गाउँको एक घरमा साँझ पर्दा नपर्दै चोर पस्यो । भयरहित रूपमा निर्धक्क भएर पसेको थियो चोर । आज पनि गाउँले अचम्म परिरहेछन्, चोरमा साहस कहाँबाट आयो । चोर पसेको पनि केही गाउँलेले देखे । चोर निस्केको पनि अर्काथरिले देखे ।

ढाकामोहन बराल

गाउँभरि हल्लाखल्ला भयो, र चोर पनि आफ्नो सुरक्षाको निम्ति भागेर कतै गयो । केही समय बेपत्ता भयो । घरको साहुलाई खोइ किन हो थाहा भएन, आफैँले नभई आफ्नो घरमा बस्ने डेरावालालाई गाउँको मुखियाको घरमा उजुरी गर्न लगाए । भाग्दै हिँडेको चोर पनि मुखियाको आगनमा आइपुग्यो ।

देखी जान्ने र सुनी जान्ने सबैका कुरा सुनियो । तर्क वितर्क धेरै चले । मुखियाको फैसला आयो, “चोरेले सामान बिगार्न नपाएको र बिगारेको सामान नचोरेको हुनाले चोर भन्न मिलेन । साथै चोरी गर्दा चोर्ने विधि पूरा नगरेको देखिएकोले चोरेको ठहरिन सकेन ।”

बिगारिएका सामान र चोरिएका सम्पत्तिको क्षतिपूर्ति बारे फैसालामा केही पनि उल्लेख भएको नदेखे पनि उक्त घरमा बस्ने डेरावाल र नजिकैका छिमेकीहरू एकअर्काको मुख हेरेर मात्र बसे, तर बोल्न केही पनि सकेनन् । हिजोआज मुखियाको फैसालाले उन्मुक्ति पाएको चोर गाउँमा शिर ठाडो पारेर हिँड्न् थालिसकेको छ ।

तर गाउँलेहरू भने उक्त घरतर्फ औँला उठाउँदै “चोर पसेको घर” भन्न थालेका छन् ।