आज मेरो कानमा कतैबाट माइकको स्वर गुन्जिरहेको छ । कतै कसैको बिहे रहेछ । तर म, अन्जान मान्छेलाई यो बिहेसित के लिनु न दिनु ? यो गाउँमा बसेको हप्ता पनि भएको छैन । धन्य हो कि मलाई अन्धो बाजेले बास बस्न दिनुभयो ।
“बाबु, जति दिन चाह्यो त्यति दिन बस्न सक्नुहुन्छ,” बाजेको यो कुराले मलाई यसरी प्रभावित पार्यो कि मानौँ म कुनै पराइको घरमा होइन आफ्नै घरमा बस्न आएको हुँ ।
सायद दस दिनभित्र मेरो कामकाज सकिनेछ र म राजधानी फर्किनेछु ।
“बाबु! लु यो कार्ड हेरिदिहाल्नुस् त,” बाजेले कार्ड हेर्न बोलाउनुहुन्छ । विवाहको निमन्त्रणा कार्ड रहेछ । घरको सदस्यमध्ये एक जनाको अनिवार्य उपस्थिति तोकिएको रहेछ ।
“बाबु मेरो घरमा अरू कोही छैनन्, मलाई बुढेसकालले पनि छोइसक्यो अनि अन्धोलाई यसमा शोभा पनि दिँदैन । अब उनको कार्डको मान्यता राख्न तपाईं नै गैदिनुस्,” बाजेको यो अनुरोधलाई म नकार्न सक्दिनँ । आफ्नै सहरिया सुट–बुट लगाएर विवाहतर्फ लम्कन्छु ।
“छोरी त यस्ती छे रे ,” आइमाईहरू एकअर्कामा कुरा काट्दै गरेको सुन्छु ।
“हो नि ! दाइजो पनि कम दिएको छ रे !”
“साँच्चिकै ! ससुरालमा दुर्दशा हुनेछ ।”
“बिचरी !”
तिनीहरूका कुराले मलाई आश्चर्यचकित बनाउँछ ।
‘कस्तो दुर्दशा ? बिचरी केको ? कसरी ? बिहे भइसकेपछि खुसीसँग एक नयाँ परिवार सृजना पो गर्छे !” मनमनै मेरो मनमा यस्ता भावना खेलिरहेका छन् । यसैबीच विवाहको रङ्गीन माहौलमा म सामेल हुन्छु । सबले मलाई एकोहोरो हेर्न थाल्छन् । आखिर यो जन्ती हो कि केटी तर्फको या अन्तै कतैको हो कि ? सब मेरा लागि अन्जान अथवा म सबैका लागि अन्जान…
भोजन सुरु हुँदा म असहज महसुस गर्छु । अलमलिन्छु । दोधारमा पर्छु । किनकि एकातर्फ केटीतर्फबाट भोजन भने अर्कोतर्फ जन्तीहरूका भोजन । मलाई थाहा छैन, म कुन तर्फबाट आएको हुँ । तसर्थ चुपचाप म शीर निहुराएर कुनामा बस्छु ।
“बाबु, खाना खाइयो ?” बेहुलीको बाबाले सोधेर जानुहुन्छ ।
केही क्षणपछि “बाबु, खानुभयो ? ” बेहुलाको बाबाले सोधेर जानुहुन्छ ।
हल्का मुस्कान ल्याउँदै “हजुर” भन्दै जान्छु म वहाँहरूलाई ।
विवाह सम्पन्न हुन्छ । बेहुलीलाई रुँदा–रुँदै बिदा गरिन्छ । सबका गहभरि आँसु देखेर म पनि नाटकीय भावुक हुँदै घर फर्कन्छु ।
“बाबु, विवाह कस्तो रह्यो ?” बाजे लठ्ठी छाम्दै मलाई सोध्नुहुन्छ ।
“विवाह… अँ विवाह एकदम राम्रो थियो बाजे । रमाइलो भयो,” यति भन्दै कोठाभित्र छिर्छु ।
दुई दिनपछि मेरो काम सकिन्छ । राजधानी फर्किने निधोमा झोलाभित्र कपडा, सरसामान राख्छु ।
बाजेलाई धन्यवाद दिन्छु । साथमा, केही रकमसमेत उहाँलाई दिन खोज्दा उहाँ अस्वीकार्दै भन्नुहुन्छ, “बाबु, अतिथि देवो भवः तिमीसँग पैसा लिनु हुन्न । तिमी हाम्रो भगमान हो । ल… राम्ररी जानू ।”
म हिँड्न थाल्छु । बाटोमा अचानक मेरा आँखाले मलाई परको भीडतर्फ तान्छन् । भीडबाट रोएको, चिच्याएको स्वर सुन्छु । भित्र छिर्नासाथ तर्सिन्छु । झस्याङ्ग हुन्छु । अस्ति बेहुलीको पोशाकमा सजिएर गएकी केटीलाई कात्रोमा पल्टिएको देख्छु । निधारको चोट हातको फोका र चिन्नै नसकिने आगोले डढेको अनुहार हेर्नासाथ झन् मेरो आङ सिरिङ्ग हुन्छ । अप्रत्याशित घटना ! मेरो लागि बिल्कुल अप्रत्यासित घटना । महिलाविरुद्ध आखिर किन ? भित्रभित्रै आक्रोशित हुन्छु । राजधानीमा पत्रिकामा पढेको समाचार सम्झिन थाल्छु ।
केहीबेरमा एक महिलाले भन्छिन्, “कठै! विचरीलाई दाइजोको निहुँमा मट्टीतेल खन्याएर आगो लगाइयो ।”
अनायास मलाई सम्झना आउँछ बिहेको दिनको कुरा, जुन दिन यस्तै एक महिलाले भनेकी थिइन्, “साँच्चिकै! ससुरालमा दुर्दशा हुनेछ ।”
तर दुर्दशाले मृत्युको शिकार हुन्छे भनेर सोचेकै थिइनँ । बिचरी! ‘यिनको आत्माले शान्ति पाओस्,’ खेद प्रकट गर्दै म आफ्नो गन्तव्यतर्फ लम्कन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।