जीवन जीवन बीमाका सफल अभिकर्ता थिए । उनी धेरै पटक “हिरो अफ द मन्थ” घोषित भइसकेका थिए । सफलताको उमङ्ग जीवनमा छाइरहेको थियो । एक दिन अलिक फरक किसिमको फोन कलले उनलाई “होटल हनी बी” सम्म पुर्यायो ।
“नमस्ते । तपाईं जीवन सर हो ? तपाईंलाई भेटेर जीवन बीमाका बारेमा बुझ्नुछ । अलिक ठूलै बीमा गराउनु छ । भोलि तीन बजे “होटल हनी बी”मा आउन सक्नुहुन्छ ?”
नसक्ने कुरै थिएन, उनी गए ।
एक सुन्दर महिला प्रतीक्षारत थिइन् ।
“श्रीमान् विदेशमा हुनुहुन्छ । राम्रो अभिकर्ता खोजेर जीवन बीमा गराउनू भन्नुभएको छ । तपाईंसँग के कस्ता पोलिसीहरू छन् ?” ती महिलाले सोधिन् ।
जीवनले आफ्नो कम्पनीका पोलिसीहरूबारे बताए ।
“तपाईं भोलि हाम्रो कम्पनीमा आउनुस् बाँकी कुरा त्यहीँ गरौँला,” जीवनले भने । तर ती महिलाले त्यही होटेलमा नै अर्को दिन बीमा फाइनल गर्ने कुरा बताइन् । भोलिपल्ट बीमाको कुरा खासै भएन । ती महिलाले वाइन अफर गरिन् । जीवनले नाइँ भन्न सकेनन् ।
वाइन पिएपछि के भयो, उनलाई थाहा भएन । एक झप्को निदाएर ब्युँझेजस्तो महसुस भयो । साँझ परिसकेको थियो । भोलिपल्ट फेरि भेट्ने निधो गरेर ती महिला गइन् । अर्को दिन जीवन समयमै होटलमा पुगे । ती महिलासँग अर्की एक महिला पनि आइन् । कुरा बीमाको भएन ।
अर्की महिलाले भनिन्, “जीवनजी, तपाईं यस्तो नीच मानिस हुनुहुँदोरहेछ । बीमाको बहानामा महिलाहरूलाई होटलमा बोलाएर यौन सम्पर्क गर्ने ? हिजो के गर्नुभयो यी बहिनीलाई ? अब बलात्कारको केसमा जेल जानुस् ।”
जीवनले आफू निर्दोष भएको कुरा बताए तर तिनीहरूले उनको कुरा सुन्नै चाहेनन् ।
अर्को दिन अर्की एक महिलाले फोनमा भनिन्, “बीस लाख रुपैयाँ दिनुस्, म ती बहिनीलाई सम्झाउँछु । नत्र इज्जत, पैसा सबै जान्छ अनि जेल पनि हुन्छ ।”
जीवनले यो कुरा आफ्नी श्रीमतीलाई पनि भन्न सकेनन् । प्रतिष्ठा बचाउन भनी अन्ततः उनी बीस लाख रुपैयाँ दिन तयार भए । त्यसै होटेलमा पैसा बुझाउने सम्झौता भयो। पैसा बुझाउनै लाग्दा अचानक जीवनकी श्रीमती त्यहाँ पुगिन् र भनिन्, “पख्नुस्, पैसा बुझाउन पर्दैन । मैले साथमा प्रहरीलाई ल्याएकी छु । यिनीहरूको यो धन्दा अब चल्दैन । मैले केही दिनदेखि तपाईंको फोन डिटेल वाच गर्दै आएकी छु । केही शंकास्पद कुरा पाएर प्रहरीको सहयोग लिएकी हुँ । प्रहरीसँग फोन कल डिटेल छ । जेल त अब यिनीहरू जान्छन् ।”
त्यसपछि प्रहरीले आफ्नो काम सुरु गर्यो ।
पोखरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।