साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

‘तीन लघुकथा’का तीन कुरा

मैले तीसको दशकलाई नेपाली लघुकथाको स्वर्णकालको नाम दिई त्यसको सटिक टिप्पणी पनि उठाएँ । सुरूका केही हप्ता लघुकथाको क्षेत्रमा खैलाबैला नै मच्चियो । केही लघुकथाकारहरूले ३० को दशकलाई स्वर्णकाल भन्न पाइने छैन र यो स्तम्भ बन्द गरिहाल्नु पर्ने धम्कीपूर्ण आदेशहरू पनि दिए ।

विषय उठान :

साहित्यपोस्ट अनलाइन भर्खरै जन्मिएको थियो । धेरैले साहित्यमा अनलाइन पत्रिका खासै चल्दैन भन्ने सोचिरहेका थिए । मैले त्यही समय यसका योजनाकार, प्रधानसम्पादक अश्विनी कोइरालाई गौण गरेर हेरेँ । उनी बीस वर्षदेखि कान्तिपुर मिडियामा रही आजको “साप्ताहिक”लाई उचाई दिने एक सृजनशील संयोजक थिए । मैले अझै उनीलाई दिमागले सर्च गरेँ । केही महिना पहिले हामी एक साहित्यिक समूह बनेर लब्सेफेदीको उचाईमा सँगै रात बिताएका थियौँ । त्यही नै कोइरालाजीले साहित्यपोस्टको आफ्नो गुरुयोजना सबैलाई सुनाउनुभएको थियो । काम फलामको चिउरा चपाएझैँ भए पनि उनीभित्र अचम्मको हिम्मत र साहस थियो । म कुनामा बस्दै अश्विनीजीको गुरूयोजना सुनेर उनको हिम्मत नियालिरहेको थिएँ ।

साहित्यपोस्ट अनलाइन छुट्टै रङ र स्वादमा नियमित आउन थाल्यो । साहित्यिक बजारमा मात्रै हैन पत्रकारिताको बजारमा पनि थुप्रै चर्चा र बहस हुन थाले । मैले तत्कालै निर्णय गरेँ – साहित्यपोस्टसँग जोडिएर अश्विनी कोइरालाको हिम्मतमा केही साथ दिनुपर्छ ।

दीपक लोहनी

मैले कल गरेँ । हाम्रो वार्ता भयो । अश्विनीजीले मलाई लघुकथाको सम्पादकको जिम्मेवारी दिँदै “तीन लघुकथा” स्तम्भको लक्ष्य र उद्देश्य बताएर स्तम्भकार बन्न आग्रह गर्नुभयो । तीन लघुकथाको तीन स्वाद छन् । दोस्रो र तेस्रो स्वादको खोजी गर्न त म सक्थेँ । तर पहिलो स्वाद पहिल्याउन मलाई हम्मे हम्मे होला भन्ने डर लाग्यो । तीन लघुकथाको पहिलो स्वाद नेपाली लघुकथाको प्रथम लघुकथाहरूको खोजी र अनुसन्धान गर्नु थियो । यो काम मलाई जटिल लाग्नेवाला थियो । स्तम्भबाट भाग्ने सुरमा “म सक्दिनँ” भन्दै थिएँ । अश्विनीजीले मलाई हौसाए । उनीको हौसाहटमा म हौसिएँ र स्तम्भ चलाउन थालेँ । साँच्चै पहिलो लघुकथा खोज्न महाभारत रहेछ । तर मैले चुनौतिलाई नै काम  सोचेँ र अगाडि बढेँ ।

तीन लघुकथाको तीन कुरा

१. पहिलो लघुकथाको खोजी :

साँच्चै पहिलो लघुकथाकार र लघुकथाहरू खोज्नु सजिलो काम थिएन । मैले “तीन लघुकथा” स्तम्भ सुरु गर्नुताका नेपाली भाषाको पहिलो लघुकथासङ्ग्रह प्रकाश गर्ने लघुकथाकार पूर्णप्रसाद ब्राह्मणलाई सबै लघुकथाकारहरूले  चिनिसकेका थिएनन् । लघुकथा समाजबाट श्रीओम श्रेष्ठ “रोदन”ले उहाँको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याउने तयारी गर्दै हुनुहुन्थ्यो । पहिलो लघुकथाकारको नै परिचय लघुकथाको साँघुरो परिवेशमा राम्रोसँग नभइरहेको बेलामा पहिलो लघुकथाकारहरूको खोजी गर्नु सजिलो काम थिएन ।

अश्वीनिजीले मलाई हौसला र हिम्मत थप्न हप्तामा दुईचोटि कल गर्नुहुन्थ्यो । मैले हप्ताभरि पहिलो लघुकथाकारहरू खोज्न समय खर्च गर्न थालेँ । पहिलो महिला लघुकथाकार, पहिलो पुरस्कृत लघुकथाकार, विदेशीभूमीबाट लघुकथा लेख्ने पहिलो लघुकथाकार, लघुकथाको पहिलो पत्रिका, विभिन्न भाषाको पहिलो लघुकथाकारहरू, पहिलो आञ्चलिक लघुकथाकारहरू आदि । खोज्न थालेपछि धेरै पहिलो लघुकथाकारहरू भेटिँदारहेछन् । कतिपय लघुकथाकारहरूलाई त म नै पहिलो लघुकथाकार हूँ भन्नेसम्म पनि ज्ञान नहुँदोरहेछ । यस स्तम्भले नै उहाँहरूलाई पहिलो लघुकथाकार भनेर स्थापित गरायो । कतै केही विरोध भएन । यसरी हामीले ५१ औँ भागसम्म फरक फरक पहिलो लघुकथाकारहरूको खोजी र स्थापित गरायौँ ।

२. लघुकथामा रौनक :

नेपाली लघुकथालाई व्यापक बनाउने काम लघुकथा समाज र “लघुकथा कुनो” फेसबुक पेजले गरेको कुरा कतै लुक्दैन र छिप्दैन । तर साहित्यपोस्टको “तीन लघुकथा” साप्ताहिक स्तम्भको सुरुवात भएपछि लघुकथाकारहरूबीच अचम्मको रौनक थपियो । यो स्तम्भमा मैले कुनै पनि लघुकथाकारहरूको अनुमति वा जानकारी बेगर लघुकथा छनोट अनि त्यस लघुकथा र लघुकथाकारको छोटो टिप्पणी राख्ने गर्थे । कोहीसँग पनि बायस नभई लघुकथाकारहरूको प्रशंसा गर्ने यो स्तम्भ नेपाली लघुकथाको क्षेत्रमा पहिलो र रोचक बन्यो । प्रत्येक मङ्गलबार लघुकथाकारहरू र लघुकथाप्रेमीहरू “तीन लघुकथा” स्तम्भ कुरेर बसेका हुन्थे ।

लघुकथामा रौनक थप्न लघुकथाको काल विभाजन गरिने काम मैले “तीन लघुकथा”बाट गरेँ । यसअघि ३० को दशकलाई लघुकथामा स्वर्णकाल भनिदैन थियो । मैले तीसको दशकलाई नेपाली लघुकथाको स्वर्णकालको नाम दिई त्यसको सटिक टिप्पणी पनि उठाएँ । सुरूका केही हप्ता लघुकथाको क्षेत्रमा खैलाबैला नै मच्चियो । केही लघुकथाकारहरूले ३० को दशकलाई स्वर्णकाल भन्न पाइने छैन र यो स्तम्भ बन्द गरिहाल्नु पर्ने धम्कीपूर्ण आदेशहरू पनि दिए । तर स्तम्भ र स्तम्भकारले कारण र प्रमाणसहित काल विभाजन गर्ने काम थालेकोले यस्ता धम्कीहरू परालको आगोझैँ  एक्कासी दन्केर सामसुम भए । पछिल्लो समय यही स्तम्भको कारण ३० को दशकलाई लघुकथाको स्वर्णकाल भनिन थालिएको छ । त्यसो त “तीन लघुकथा”को स्तम्भले उठाएको लघुकथाको १०/१० वर्षको फरक काललाई सबैले स्वागत गरिएको पाइयो । यस स्तम्भले सबै नयाँ र पुराना लघुकथाकारहरूलाई  उनीहरूको कर्मको आधारमा उचित स्थान मनग्य दियो ।

३. लघुकथामा नाम/काम:

मलाई आख्यान खुबै मन पर्छ । बेला बेला आख्यान लेख्ने र मन परेको आख्यानको पाठकीय टिप्पणी लेख्ने बानी छ । सधैँ लो प्रोफाइलमा बसेर स्रष्टाहरूको गुनगान गर्न रुचाउँछु । खासै म नाम चिनिने व्यक्ति पटक्कै हैन । तर साहित्यपोस्टमा “तीन लघुकथा” स्तम्भ चलाएपछि मेरो नाम रातारात चर्चामा आयो । धेरै अपरिचित मित्र र सत्रुहरू बने । फेसबुकमा थुप्रै फ्रेण्डरिक्वस्टहरू आए । लघुकथाको कृतिहरू मलाई खोज्दै आउन थाले । “तीन लघुकथा” स्तम्भमा लघुकथाकार र लघुकथाको सटिक टिप्पणी गरेकै कारण लघुकथाका थुप्रै पाण्डुलिपिहरू मलाई भूमिका लेखाइमाग्न आए । खासमा म भूमिका लेख्न लायकको व्यक्ति थिइनँ । तर मलाई दिइएको सम्मानलाई मैले लघुकथाको प्रत्येक पाण्डुलिपिहरू पढी लघुकथाको लघुसमीक्षा गर्न थालेँ । समीक्षामा म लघुकथाकारको लुकेको क्षमता र कमजोरीहरू खोजेर प्रष्ट लेखिदिन्छु । मेरो यस स्वभावले लघुकथाकार र पाठकलाई फाइदा पुग्दोरहेछ । उनीहरूले मेरो यस कामलाई धन्यवाद दिँदा म पुलकित भएको छु ।

“तीन लघुकथा” स्तम्भकै कारण मैले घोष्ट राइटिङ्गको प्रायोजनमा साहित्यपोस्टले प्रत्येक हप्ता सञ्चालन गरेको लघुकथा प्रतियोगिताको स्थायी निर्णायक पनि बन्ने मौका पाएँ । यो प्रतियोगीताले मेरो नाम र कामलाई उजिल्याउन मद्दत त गर्यो नै यस्ता कर्मले मलाई नयाँ नयाँ लघुकथाकारहरू चिन्ने र उनीहरूको लघुकथाको प्रवृत्ति अध्ययन गर्ने मौका दियो ।

साहित्यपोस्टबाट लघुकथाको अध्ययन, अनुसन्धान, खोज र लेखन गरेकै कारण हुनुपर्छ लघुकथाकारकै नाममा स्थापित “हेमलता लघुकथा सम्मान २०७८” बाट सम्मानित हुने अवसर पाएँ । यो प्राप्त हुनुमा “तीन लघुकथा” स्तम्भको ठूलो हात रहेको कुरो म स्वीकार्छु, र अश्विनी कोइरालालाई धन्यवाद भन्छु ।

समापन :

साहित्यपोस्ट “तीन लघुकथा”को शुभारम्भमा हामीले यस स्तम्भलाई ५१ हप्ता सञ्चालन गर्ने योजन बनाएका थियौँ । यो स्तम्भमा समावेश हुने सम्पूर्ण लघुकथाकारहरू (१५३ जना) लाई धन्यवाद भन्न चाहन्छु । सम्पूर्ण पाठक र प्रतिक्रियालाई पनि साधुवाद छ । केही स्रष्टा साथीहरू यस स्तम्भको खाँटी विरोधी पनि थिए । उनीहरूको विरोधले पनि मलाई प्राङ्गारिक मलको काम गरेको छ । उनीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु ।

आजदेखि यस स्तम्भको समापनको घोषण गरिएको छ । तर लघुकथा पढ्ने, लघुकथाकारहरूलाई उचित शब्द सम्मान गर्ने र लघुकथाको टीकाटिप्पणी गर्ने मेरो कामको भने यो अन्त्य होइन । साहित्यपोस्टकै मझेरीमा “साताको सात लघुकथा” लिएर छिट्टै  झुल्किने छु । स्रष्टा र पाठकहरूको ताली र गाली मेरो लागि सधैँ स्वागतयोग्य छन् ।

प्रतिक्रिया
Loading...