– हेलो !

– हेलो !

– हेलो, सीता सन्चै छौ ?

– अँ, सन्चै ।

– बाबु सन्चै छ ? बाबाको याद गर्छ ?

– अँ सन्चै छ ।

– बाबा बाबा भन्छ ? अनि आँगनको नास्पाती फुलेको छ ?

– हो, पोहोर तिमी जाँदाको सालभन्दा त ढकमक्कै छ ।

– मैले साडी पठाको थिएँ नि कस्तो लाग्यो ?

– म यहाँ बाबुलाई दूध तताउँदै छु |

सीताले प्रसङ्ग बदली ।

– ए……

– दूध राम्रो ल्याइदिन्छन् त ।

अँ राम्रो । अगेनोमा दूध तात्दै थियो ।

– अनि मेरा त यहाँ पोखरा, चितवन, बागलुङ, भक्तपुर, कर्णाली सबैतिरका साथी छन् । तिम्रो मात्र कमी छ । तिमी पनि एक्लै हुन्छ्यौ होला हैन?

– होइन, मेरा पनि साथी छन् नि । अनि पैसा किन कम पठाको यसपालि ?

– साहूले कामबाट निकालिदियो त्यही भएर अर्काे काम खोज्दाखोज्दै दुईतीन महिना यसै गयो । अब पठाउँला नि है ? बाबुलाई दूध खुवायौ ?

उत्तर नदिई फोन टेबलमा राखिदिई सीताले । उता अगेनामा दूध उम्लिरहेको थियो ।  सानो दुई वर्षको छोरा उठेको थिएन ।

फोन हेलो हेलो गर्दागर्दै काटियो । फेरि आएको कल मिस भयो । उता पर्खिरहेको बिरालोलाई खुवाउन भरी गिलाँस लिएर ऊ कोठाभित्र पसी ।

अँध्यारो कोठाले बिरालो र मान्छे चिनेन ।

– जगन्नाथ पौडेल, हाल अमेरिका