

इन्दिरा गौतम (असम)
आधुनिक ठुलो सहरमा नोकरी खोज्दै आएको गाउँले केटा रामेले आफूले सुनेभन्दा पनि धेरै राम्रो घर भेट्यो । सहरप्रतिको नकारात्मक सोच झुटो भयो । मेम साहेबले रामेलाई रामु भनेर बोलाउँदा आफूलाई भाग्यमानी ठान्ने गऱ्यो । आफ्नै घरको आमाको मायाँ पाएजस्तो लाग्यो । गाउँघरमा रामे, हरे, शङ्करे, लिले भनेर नामको पछि एकार लगाएको उसलाई अघिपछि पनि पटक्कै मन पर्दैनथ्यो ।
मेम साहब र मालिक डिउटीमा गएपछि छिटोभन्दा छिटो काम सकेर एकछिन सोफामा दुवै खुट्टा चढाएर बस्छ । टिभी खोल्छ । उनीहरूको ओछ्यानमा एक छिन पल्टिन्छ । मालिकका कोट लगाउँदै ऐनामा हेरेर मुसुक्क मस्किन्छ । यसरी नै ऊ दिनदिनै पुरानो हुँदै गयो । विश्वासमा घर छोराछोरी उसैको भरमा छोड्न थाले । मालिकको सेवामा बफादार बन्यो ।
दिनभरि त्यो घरको मालिक उही हुन्थ्यो । मालिकलाई ऊप्रति मनमा रत्तिभर पनि शङ्का थिएन तर पनि भित्री नजर राख्ने गर्थे । रामु साथीलाई सधैँ भिडियो फोन गर्दै घरको चारैकुना देखाउँथ्यो । उनीहरू पनि निकै खुसी हुन्थे । बस्दा रामु, उठ्दा रामु, बजार गर रामु, छोराछोरीको स्कुलको गृहकार्य पनि रामुले गर्नुपर्ने हुन थाल्यो ।
एक दिन मालिक अलिक छिट्टै घरमा आए । घरै उचाल्ने गरी गीत घन्केको थियो । छोराछोरी किताबसँग खेलिरहेका थिए । रामुको चर्तिकला देखेर मालिक तीन भाउन्न भयो । त्यो दिन उसको सबैभन्दा मन पर्ने सर्ट लगाएर सोफामा बसेर बच्चाको कम्प्युटरमा केही गरिरहेको थियो ।
‘तैँले यो के गरेको हँ ? औँलो पाउँदा डुँडुलो निल्ने, तिमीहरूको यही बानीले म दिक्क भएको छु । तैँले धेरै नाटक देखाइस् । अब तँलाई यो घरको भातको मानो सकियो, बुझिस्’ ।
‘मालिक मैले यो नानीहरूलाई कसरी अलमल्याउने त ? दिनभरि यो चाहियो, त्यो चाहियो भनेर झ्याउ गर्छन् । म पनि कहिले बाबा भएर पढाउने गर्छु र आमा भएर खाना खुवाएर सुताउँछु । अभिनय त हजुरको आमासँग पनि छोरो भएर गर्नुपर्छ नि ? नभए औषधि खानु हुन्न । अहिले त छोराको स्कुलको पेरेन्ट्स मिटिङमा सामेल भएको ।
अफिसको बोस भएर पो के गर्नु आज आफैँलाई रामुको चैँ नोकरजस्तै लाग्यो । एउटा नोकरले मालिकलाई आफ्नो अधिकार र कर्तव्यका कुरा सुनाइरहेको थियो उसको विभिन्न अभिनयबाट ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

