डोरबहादुर केसी

राधाको घर आज शोकमा डुबेको थियो । थुप्रै आफन्त र शुभेच्छुकहरूको उनको घरमा जम्मा भएका थिए । घरमा आज आँसुका बलेनी चुहिरहेका थिए । राधा पतिवियोगमा अर्धबेहोसी अवस्थामा छटपटाइरहेकी थिइन् । वेला-वेलामा उनले आफ्नो रौद्ररूप देखाउँदै घरको भित्तामा झुन्डिएको भगवान्‌को तस्बिरहरू भुईँमा मिल्काउने गर्थिन् । उनलाई आज भगवान्‌प्रतिको भरोसा र आस्था पूरै टुटेको थियो । किनकि, उनले आज आफ्नो जीवन साथी सधैँका लागि गुमाएकी थिइन् ।

राधाको श्रीमान्‌को अन्तिम दाहसंस्कार सम्पन्न भयो । तेह्रौँ दिनको काजकर्म पनि सम्पन्न भयो । आफन्त तथा शुभेच्छुकहरू सबै आआफ्नो नियमित कामतर्फ लागे । घर उजाड र सुनसान बन्दै गयो । जेजस्तो भए पनि आखिर राधाले पनि त जीवन दैनिकी चलाउनैपऱ्यो । सानैमा टुहरो बनेको छोराको पालनपोषण पनि गर्नैपऱ्यो । शिक्षादीक्षा दिनैपऱ्यो । उनी पनि बिस्तारै आफ्नो नियमित काममा लाग्ने प्रयास गरिन् । पहिलेभन्दा अझ बढी जिम्मेवारी उनको काँधमा थपिएर आएको थियो ।

घर सफा गरिन् । टेबुलमा सजाइएको श्रीमान्‌को फोटोमा माला लगाइदिइन् । दियो बालिन् । छोरालाई काखमा राखेर पटक-पटक मायाले चुम्बन गरिन् । श्रीमान्‌को वियोगमा रिसमा फ्याकिएका भगवान्‌का तस्बिरहरू जम्मा गरेर पुनः भित्तामा झुन्डाइन् । तस्बिरहरूलाई आस्था पूर्वक ढोगिन् ।

कोठाको एक कुनामा आशाको दियो बलिरहेको थियो । अन्धकार रातलाई दियोको मन्द प्रकाशले चिरिरहेको थियो । राधा आज आफ्नो नाबालक छोरालाई काखमा राखेर बच्चासँग मुस्कुराइरहेकी थिइन् ।