साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बालकथा- हारजित

Chovar Blues Mobile Size

रेणुका जिसी खतिवडा

“आज साँपसिढी खेल न त !”– निष्ठाको बाबाले भन्नुभयो । निष्ठा र निलभ खुशी भए ।
निलभ भर्याङ् चढ्दै अगाडि बढ्छन् । निष्ठा भने बेलाबेला सर्पको मुखमा पर्छिन् र तल झर्दै अगाडि बढ्छिन् ।
हिजो उनले लुडोमा भाइलाई जितेकी थिइन् । त्यसैले खेलमा हारजित भइरहन्छ भन्ने उनलाई थाहा छ । आफू भाइभन्दा पछाडि परेको भनेर उनी दुःखी भएकी थिइनन् । खेल रमाइलो भइरहेको थियो । हेर्दाहेर्दै निलभ त ९६ मा पो पुगिसक्छन् ।
“वाउ, अब ४ आएपछि त मेरो गेम हुन्छ ।”– निलभ डाइसलाई बट्टामा राखेर हल्लाउँदै ४—४ भन्न थाल्छन् ।
भाइ खुसी भएको निष्ठालाई असाध्यै मन पर्छ । त्यसैले उनी पनि भाइसँगै खुसी हुँदै ४—४ भन्न थाल्छिन् । निलभले डाइस भुइँमा फ्याँकेपछि भने ३ अंक पो पर्छ ! भाइ ९६ बाट ९९ मा पुगे पनि त्यहाँ त बडेमानको सर्प पो थियो । निलभको गोटी ९९ बाट एकैचोटि सर्पको पुच्छरमा झर्यो । जीतको यति नजिक पुगेर तल झर्नुपरेकोमा निलभलाई धेरै रिस उठ्यो । निलभले त बोर्ड, डाइस सबै फ्याँकिदिन्छन् र बाहिर निस्किएर, “अब म नखेल्ने” भन्दै रुन पो थाल्छन् ।
भाइको व्यवहारले निष्ठालाई निराश बनाउँछ, रिस पनि उठ्छ । निष्ठाले पनि निलभलाई, “लुजर, लुजर”, भनेर जिस्काउँछिन् । निलभ झन् जोडले रुन थाल्छन् ।
यो सबै घटना बाबाले देखिरहनुभएको थियो । बाबाले निष्ठालाई नबोल्ने इशारा गर्दै भाइलाई बोकेर बाहिर निस्कनु भयो । निलभलाई काखमा राखेर मुख पनि धोइदिनु भयो ।

भुइँमा कमिलाका ताँती हिँडिरहेका थिए । “निलभ, निष्ठा ! यता हेर त”, भन्दै बाबाले सिन्काको सहायताले एउटा कमिलालाई ताँतीबाट अलग गरिदिनु भयो । त्यो कमिलालाई भुइँमा लडाई पनि दिनु भयो । तर कमिला फेरि उठेर हिँड्न थाल्यो । उहाँले पटकपटक कमिलालाई लडाइदिनुभयो । तर कमिला फेरि पनि उठेर हिँडिरह्यो । यो देखेर निलभ र निष्ठा छक्क परे ।

बाबाले निलभको चिउँडोमा समाएर अनुहार हेर्दै भन्नुभयो, “हेर त निलभ ! यो त कमिला हो । यसले पटकपटक लड्दा पनि हिँड्ने प्रयास गरिरहेको छ । हामी त मानिस हौँ । हामीले त जीवनमा धेरै खेल खेल्नुपर्छ । खेलमा कहिले छिटो जीत पनि हुन सक्छ । कहिले जीतको नजिक पुगेर पनि जीत हुँदैन । नडराएर खेलिरहनुपर्छ । पछाडि परे पनि अगाडि बढ्ने प्रयास गरिरहनुपर्छ । लडेपछि पनि उठ्नु पर्छ । खेलमा कि जितिन्छ कि सिकिन्छ । पछाडि परेँ भनेर भाग्नु भनेको खेलमा हार मान्नु हो । त्यसैले कहिल्यै खेलदेखि भाग्न हुँदैन । बुझ्यौ त !”
“बुझ्यौँ बाबा ।”– निलभ र निष्ठा दुबैले सँगै भने ।
निलभले आफ्नो कान समाउदैँ भन्यो, “सरी दिदी ! अब फेरि खेल्ने ल ?”
दुवैजना खुसी भएर फेरि खेल्न थाले ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...