‘संविधान बने के हुन्छ बाबा ?’ छोरोको प्रश्नले उत्तर ताक्यो ।

सँगै बसेकी छोरीले समाधान भेट्टाई, ‘नेपाल विदेशजस्तै हुन्छ ।’

लक्ष्मण अर्याल

बिजुली बत्ती नबलेर पढ्न नपाएको छोराले मनमा आशा उमार्दै भन्यो, ‘संविधान बने लाइन पनि आउँछ हो ?’

‘लाटा ! लाइनका लागि त बिजुली उत्पादन हुनुपर्छ,’ छोरीले उसको आशामाथि एकमुठी तुसारो फ्वास्स छरी ।

बालहृदयले अर्को प्रश्न सुझायो, ‘हाम्रो घरअगाडिका खाल्डाखुल्डी बाटाहरूमा पनि कालो पीच बन्छ त ?’

छोरीले यसपालि यसको निकास देखिन र अज्ञानताको ओठ लेप्य्राई ।

मरूभूमि बनेको मन लिएर छोराले पुनः प्रश्न गर्यो, ‘अनि किन संविधान आए नेपाल विदेशजस्तै हुन्छ भनेको त ?’

उत्तरहरू अटेसमटेस भएर बाहिरिन खोज्यो तर पनि गहिरा कुरा नबुझ्ने छोराछोरीसामु बाबुले मुख खोल्ने निरर्थक प्रयास गरेनन् । बाबु मनैमन बोले, ‘त्यो आफैँ विकास होइन । विकास त जाग्रत तिमी र तिम्रा कर्मशील बलिष्ठ बाहु हुन् ।’
२०७२ असोज २