भेट्न आएका गंगारामसँग मन्त्री,
“समस्या के छ गाउँमा ?”
“बाटो | समस्या बाटोको छ हजुर !”
तपाईं धेरैपटक आइसक्नुभयो | म अर्को महिना आउँछु | पात्ले स्कूलमा २/४ सय मान्छे भेला पार्नू |
“हवस्, म लागौं त हजुर !”
“हुन्छ | सुन्नूस् त ! गुरुआमा त्यतै कि ?
“बिदामा हुनुहुन्छ |”
“ए, ल जानूस् | तर मान्छेलाई खबर कुनै पनि हालतमा गर्नूस् नि !”
“ढुक्क हुनूस् हजुर ! मान्छे ओइरिन्छन् |”
पचास दिन पछि,
स्कुलको चौरमा हेलिकप्टर बस्यो , मन्त्री निस्किए-
“मान्छे त भने जति देखिदैनन् त ! खबर राम्रो भएन कि के हो ?”
“गरेको हजुर ! तर समस्या !”
“के समस्या ?”
“बाटो हजुर ! झ्याम्टार,फतुवा, केरौटे, लसुनेतिरबाट आउने सकेनन् बाटो राम्रो नभएर | अब हेर्नूस्, अर्को भेलामा हजार नाघ्छन, हजार…. |”
“हो त्यो त !”
मन्त्री सुरु हुन्छन्-
आदरणीय बुवा, आमा, काका, ठूल्दाइ, जेठा …………… नमस्कार !!
मैले सुनें यहाँ बाटोको ठूलो समस्या रहेछ | अब यी पाँच गाउँमा दुई-दुईवटाको दरले दश बाटाहरू बन्ने छन् ! तपाईंहरू सबैको आँगन-आँगनमा गाडी आउने छन् | त्यसको लागि मैले पुरै तयारी गरिसकेको छु | मेरा दुई, वडा अध्यक्षज्यूको एउटा र ज्यामिरे मीतज्यूको एउटा गरेर पाँचवटा डोजर भटाभट चल्ने छन् | अब यहाँ विकासको बाढी नै आउछ | ड्राइभरलाई यसो तागतिलो खाना खुवाउने जिम्मा यहाँहरूको | म आज जस्तो माथिबाट होइन, त्यही बाटोबाटै आउने छु उद्घाटन गर्न | आजै मैले अर्को उद्घाटन गर्नु, छ म लागेँ | नमस्कार |”
एक वर्ष पछि
आठ दश जना मानिसहरू मन्त्री क्वाटरबाहिर भेला भएका छन्-
“ल भन्नूस, कहिले उद्घाटन ?”
“समस्या पर्यो हजुर |”
“के समस्या ?”
“बाटो !”
“इन्जेनरबिनाको बाटो”- अर्कोले भन्यो |
“खेत रोपाईं पनि भएन | पानीको मूल सबै सुक्यो |”- अर्को |
“केटाकेटीहरू स्कुल जान पाएनन् पहिरोले गर्दा |”- अर्को |
“फतुवा, केरौटेका सबै मान्छेहरू सलुने र झ्याम्टारतिर लागे |”- पहिलो |
“जमिन भासिन थाले, वनजंगल मासीए”- दोस्रो |
“बाटो यता चाहिन्छ र उता चाहिन्छ भनेर बेनी सर र मुरलीधरका मान्छेले चार महिनादेखि अवरोध नै गरेका छन् | यो बाटो नै समस्या भयो हजुर |”- भीडको सबैभन्दा भलाद्मी व्यक्ति बोल्यो |
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला