उनीहरूसँगै पढेका साथीहरू हुन् । दसैँमा गाउँ आएको बेला धेरै वर्षपछि उनीहरूको भेटघाट जुरेको हो । भेटघाटको भलाकुसारीमा अमृतले साथीहरूको पेसा र व्यवसायबारे जिज्ञासा राख्यो ।

मित्र ‘उराठी’ गौतम

सबैले आ-आफ्ना पेसा र व्यवसाय उल्लेख गरे । तर कसैले पनि आफ्नो आम्दानी पर्याप्त भएको र आफ्नो पेसा-व्यवसायमा सन्तुष्ट भएको भाव व्यक्त गरेनन् ।

यसै सन्दर्भमा सौरभले भन्यो, “आफ्नो त हैरान छ यार । परिवारसँगै बस्नु पनि दुर्लभ छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिर । कहीलेकाहीँ त ब्रेकफास्ट पेरिस त डिनर लण्डनमा हुन्छ । कहीले ब्रेकफास्ट सिङ्गापुर त लन्च थाइल्याण्डमा हुन्छ । एकैछिन फुर्सद हुँदैन । पैसा मात्र भएर के गर्नु ? मेसिनजस्तो भा’छ जिन्दगी ।”

अलि परैबाट ठिटाहरूको भलाकुसारी सुनिरहेका भुवनहरि बाजेले भने, “यस्तै हो बाबुहरू ! यो संसारमा कोही सन्तुष्ट छैन । कसैलाई पैसा अभाव छ त कसैलाई पैसाको ढङ्ग लगाउन नसकेर तनाव छ । कसैलाई परिवारको अभाव छ त कसैलाई परिवारै तनाव छ । कसैलाई समयकै अभाव छ त कसैलाई समय बिताउनै मुस्किल छ । सबैमा अरूभन्दा आफू कसरी अगाडी जाने ? अरूभन्दा कसरी आफू श्रेष्ठ ठहरिने ? भन्ने होड छ । यही दौडादौडमा गन्तव्य नभेट्दै कतिखेर मान्छेको इहलीला समाप्त हुन्छ, कुनै निश्चित छैन । त्यसैले जो जे पेसामा छौ, त्यसैमा सन्तोष हुन सिक । आफ्नो कर्म नछोड, अरूको कुभलो कहिले नगर । सधैँ अरूको भलो चिताऊ । हाँसीखुसी जिन्दगी बिताऊ ।”

आफ्नै गफमा मस्त दौँतरीहरू अनपेक्षित रूपमा बाजेको कुरा सुनेर नतमस्तक बने । ठिटाहरूको गफमा आफ्नो कारणले विराम लागेको ठानी बाजे पनि लुरुक्क बाटो लागे ।