
खुपेन सुनुवार

खुपेन सुनुवार
फत्तेमान आज पनि उत्तेजनाले मातेको छ। उसका आँखामा बेथको अर्धनग्न तस्विर नाचेको छ। त्यसलाई पन्छाउन ऊ कत्ति पनि चाहँदैन। डबल मल्ट स्कचको क्लिन सट यो दशौं पटक हो तर उसले प्रतीक्षा गरेकी बेथ अझसम्म आइपुगेकी छैन, सिवाय उसैको पसिना छुट्ने गरम यादहरू आइरहन्छ र गइरहन्छ।
ढोकामा झुन्डिएको छ, येशुको झुन्डिएको क्रसको माला । कालो ओभरकोट र कालो ह्याट अनि उसलाई याद आउँछ, तुलसी दिवसको कविता- “रातो गुलाब” । ऊ एकछिन बेथलाई सम्झेर आँखा बन्द गर्छ । रङ्गीन सपनाभित्र के प्रवेश गर्न खोज्छ, हठाथ हतौडाले ढ्याकढ्याक क्रुसमा येसु मसिहलाई किला ठोकेको आवाज उस्को मष्तिष्कमा ठोकिन्छ । उस्ले झल्यास्स आँखा खोल्दा ढोकामा त उस्को मित्र रत्नदास पो उभिएर ढकढक गरिराखेको !
‘कस्लाई सम्झेर टोलाई राख्याथिस् फत्ते ?’ रत्नदासले सोधेको प्रश्नमा झस्केर फत्तेमानले भन्छ, ‘हाँ.. अँ… कोही हैन । तँलाई नै सम्झिराख्या थिएँ। अनि कसरी आज मेरोमा आइस् अचानक ? हेर् म त एक्लैले दस चढाइसके तँ पनि एक चढाउने हो कि? हैन हैन मैले बाहिरै नौ चढाएर आइसकेँ। आज म त यतै सुत्न आएको घरमा यो हालतमा जाँदा बुढीले त घरबाट निकाल्छ। आइल स्टे ओभरनाइट इफ यु प्लीज…।’
एकछिनको घनघोर मौनतापछि आँखा बन्द गरेर घोप्टो परेको रत्नदासलाई फत्तेमानले भन्छ, ‘ओई रत्ने टेन कमान्डमेन्ट जप्न लागिस् ? आइज माथि खाटमा पल्टी।’
बिस्तारै रत्नदास आफ्नो खुट्टाको बलमा उभिन्छ, खाटमा पल्टिन्छ र बाघझैँ घुर्न थाल्छ।
फत्तेमानको शयन कक्ष सम्राट नबुगदनेश्वरको ह्याँगिङ गार्डेनजस्तै उच्चकोटीको विलासी शयनकक्ष हुन्छ । जहाँ अर्धनग्न बेथको काल्पनिक मूर्तिलाई सुगन्धित धुपले नित्य आरती चढाउने गर्छ तर रत्नदासको अस्वाभाविक प्रवेशले उस्को नित्य कर्म असफल भइदिन्छ ।
बिहान फत्तेमान टाउको समात्दै सोफाबाट उठ्छ। खाटमा सुतेको रत्नदासलाई नदेखेपछि कतै ख्रिष्टको दोस्रो आगमन त भएन भनी ऊ झस्किदै रत्नदासलाई फोन गर्छ। फोन उठ्दैन, फेरि गर्छ, उठ्दैन । तेस्रो पटकमा बल्ल श्रीमती बेथले फोन उठाउँछे। हेलो फत्तजी उहाँ भख्खर नुहाएर टेन कमान्डमेन्ट पाठ गर्दै हुनुहुन्छ। रत्नदासले ठीक त्यतिखेर उच्चारण गरेको मन्त्र यही थियो, “तैँले आफ्नो छिमेकीकी श्रीमतीलाई व्यभिचार नगर्नू ।”
फत्तेमानले फोन काट्छ, एस्ट्रे तान्छ, चुरोट सल्काउछ, धुँवा निल्छ अनि लामोसँग सास फेर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

