ढाकामोहन बराल

दशैँमा पहाडमा गएर आएको राकेशलाई फेरि तिहारमा घर जान खर्चको कारणले आँट आएन ।

ढाकामोहन बराल

बहिनीलाई एकजोर कुर्थासलवार दशैँमा लगिदिएको थियो । धान काटेर थन्क्याउनको लागि दशैँमा नै व्यवस्था मिलाएर फर्केको हुनाले तिहारको टीका भन्दाबाहेक अन्य कुनै काम छैन गाउँ जानको लागि त्यसकारण उसले घर नजाने निर्णय लियो ।

गाउँ नगए पनि भाइटीकाको दिन किन निधार खाली गर्ने भन्ने सोच आयो ।

उसका कान्छा बुढाहजुरबाका सन्तानहरू काठमाडौँमा नै रहेका कुरा उसलाई पनि थाहा थियो । दुई वर्ष पहिले गाउँमा कुलायन पूजा हुँदा गएका एकजना दाइसँग फोन नम्बर मागेको पनि थियो जससँग केही समय कुराकानी हुँदा नै निकै रमाइलो लागेको थियो ।

उसका कान्छा बुढाहजुरबाले कुन्नी कसलाई खुसी बनाएबापत राम्रै सम्पत्ति हात लागेको कारण काठमाडौँमा घरघडेरी जोडिएको रहेछ । दाइलाई फोन गर्यो, “दाइ म गाउँको राकेश भाइ बोलेको । म पनि यतै काठमाडौँमा नै छु आजभोलि । दसैँमा भर्खर पहाड गएको अब कति पटक गइराख्ने भनेर तिहारको टीका यतै लगाउने विचार आयो । दाइहरुको तिहारमा टीका लगाउने कार्यक्रम के कस्तो होला ? म पनि सामेल हुन पर्छ कि कसो हुन्छ होला ?”

उताबाट जवाफ आयो, “भइहाल्छ नि भाइ । यसपालि मेरै घरमा टीका लगाउने कुरो छ । दिदी आउनु हुन्छ । हामी तीन भाइ र तिमी भएर लगाउनु पर्ला । मेरो घर मैतीदेवीमा हो । चोकमा आएर एक पटक फोन गर्नु ।”

उसले पनि अफिसमा आफ्नो डियुटी त्यहीअनुसार मिलाएर साथीसँग साटफेर गर्यो र भाइटीकाको दिन एउटा खाममा आफ्नो क्षमताले भ्याउने दक्षिणा राखेर उदय दाइले भनेबमोजिम दाइको घरमा पुग्यो । दाइले सबैले सुन्ने गरी उसलाई गाउँको भाइ भनेर चिनाए । कुनैले वास्ता गरे तर कुनैले मतलब गरेनन् । सबै जना आफ्नै सुरमा थिए ।

उसलाई भित्रबाट एक कप चिया ल्याएर दिइयो । एकछिन पनि टीका लगाउने र भाइ पुज्ने काम सुर भइहाल्यो । टीका लगाउने कार्यक्रमपछि उपहार आदानप्रदान भयो । ऊ छेउमा बसेर हेरिरह्यो । उसको पालो आएपछि दिदीलाई दक्षिणाको खाम दियो र ढोग गर्यो ।

सबैजना यताउता भुल्दै गर्दा दिदी भित्र पसिन् र उसले दिएको खामा खोलेर हेरिन् । नेट पर्दा लगाएको भए पनि भित्र कुन्नी के खोज्दा बत्ती बालेको हुनाले उसले दिएको खाम खोलेर हेर्दा दिदीको नाक खुम्चिएको प्रस्ट देखिन्थ्यो । उसलाई भने आफ्नै बहिनीसँग गाउँमा टीका लगाउन नगएकोमा दुःख लागिरह्यो ।

पोखरा ७ मासबार,
कास्की