजोको नयाँ स्वेटर, साडी सबै लगाउनु होस् ।’
आमा नयाँ कपडा झिकेर लगाउँछिन् । बुहारीको हर्षको सिमा रहेन । मनमनै खुसी हुँदै भन्छिन् – ‘यो बुद्धि चैँ मेरो ढिलै भए पनि सही आएको रैछ । रात परिसक्यो , मलाई भन्दा पनि छोरालाई चैँ आमा पन्साउन झन् हतार भएको रै”छ, भोलि बिहान जाँदा पनि हुने !”
कुनै पनि काम सोचेपछि गरिहाल्नुपर्छ भन्दै छोराले पालैपालो सबैसँग भिडियो कल लगाइदिए । आमा खुसी हुँदै फोनबाटै पालैपालो छोरीको घरमा, घरि माइत, घरि मावल पुगिन् । उनको हर्षको सिमा रहेन।
फोन राख्दै छोराले भने, ‘आमा अब लुगा खोल्नु । अचेलभरि घुम्ने डुल्ने भनेको यस्तै हो ।’
बुहारी हेरेको हेरै भइन् ।
###
भारतको आसाममा रहेर नेपाली भाषाको सेवामा लागेकी इन्दिरा गौतमको मुख्य साहित्यिक विधा लघुकथा हो । सिमाना रहीत लेखन नै इन्दिराको विशेषता हो । उनी पेसाले शिक्षिका हुन् । इन्दिरा अनुभूतिको गहिराइमा पुगेर प्रायः लघुकथाहरू लेख्छिन् ।
अहिले वातावरणमा अत्याधिक चिसो बढेको छ । उच्च पहाडी क्षेत्रहरूमा त हिउँ नै बर्सेको पाइन्छ । यसरी चिसो ह्वात्तै बढ्दा केटाकेटी र बूढाबूढीलाई बढी असर गरेको पाइन्छ ।
प्रस्तुत लघुकथा “छोरी घर” अत्यन्तै समसामयिक छ । कथाले जेष्ठ नागरिकप्रति गरिने उपेक्षा देखाएको छ भने कथाको अन्त्यले ३६० डिग्रीमा घुमेर प्रेम र सद्भावको वकालत पनि गरेको छ । यो कथा इन्दिरा गौतमको मात्र हैन नेपाली लघुकथाकै एक बेजोड लघुकथा हुन सक्छ ।
५. मलाई मन परेको लघुकथा – सेखी
जीवन दाहाल

जीवन दाहाल
एउटी माछी पोखरीको निर्मल जलमा पौडदै थिई । त्यसैबेला छप्ल्याङ् गरेर आएको आवाजले उसको सातोपुत्लो झन्डै लग्यो ।
ऊ भागेर अलि पर गै, पानी अझ गहिरो भएका ठाउँमा र फनक्क पछिल्तिर फर्किएर हेरी । त्यसै पोखरीमा एउटा छेपारो हातखुट्टा फाल्दै ज्यान बचाउने ध्याउन्नमा रहेझैँ देखियो ।
छेपाराको अवस्था देखेर उसलाई दया पलायो अनि उद्धार गर्ने हेतुले हतार हतार गरेर छेपाराको छेउमा पुगी र हाँस्दै भनी- “ए मूर्ख ! मर्न पसेको पोखरीमा ?”
“भो ! भो ! फुर्ती नलगा, प्रत्येक हप्ता यही पोखरीको पानीमा पौडने गरेको ज्यान हो यो” – छेपाराले गजक्क परेरे पौँठा देखाउँदै जवाफ फर्कायो ।
छेपाराको बक्बक सुनेर पोखरी मुसुक्क हाँस्यो ।
###
जीवन दाहाल नेपाली लघुकथाको समकालीन कुशल स्रष्टा हुन् । उनी राम्रा लघुकथाको पाठक र भारतीय लघुकथाहरूको अनुवादक पनि हुन् । लघुकथामा विषय उठान, आकस्मिकता, तीव्र वेग, स्वादिलो झड्का र स्वैरकल्पना सजाउन सिपालु लघुकथाको रुपम जीवन दाहाललाई चिनिन्छ ।
प्रस्तुत लघुकथा “सेखी” स्वैरकल्पनामा बुनिएको एउटा गजबको कथा हो । माछी र छेपारोको विषय उठाएर लघुकथाकार जीवन दाहालले हाम्रै सेखी गजबले झारेका छन् । पोखरी मुसुक्क हाँसेको बीजवाक्यले कथाको उचाई र गरिमा कल्पनाभन्दा माथि पुर्याएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

