१. काल विभाजनको लघुकथा – अंशबन्डा
पीपी कोइराला
रमेशले छोरालाई भन्छ –
“बाले ताजा दूध दिँदै भन्नुहुन्थ्यो, ‘लु यो पी छोरा ! निरोगी र बलियो भइन्छ ।’ अनि दूधको फिँज पुछिदिँदै भन्नुहुन्थ्यो, ‘अब पढ्न बस छोरा ।’
आमाले बाल्टीबाट कचौरामा रमरम तातो ताजा तेल निकालेर दिँदै भन्नुहुन्थ्यो, ‘यो पी छोरा । आँत बलियो हुन्छ ।’
समयको खेलासँगसँगै गाई, भैँसी र सबै खेत सकिए । आर्थिकरूपमा बाआमा निक्कै ओरालो लाग्नुभयो । आमाले हाटबजारमा चिया पसल गरेर परिवार पालिरहनुभएको थियो।
मलाई स्कुल छुट्टी हुनेबित्तिकै हटियामा बोलाउनुहुन्थ्यो, र पुग्नेबित्तिकै भन्नुहुन्थ्यो, ‘उः त्यहाँ मासुच्युरा भन्देको छु, खा ।आँत दह्रो हुन्छ ।’
तर जब मेरो हातमा दह्रो कमाइ हुन थाल्यो तब तिनै बाआमालाई बेवास्ता गर्दै गएँ । बाआमाको रासनपानी अर्कै भाइको जिम्मा लाउन तर्कहरू र कानुनहरू अघि सारेँ ।
बाका झुस्स परेका दाह्री खौरिन भ्याइनँ । बालाई एक पाउ दूध पनि खुवाइनँ । मैले एकै छाक पनि ‘आमा ! आज मासुभात खानु’ भनेर आफ्नो कमाइले खुसी मनले ख्वाइनँ । बाआमा भोकै सुतेको अवस्थालाई मैले टुलुटुलु मात्र हेरेँ । उठाएर ‘खाना खाएर सुत्नु’ भनिनँ ।
बाआमा बुढाबुढी भएर थलिएको अवस्थामा पनि मैले एकै दिन गोडा मिचिनँ, तेल लाइनँ, बिरामी कस्तो छ भनी हालचाल पनि सोधिनँ । औषधी खोजीमेली गरेर ल्याइनँ । बाआमालाई धेरै दिन बचाउनुपर्छ भनेर मैले कहिल्यै सोच्दै सोचिनँ । किनकि उहाँहरूलाई मैले मेरो परिवारभित्रको सदस्य भनेर गनेकै थिइनँ ।”
रमेशले छोरो आँखाबाट आँसु बगाउँदै सोध्यो, “डेडी ! तपाईँले हजुरबा हजुरआमालाई किन यतिसारो अन्याय गर्नुभयो ?”
रमेशले भावुक हुँदै भन्यो, “तेरी आमाको खबरदारीले ।”
छोरा रिसाउँदै सोध्यो, “ममीको कस्तो खबरदारीले, डेडी ?”
रमेश भन्यो, “उहाँहरूको सेखपछि उहाँहरूको नाममा रहेको सानो घडेरी तेरो कान्छो अङ्कलको नाममा जाने भनेर अंशबन्डामा लेखेको थियो, त्यसैले होला नि !”
छोरा भक्कानिँदै सोध्यो, “डेडी, आमाबाबुको पनि सम्पत्तिसँगै अंशबन्डा हुन्छ र ?”
###
(नेपाली लघुकथाको क्षेत्रमा चालीसको दशकलाई सामान्य मानिन्छ । विशेषत: यस दशकमा तीसको दशकको स्वर्णकाल नै हावी भएको देखिन्छ भने पचासको दशकको स्रष्टाहरू यस कालमा लेखनको कला सिक्दै थिए । यसै समयबाट लघुकथाको लेखन यात्रामा लागेका हुन् लघुकथाकार पीपी कोइराला ।
पीपी कोइराला मूलत: कथाकार हुन् । उनी हरेक विषयलाई कथामा उतार्न अग्रसर छन् । पछिल्लो समय उनी लघुकथासङ्ग्रह प्रकाशनको चरणमा पनि छ । उनीका लघुकथाहरूमा अधिकांश रूपमा सामाजिक यथार्थ प्रतिविम्ब हुन्छन् ।
प्रस्तुत लघुकथा “अंशबन्डा”मा सामाजिक तीतो यथार्थ कोरिएको छ । आफ्ना वृद्ध अभिभावकहरूलाई अंशकै आधारमा गरिने विभेद कथामा छताछुल्ल पोखिएको छ । कथामा शैली कमजोर भए पनि कथानक अत्यन्तै सबल छ ।)
२. सङ्ग्रहभित्रको लघुकथा – औँला
लक्ष्मण अर्याल
बिहे भएको धेरै वर्षसम्म उनले सन्तान सुख भेट्टाएनन् । सुख नभेटिनुका कारणहरू धेरै हुन सक्थ्यो, तर सबैको औँला एकैतिर तेर्सियो — प्रियम्वदा ।
प्रियम्वदा पनि दुःखी थी । बेलाबेलामा आफूतिर तेर्सिरहने औँला जायज हो या नाजायज खुट्याउन चाहान्थी । कतिपटक त उसले आफ्ना हजुरलाई बिन्ती बिसाई पनि, “ए हजुर, डाक्टर भेटौँ र सल्लाह लिऊँ । विज्ञानको सुविधा उपयोग गर्नुपर्छ ।”
उनी मानेनन् । कारण उनको भित्री मनको कुनाले पनि उसैतर्फ औँल्याइरहेको थियो ।
घर, परिवार र आफन्तहरूले कानेखुसी गरे, “अब वंश सञ्चालनका लागि सोच्नैपर्छ ।”
आफन्तहरूले सरिता, विपना, हरिप्रिया, पालकी, नम्रताका कुरा ल्याए । कुरा सुनेर प्रियम्वदाका शरीरमा भूकम्प आयो ।
प्रियम्वदाले सम्झी कलेज पढ्दाको साथी — मुनाललाई । मुनाल बाँसुरी हुन्थ्यो, ऊ धून बन्थी । मुनाल भँमरा बन्न खोज्थ्यो, ऊ फूल बन्न खोज्थी । क्या दिन थिए, रमाइलो उस्तै तर एउटा नभत्किएको सीमा थियो ।
कैयौँ वर्षपछि आज उसलाई मुनालको याद आयो । उसले आफैँतिर तेर्सिरहने औँलाहरू सम्झी । एक दिन जीवन—चौराहामा भेटियो मुनाल । मुनाल बाँसुरी बन्यो ऊ धून भई, मुनाल भँमरा भयो ऊ फूल बनी । सीमाहरू भत्किएर सकिए ।
आज प्रियम्वदा औधी खुसी छ । घर घरै रह्यो । सरिता, विपना, हरिप्रिया, पालकी, नम्रताका कुरा सेलाएर चिसा भए । छोराको अन्नप्राशनमा आएकाहरू बच्चाको नाक तानेर भन्दैछन्, “हेर हेर, काटीकुटी बाउकै नाक टाँसिएको !”
ऊ फरक फरक औँलाहरू सम्झिएर मुस्कुराई ।
###
(लघुकथाकार लक्ष्मण अर्याल लघुकथाकारको अलावा लघुकथाको क्षेत्रको समालोचक पनि हुन् । त्यसो त उनी साहित्यिक संगठनकर्ता र सम्पादक पनि हुन् ।
प्रस्तुत लघुकथा “औँला” लक्ष्मण अर्यालको लघुकथाकृति “औँला”को शीर्ष कथा हो । कथाले समाजमा भोगिने लैङ्गिक विभेदलाई कारूणीक रूपमा उजागर गरी कथाको मध्यभागमा कलात्मक रूपमा कथालाई मोडिएको छ । कथाको अन्त्यमा झड्काको सफल प्रयोग गरिएको छ ।
प्रस्तुत लघुकथा “औँला” लघुकथा कस्तो हुनु पर्छ ? भन्ने प्रश्नको सही उत्तर पनि हो । विषयको सिधा उठान, कथाको वक्र गति, कलात्मक प्रस्तुति, तीव्र वेग र बिजवाक्यको सटिक प्रयोग सुन्दर लघुकथाको चुरो हो । लघुकथा “औँला”मा मनग्य चुरो पाइन्छ ।)
३. फेसबुक समूहको लघुकथा – शरीरको घमण्ड
हेमराज अधिकारी
शरीरभरिका अङ्गप्रत्याङ्गले एक दिन साह्रै भनाभन गरे।
हात – म दस नङ्ग्री खियाएर सङ्घर्ष गर्ने तँ जाबो मुखचैँ खानै ताम्सिने ?
खुट्टा – ईस् भन्न् ! हामी अघि पछि गरेर मिलेर हिँडेर भान्सा कोठामै नगए तिमीहरुको हात र मुख जोडिनु पुग्थ्यो ?
आँखा – कुरा नगर् गाल पर्ला है ? मैले आँखा चिम्लिँदा तिमीहरू माटाको हाँढी जस्तो कुनामा लडिरहेको हुन्छौ । ठुलो फुटानी नदेखाउ ।
कान – मैले चैँ सुन्ने काम नगर्नु थियो भने तिमीहरूको उपाय थिएन, बढी कुरा नगर् ।
निधार-घाँटी – कुरा छोड्नु साथी हो ! तुरुरु… पसिना बगाउने म, खाने र मजा लिने तँहरू ?
जिब्रो – खबरदार ! मैले स्वाद नलिएको भए तिमीहरू कोरोना रोगीजस्तै स्वादहीन हुन्थ्यौ ।
दाँत – कुरा नगर् हो । मैले चबाउनु छोडेँ भने तिमीहरू घाँटीमै अड्केर मर्छौ ।
भुँडी – मैले आफ्नो थैलीमा राखेर पचाउने नगरे तिमीहरू घाँटी काटिएको लौकोजस्तै हुन्थेउ ।
मल-मुत्र द्वार – ओए, मैले मैलाकुचैला ग्यास नफ्याँक्नु हो भने के तिमीहरू नाक, कान, मुखबाट फ्याँक्थेउ ?
शरीरभरिका अङ्गको युद्ध हुनै लागेको थियो । मस्तिष्कले अघि सर्दै भन्यो – उप्रान्त अब हामी मिलेर बसौँ । हामी सबै मिलेर शरीरलाई मजबुत बनाएका छौँ ।हामी मिलेर स्वस्थ शरीर भएकाले मनुष्यले श्वासप्रश्वास फेर्दै जात-प्रजातको कुरा गर्छन् ।भेद-विभेदको मुद्दा उठाउँछन् । जिन्दगीभरि धन र सम्पत्तिको धाँक देखाउँछन् । अभिमान बढाउछन् । हामी शरीरका कुनै पनि अङ्ग घायल भए शरीरधारी मनुष्य पुर्लुक्कै हुन्छन् ।
शरीरभरिका अङ्ग शान्त भए । शरीर स्वस्थ भयो । श्वासप्रश्वासधारी मनुष्य बिस्तारै सबै भुल्दै आफ्नै बाटोमा कुद्नु थाल्यो ।कुदिरह्यो ।कुदिरह्यो ।
###
(पछिल्लो समय फेसबुक पेजबाट नेपाली लघुकथाको उन्ययनमा सक्रिय “सिक्किमेली लघुकथा समाज” राम्रो चर्चामा छ । यस पेजलाई एडमिन त्रिपुरा खरेलले साथीहरूको साथ र सहयोगमा सञ्चालन गरेका हुन् । पेजमा देश/ विदेशमा छरिएका नेपालीभाषी लघुकथाकारहरूले लघुकथा पोष्ट गरिरहेको देखिन्छ ।
प्रस्तुत लघुकथा “शरीरको घमण्ड” हेमराज अधिकारीले केही दिनअघि पेजमा पोष्ट गरेको लघुकथा हो । कथालाई पाठकहरूको राम्रो लाइक र उत्साह अनि प्रेरणादायी कमेन्टहरू प्राप्त भएको छ । कथामा स्वैरकल्पनाको मधूर प्रयोग गरिएको छ । तर कथामा बिजवाक्यको अभावले गर्दा लघुकथा उम्दा बहदाबहदै पनि यतैकतै रोकिएको छ ।
हेमराज अधिकारी सिक्किममा बस्ने नेपाली भाषाप्रेमी व्यक्तित्व हुन् । उनी पछिल्लोपटक सिक्किमेली लघुकथा समाजको एडमिन सदस्य बनी नेपाली लघुकथामा सक्रिय छन् ।)
४. समसामायिक लघुकथा – भाग्यकाे खेल
विनाेद नेपाल
बहुप्रतिक्षित निर्वाचन सम्पन्न भयाे र परिणाम आयाे ।
परिणाम सुनेर सबै आश्चर्यमा परे ।
‘यस्ताे परिणाम कसरी आयाे हँ ?’, अब याे नै फुर्सदिलाह?काे छलफलकाे विषय बन्याे ।
कसैले भने ‘षडयन्त्र ‘ ।
कसैले भने ‘तालमेल ‘।
कसैले भने ‘चलखेल ‘।
कसैले भने ‘धाेखा ‘।
कसैले के र कसैले के अनुमान गरे । तर कसैले पनि सही कारण एकिन गर्न सकेनन् ।
यत्तिकैमा विजय जुलुस निस्क्यो ।
एक चतुर पत्रकार भिडमा पस्याे र अबिर जात्रासहितकाे जुलुसकाे अग्रपङ्तिमा रहेका नेताजीलाई साेध्याे, ‘हजुरकाे कार्यशैलीप्रति व्यापक असन्तुष्टि थियाे तर पनि यहाँ नै विजयी हुनुभयाे । चमत्कारै भयाे नि हजुर, बधाई छ यहाँलाई । भन्दिनुस् न याे विजयकाे प्रमुख कारण के हाेला ? कसैकाे साथ, सहयाेग वा कसैकाे खास भूमिका छ ? कसैलाई सम्झन वा धन्यवाद दिन चाहनुहुन्छ कि ?’
नेताजीले भने, ‘देख्नुभएकै छ, jlराेधीकै घेरामा छु म सधैँ ।’
‘कसै न कसैकाे त सहयाेग हाेला नि ? समीकरण पनि बनाउनुभा’थ्याे क्यारे, हैन ? भन्दिनुस् न हजुर !’, पत्रकारले पछ्याउँदै भन्याे ।
‘तपाईँलाई थाहै छ नि’, नेताजीले भने , ‘नजिकका नै बढ्ता विराेधी छन् मेरा । यसैले कसैकाे सहयाेग हाेइन, याे विजय मेराे भाग्यकाे खेल हाे । बुझ्नुभाे ?’
###
(लघुकथाकार विनोद नेपाल बहुमुखी स्रष्टा हुन् । उनीको “गोदान” लघुकथाकृतिको अलावा नियात्रासङ्ग्रह प्रकाशित छ । उनी एक राष्ट्रिय दैनिक पत्रिकाको स्तम्भ लेखक पनि हुन् । विनोदको लघुकथा नेपालको पहिलो र एकमात्र लघुकथा पत्रिका “लघुकथा”मा २०४३ सालमा “बैगुनी”को नाम प्रकाशित भएको पाइन्छ । उनी समसामयिक विषयलाई कथानकमा ढालेर निरन्तर लघुकथा लेखिरहन सक्छन् ।
प्रस्तुत लघुकथा “भाग्यको खेल” नेपाली राजनितिक पार्टीहरूको पछिल्लो महाधिवेशनको विषयमा लेखिएको लघुकथा हो । समाचारको विषयलाई एउटा कुशल लघुकथाकारले कसरी लघुकथामा रुपान्तरण गर्नसक्छ भन्ने दह्रो प्रमाण विनोद नेपालको प्रस्तुत लघुकथा हो । भाग्यको खेलमा विनोदले आफ्नो लेखन शैलीलाई केही परिवर्तन गरेका छन् । कथानकलाई संवादले छोपेको छ । बिजवाक्य सशक्त छ । बिजवाक्यकै कारण कथाको पात्र “यो नेता हुन सक्छ” भनेर पछिल्लो नेपाली राजनीति बुझिरहेको पाठकहरूले सहज अनुमान लगाउन पनि सक्छन् ।)
५. मलाई मन परेको लघुकथा – गुप्त सन्देश
बाबुराम न्यौपाने “उत्स”
घाटमा केैयौँ लासहरु जलिरहेका थिए । ती लासहरूमध्ये दुईवटा लास विषेश सम्मानका साथ जलाइँदै थियो । एउटा राजाको र अर्को सहरको धनाड्य रइसको थियो।
ती विशेष भनिएका लासमा सुगन्धमय श्रीखण्ड र चन्दनका दाउरा प्रयोग गरिएको थियो । अन्य लासहरू सामान्य दाउराको आगोमा जलिरकेका थिए।
कुनै कात्रो महङ्गा थिए भने कुनै लासमा खाँडीको कात्रो ओडाइएको थियो । जल्ने र गाडीने लासहरूमा महिलाका लास पनि थिए ।
जमिनको अभावमा छेउमै मुस्लिम र क्रिस्चियनका लागि समेत चिहानका खाडलहरू खनिदै थियो । घाटमा लासहरू ल्याउने, जलाउने वा जमिनमा गाड्ने क्रम चलिरहेको थियो ।
घाटको एकछेउमा बसेर एक बृद्ध साधु यी कारुणीक दृश्यहरु नियालिरहेका थिए । उनले सटासट चिताको खरानी र चिहानको माटो सङ्कलन गरे । अनि मलामीहरुको नजिक आएर भन्न थाले ।
“यी खरानी र माटोका पोकाहरू फरक फरक चिता र चिहानबाट उठाएर ल्याएको हुँ । यी पोकाबाट जस्ले राजा, धनी, गरिब, धर्म, लिङ्ग र नश्ल विशेषको खरानी र माटोको रङ्ग छुट्याउन सक्छ ऊभन्दा महान् मान्छे यो धरतीमा अर्को फेला पर्ने छैन । तर झुट बोल्यो भने तत्काल शिर फुटेर उसको यहीँ मृत्युु हुनेछ ।”
सबैले पालैपालो माटो र खरानीको रङ्ग नियाले । मलामीको भीडमा कहलिएका नेता, धर्मगुरु, पादरी, वैज्ञानिकहरू पनि थिए । फरक छुट्याउन सकेनन् । सबै मलामीहरु मुखामुख गर्दै आफ्नो गन्तव्यतिर लागे।
आपसमा उनीहरू भन्दैथिए, “राजा होस् या रङ्क या फरक धर्म, लिङ्ग र नश्लका मानिस किन नहुन् ! चिताको खरानी र माटोको गुप्त सGदेश बुझ्न र रङ्ग छुट्याउन नसकिने भएपछि संसारमा घृणा, द्वेष, हिंसा र कोलाहलमय भेदभावको कुरूप प्रथा कस्ले चलायो ?”
###
(साहित्यपोस्टको साप्ताहिक लघुकथा प्रतियोगिताको एक विजय बाबुराम न्यौपाने “उत्स” अग्रज लघुकथाकार हुन् । सन्देशमूलक लघुकथाहरू लेख्न रुचि राख्ने बाबुराम कथामा यथार्थतालाई सहज प्रस्तुत गर्छन् ।
प्रस्तुत लघुकथा “गुप्त सन्देश”ले खुलेयाम सन्देश दिएको छ । कथामा घाटको विषय उठाएर धर्म, जाति, लिङ्ग, नश्ल हुँदै राजादेखि रङ्कसम्ममा देखिएको विभेदको कुरूप प्रथालाई बिजवाक्यको प्रयोगबाट सही सन्देश दिएका छन् । खुल्ला बिजवाक्यको प्रयोगले कथामा पाठकलाई पनि आफ्नो विचार व्यक्त गर्न अग्रसर गरिएको छ । साँचोमा लघुकथा सफल छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।