माधव काफ्ले

‘परदेश गएको पनि धेरै भयो बाबु, कहिले आउछस् ?’ दिदीको यो कुराले हर्क चिन्तित मुद्रामा कतै हराउँदै छ।

त्यतै जहाँ उसले आफ्नो सबै सम्झनाहरूलाई छोडेर आएको थियो। लुकामारी खेल्दा मलाई आफ्नो कोखमा लुकाउने स्वामी र वरका रुखहरू, कबड्डी खेल्दाखेल्दै माडिएर उराठलाग्दो बनेको साइँला दाइको बारी । गाई, भैंसी अनि ती मेरा प्यारा बालापनका सहपाठीहरू । मेरी दिदीले जस्तै सम्झिरहेका होलान् नि मलाई, ‘परदेशिएपछी त हामिलाइ बिर्सियो’ भन्दाहुन् !

तल्लाघरे काकाको बारीमा बोटमै सुन्तला कुहिएर गए होलान्। छिट्टै आउँछु र चुहिने छानो टालटुल गरौँला बा भनेर आएको पनि धेरै भयो। ती बुढा बा-आमाले मेरै बाटो हेरेर बसिरहेका होलान्। आफ्नै छोरा निष्ठुरी भयो भन्ने सोच्दाहुन् !

उसलाई भन्न मन छ, ‘बा-आमा म निष्ठुरी भएको छैन। निष्ठुरी त यो समय हो, जसले डोर्‍याउँदै यहाँसम्म ल्यायो मलाई । हजुरभन्दा धेरै टाढा। यहाँ न हजुरको माया छ, न त ममता । बस्, छ त केवल काम मात्र !’

‘नचाहँदा नचाहँदै केही गर्नुपर्दा साह्रै गाह्रो हुँदोरहेछ आमा !’

दुई थोपा आँसु आखाको डिलमा आएर बिराजमान भए। झर्न सकेनन् बर्खे झरीजस्तै।

जिन्दगीमा आएको झरीले ल्याएको बाढीमा परेर ऊ यहासम्म आएको हो। अहिले सम्म धेरै झरी खेपिसक्यो। त्यो झरी र यो झरीमा यत्ति फरक छ; त्यो झरीले शरीर भिजाउँछ, यो झरीले मन !

मन भिजाउने झरी भन्दा त शरीर भिजाउने झरी नै ठिक हुँदोरहेछ। एक दुई दिनसम्म असर शरीरमा रहन्छ अनि आमाले बनाएको टिमुर र मरौटीको रसमा हराउँछ। मन भिजाउने झरी त कहिल्यै नहराउँदो रहेछ, आमा ।

यस्तै कुरा सोचिरहेको छ ऊ । अचानक मोबाइलमा आलार्म बज्छ। ऊ झस्कियो ! ‘काममा जाने समय भएछ । आज त जसरी पनि तिहारको लागि छुट्टी मिलाउँछु ।’

यही अठोट लिएर ऊ कामतर्फ लाग्यो। कम्पनीको अफिसमा पुगेपछि म्यानेजरसँग छुट्टीको कुरा गर्न अगाडि बढ्यो।

कुरा गर्नुभन्दा पहिला नै थुप्रै काम को बोझ उसमाथि थोपर्यो म्यानेजरले।

उदाश मन लिएर बाहिर निस्कियो। यसपालि तिहारमा जसरी पनि आउँछु भनी बाचा गरेको छु। खै होला जस्तो छैन !

तीस तले बिल्डिङ मा झुन्डिएर सिसा पुछ्दैछ। दुबइ को गर्मी ओहो !

ती बुढा बाआमाले मेरै बाटो हेरेर बसिरहेका होलान्। तीन वर्ष भयो घर नगएको। अब त काम छोडेर भए पनि घर फर्किन्छु। ऊ सोचिरहेको छ ।

उसको मन थामिएन। तीस तले बिल्डिङमाथि झुन्डिएको ऊ, उसका आँसु भुइँमा पुग्न नपाउँदै बिलाए त्यतै कतै।

साहुको ऋण अझै तिर्न सकेको छैन। बरु गैरीखेत बेचेर भए पनि तिर्नुपर्ला। अब जे भए पनि घर फर्किन्छु।
बाको धोको छ। म बाचुन्जेल गैरीखेत पनि मसँगै बाँचिरहोस् ।

ऊ अलमलमा छ।

घरी गाउँको मायाले बोलाउँछ त घरी साहुको वचनले भो न जा भन्छ।

“आखिर दु:खको बेलामा त आफ्नो मन पनि आफूसँग नहुँदोरहेछ।”

मन आफैँमा बाँडिएको छ। उसले मेरो साथ कसरी दिन सक्ला र ?

हुन त आफू पीडामा भएकाले नै अर्काको पीडा बुझ्न सक्छ। आखिर मेरो मनले मलाई नै किन बुझ्न सकिरहेको छैन?

मन त मेरो हो नि!

फेरि किन मसँग छैन मेरो मन?

यही त होला नि, दु:ख को समयमा आफ्ना पनि आफ्ना हुँदैनन् भन्ने भनाइको तात्पर्य।

मन त मेरो सबैभन्दा नजिकको पो हो त ! अझै मभित्र नै छ। मेरै खान्छ, मेरै लगाउँछ तर मेरो साथ दिँदैन !
कस्तो नमक हराम मन ! नुनको सोझो त गर्नुपर्छ नि !

यस्तै सोचहरूमा हराउँदा साँझ परिसकेछ। हतार-हतार भुइँमा झर्यो। सरासर कोठामा गयो।

आज त खान पनि मन छैन। आमाको हातले पकाएको ढिँडोले यहाँको चौरासी व्यञ्जनलाई पनि नकार्दै छ।

आज उसको भान्सामा चिया मात्र पाक्यो। त्यो पनि माली गाईको दुधको यादले गर्दा घाँटीभित्र पस्न सकेन।
ठाइँलो गाउँबाट आउँदा ल्याइदिएको तम्बाकु मोल्यो अनि मुखभित्र एक कुनामा च्याप्यो र सुत्यो।

त्यो निद्रा उसको अन्तिम निद्रा रहेछ। दिनभरिको चर्को गर्मी अनि रातिको चिसो एसीको हावा उसलाई पचेन। सधैँ पच्थ्यो तर आज उसको गाउँको स्वच्छ हावाको यादको प्रभाव धेरै भएछ। त्यही यादसँगै ऊ हरायो । उतै कतै परदेशी मरुभूमिमा।

यता गाउँमा तिहारको माहोल छ। सबैतिर खुसियाली छ रमाइलो छ।

उसकै बाटो पर्खेर बसिरहेका बुढा बा-आमाको अगाडि काठको बाकसमा बन्द भएर उसको “आत्मा निदाएको शरीर” मात्र आयो।

सप्तरङ्गी टीका र मखमलीको माला उनेर भाइको पर्खाइमा बसेकी दिदीको हृदयमा बस् त्यही अन्तिम सम्बाद मात्र बाकी रह्यो, “दिदी म यो तिहारमा जसरी पनि आउँछु !”

उसको अन्तिम वाक्य दिदीको कानमा गुन्जिरह्यो।

ऊ आउन त आयो तिहारमा । उसले आफ्नो वाचा पूरा गर्यो।

माधव काफ्ले
मुम्बई