“बाबु ! यति कलिलै उमेरमा तिमीले यो के गरेको ? पढ्न मन लाग्दैन ?” रिक्सामा बस्नेबित्तिकै मैले सोधेँ ।

धम्बोजी पुग्नुपर्ने भएकाले म उसको रिक्सामा बसेको थिएँ । रिक्सा चलाउने १३/१४ वर्षको ठिटो थियो ।

“लाग्छ नि हजुर ! पढिरहेकै थिए पनि । तर ।” भन्दाभन्दै ऊ रोकियो ।

“तर के बाबु ?” मलाई जान्ने कौतुहलता जाग्यो।

वसन्त अनुभव

“तर अहिले बाबा बिरामी भएर । यो उहाँकै रिक्सा हो नि ?” उसको मलिन स्वरमा थोरै खुसी झल्क्यो ।

“तिम्रो परिवारमा अरू को-को हुनुहुन्छ?” थप जिज्ञासा राखेँ ।

“बाबा, आमा, भाइ र बहिनी ।” तुरुन्तै जवाफ दियो ।

“आमाले काम गर्नु हुन्न र ? यो त तिम्रो पढ्ने उमेर हो त, पढ्नुपर्छ।” मैले दर्शन छाटेँ ।

“अरूको घरमा भाँडा माझेर थोरै कमाउनुहुन्छ तर बाबाको औषधिमै सकिन्छ । पढ्ने इच्छा मात्र भएर के गर्नु पैसा छैन ” उसको स्वर पुन: मलिन भएर आयो ।

“म तिमीलाई राम्रो विद्यालयमा पढाउँछु, लेखाउँछु । मसँग जान्छौ त ?” मैले सहानुभूति प्रकट गर्दै भने ँ।

“अहँ जादिनँ ।” मेरो प्रस्तावलाई दरपिठ नै नगरी उसले ठाडै अस्वीकार गरिदियो ।

“किन बाबु ? म तिमीलाई होस्टेलमा राखेर पढाउँछु नि । किन इन्कार गरेको ?” अचम्म मान्दै सोधेँ ।

“पढ्ने त मेरो ठुलो इच्छा हो, हजुर । तर यति बेला पढाइ मेरो प्राथमिकता हुन सक्दैन । मैले नकमाए साँझबिहान के खाने ? भाइ र बहिनीलाई कसरी पढाउने ? तपाईँ नै भन्नोस् कठिन परिस्थितिमा घरको जिम्मेवारी बोक्नु मेरो कर्तव्य होइन ? आफ्नो कर्तव्य बिर्सी स्वार्थी बनेर कसरी जाऊँ ? बरु नपढेरै बस्छु ।” उसका महान् विचारले म नतमस्तक भएँ ।