दुलुमणि देवी उपाध्याय

सुभाष सर भन्नेबित्तिकै छात्रछात्राहरू विरक्त हुन्छन् । विद्यालयको गणितजस्तो विषय हेलचेक्राइँ गरेर दिनदिनै आफ्नै व्यस्तता देखाउँदै हिँड्छन् । प्रधान शिक्षक पनि केही भन्नै नसक्ने । “सर आज पि. एम आउँछ म विद्यालयको बाउन्ड्रीवाल ग्रान्ड गराउँछु म जानुपऱ्यो” भन्यो, हिँ ।ड्यो यता प्रधान शिक्षक पनि लट्ठै पर्ने बाउन्ड्रीवाल सँगसँगै आफ्नो घरका लेट्रिन-बाथरुमको मरम्मत हुनैपऱ्यो, भनेर नै त होला नि । भोलि फेरि सि. एम., पर्सि फेरि एम. एल. ए. यसरी नै सधैँ उनको पढाउने समय हुँदैनथ्यो तर बर्सेनि गणितमा फेल भएका छात्रछात्राहरूको सङ्ख्या बढेको कसले देख्ने ? यता घरमा पनि ठिक्क पारेर छोरालाई विद्यालय छोडेर आफ्नो स्कुल जाने एक जना दायित्व बुझ्ने अभिभावक, पति अनि शिक्षाको राम्रो अभिनय गरेका छन् सुभाष सरले ।

यसरी नै दिन, महिना, वर्ष बित्तै गए । स्टाफहरूले पनि भन्दा-भन्दा हार मानेर भन्नै छोडे । अभिभावकहरूलाई पनि ठिक्क पार्न सिपालु थिए सुभाष सर । जब बाहिरी रुपियाँ खेलाउन थाले तब उनी कुलतमा लागे । बिस्तारै मदिराप्रति पनि आसक्त भएको श्रीमतीले थाहा पाउन थालिन् । सुभाष सरको यस्तो बेहोरा निकै माथि पुगिसकेको थियो । एक दिन त कता हो जुवाको अड्डामा प्रहरीले फेला पार्दा हातमा पिस्तोल देखाएर भागे भनेको पनि सुनियो । आआफैँ मत्त भएर हिँड्ने सुभाष सरले गाउँले सोजा मान्छेका छोराछोरीको भविष्य ध्वंस पारेको पाप लाग्छ कि लाग्दैन भनेर मान्छेहरू पनि कुराकानी गर्न थालिसकेका थिए तर विद्यालयका प्रधान शिक्षकको लोभ र सुभाष सरको व्यवहारले हजार छात्रछात्राहरूको भविष्य अन्धकार भइसकेको थियो । एक दिन छात्रछात्राहरूले हिम्मत गरेर विद्यालयका प्रधान शिक्षकलाई एउटा आवेदन पत्र पठाए तर केही लाभ भएन । छात्रछात्रा दिक्क भएर विद्यालयको चौरमा हडताल गरे । त्यो पनि काममा आएन । अब छात्रछात्राहरूको प्रसेसन स्लोगन गल्लीमा निस्क्यो । दैवसंयोग सुभाष सरको छोरो त्यही गल्लीबाट घर जाँदै रहेछ । कसैलाई सोधेर उसे थाहा पायो, कुनै सरकारी विद्यालयको शिक्षकको विरोधमा निस्केको समदल रहेछ ।

रातिको खाना खान सुभाष सर सपरिवार बसे । आमाले तीनै जनाको खाना अघिल्तिर राखिदिइन् । धेरै वर्षपछि यसरी उनीहरू एकै साथ खाना खान बसेका थिए । छात्रछात्राको दिउँसोको जुलुस देखेर आमा चाहिँ अलिक खिन्न थिइन् तापनि कसैलाई केही जान्न दिएकी थिइनन् । सुभाष सरले छोरालाई सोधे, “बाबु आदर्श आज तिम्रो रिजल्ट भयो रे कस्तो के गऱ्यौ तिमीले ?”

आदर्शले उत्साहका साथ भन्यो, “बाबा मैले गणितमा १००, विज्ञानमा १००, अङ्ग्रेजीमा ९५ अरू दुइटैमा मात्रै ९०, ९० भएछ” । “जान्नुहुन्छ बाबा हाम्रो विद्यालयको गणित शिक्षक धेरै राम्रो हुनुहुन्छ । भन्नुहुन्छ भविष्यमा विज्ञानको छात्र हुनु छ भने गणित र विज्ञान अब्बल हुनुपर्छ अरे तर आज मैले बाटामा कुनै एउटा सरकारी विद्यालयका गणित शिक्षकको विरोधमा छात्राहरूले आन्दोलन गरेको देखेँ, अचम्म छ हाम्रो समाजमा सरकारी शिक्षकको तलब यति धेरै छ र पनि पढाउन कन्जुस्याइँ अनि प्राइभेट स्कुलका टिचरको तलब यत्ति कम हुँदा पनि यति राम्रो पढाइ, होइन बाबा ?” सुभाष सर जुरुक्क उठेर भोलिदेखि विचार गर्नुपर्छ भन्दै सुत्ने कोठातिर लागे ।