
१. पहिलो लघुकथा
(बढी उखान टुक्का प्रयोग गर्ने लघुकथाकार)
खेलौना
देवेन्द्र अर्याल ‘आँसु’

देवेन्द्र अर्याल ‘आँशु’
उसलाई आफ्नो कोठा खेलौनै खेलौनाले सजाउने चाहना थियो । कहिलेकाहीँ केही गरी पैसा बच्यो भने ऊ खेलौना किन्थी । मानौँ उसको खेलौना सङ्कलनमा सोख थियो तर पनि उसले चाहे जति र भने जति खेलौना सङ्कलन गर्न सकेकी थिइन । बाबु आमा पनि छोरीको चाहना पूरा गर्न नपाएकोमा चिन्तित थिए । किनकि उनीहरूलाई घर चलाउन ज्यादै मुस्किल थियो ।
ऊ जान्नेबुझ्ने भई । उसलाई घरका सबै समस्या र अभावको बोध भयो । उसले घर व्यवहार चलाउन जागिर खोजी । कामका लागि भौतारिई, न जागिर मिल्यो न काम नै ।
आज उसको कोठामा कुनै कुराको अभाव छैन, प्रायः सबै सरसमान उपलब्ध छन् । कोठाभरि मन परेका खेलौना पनि छन् । बाबुआमाको मुहारमा पनि खुसी नै देखिन्छ । हिजो र आजको उसको अवस्थाप्रति आकाश र जमिनको फरक देखिएको छ ।
यसको मूल कारण हिजो उसको सोख मन परेको खेलौना किन्नु थियो भने आज खेलौना बेच्नु रहेको छ । बाध्यताले गर्दा ऊ आफैँ अरुको खेलौना बनेकी थिई ।
###
(नेपाली लघुकथामा उखान-टुक्काहरू सर्वाधिक प्रयोग गर्ने लघुकथाकारको रुपमा देवेन्द्र अर्याल “आँसु” पर्दछन् । उनी पचासको दशकदेखि नै तत्कालीन साहित्यिक र पारिवारिक डाइजेस्टहरूमा लघुकथाहरू प्रकाशन गरी चर्चामा रहेका छन् ।
स्रष्टा देवेन्द्र अर्याल “आँसु” मूलत: सांस्कृतिक लेखक हुन् । उनले काठमाडौँ उपत्यकाको उत्तरी भेगमा रहेका धरोहरहरूको अध्ययन/अनुसन्धान गरी थुप्रै सांस्कृतिक पुस्तकहरूको प्रकाशन गरेका छन् । उनका आख्यान र काव्यका केही कृतिहरू पनि प्रकाशित छन् । देवेन्द्र गोलढुङ्गा साहित्य परिषद्को अध्यक्ष र परिकल्पनाकार पनि हुन् ।
प्रस्तुत लघुकथा “खेलौना” कौतुहलपूर्ण सटिक लघुकथा हो । थोरै शब्दमा लघुकथाकार “आँसु”ले विषयको उठान, द्वन्द्व र कथाको झड्केदार समापन गरेका छन् । कथामा अश्लील विषयलाई पनि शील विषयमा रुपान्तरण गर्न सक्नु लघुकथाकारको सफलता हो ।)
२. व्यापक काल
आन्दोलन
डा. शेखरकुमार श्रेष्ठ

डा. शेखरकुमार श्रेष्ठ
“हाम्रो आन्दोलन जारी छ । सक्षमताअनुसार पुरस्कार देऊ । समयअनुसार भत्ता देऊ । रोग लाग्दा औषधी देऊ । पेट भर्न खाना देऊ । बास बस्न घर देऊ । लगाउन कपडा देऊ । काम गर्ने ठाउँ देऊ,” भन्दै सडकमा नारा लागिरहेको थियो ।
सबैले हातमा प्लेकार्ड, तुल र ब्यानर बोकेका थिए ।
सरकारसँग माग राखी भएको यस आन्दोलनमा उच्च वर्गको प्रतिनिधित्व उद्योगपति, ठूला व्यापारी र उच्च पदस्थ कर्मचारीले गरेका थिए भने मध्यम वर्गको प्रतिनिधित्व सरकारी र संस्थाका जागिरेले गरेका थिए । निम्न मध्यम वर्गको प्रतिनिधित्व किसान र मजदुरले गरेका थिए । त्यसैगरी निम्न तहको प्रतिनिधित्व केही नहुनेले गरेका थिए ।
यो आन्दोलन दिन, साता, महिनासँगै वषौँ चल्यो । लगातार चलिरहेको यस आन्दोलनलाई निकास दिन अन्तर्राष्ट्रिय दबाबका साथ अधिकारकर्मीहरू बल्ल लागिपरे । उनीहरूले सरकार प्रमुखलाई आन्दोलनकारीको बीचमा लगे । सरकार प्रमुखले आन्दोलनकारीलाई गम्भीर भई सोधे, “तपाईँहरूको आन्दोलनप्रति हाम्रो चासो बढेको छ । भन्नुस् के गर्नुप-यो ?”
सरकार प्रमुखले सोध्नेबित्तिकै सडकमा आन्दोलनकारीको हानथाप बढ्यो । सबैले आफ्नो माग पहिले राख्न पाउनुपर्ने अडान राखे । आन्दोलनकारीकै बीचमा झगडा प-यो । सरकार प्रमुख र अधिकारकर्मीहरू भने गाडी चढेर हिँडे ।
###
(नेपाली लघुकथामा ६० को दशकलाई व्यापक काल भनिन्छ । यही समयदेखि नेपाली लघुकथाले व्यापकता पाएको देखिन्छ । यसै समयदेखि शेखरकुमार श्रेष्ठको लघुकथा लेखन आरम्भ भएको हो ।
पछिल्लो समय शेखरकुमार श्रेष्ठले नेपाली साहित्यमा विद्यावारिधि गर्नु भएको छ भने “हाम्रो लघुकथा पाठशाला” को एक एडमिन सदस्य पनि हुनुहुन्छ । उहाँ लघुकथा समाज, बाग्मती प्रदेशको उपाध्यक्ष पनि हुनुहुन्छ ।
कम लघुकथा लेखे पनि लघुकथाको सटिक समालोचना गर्ने काममा डा. शेखरकुमार श्रेष्ठ सक्रिय हुनुहुन्छ ।
प्रस्तुत लघुकथा “आन्दोलन” आन्दोलनकारीहरूको बाहिरी र भित्री रुपको कथा हो । बाहिरी रूपमा समग्रतामा देखिने आन्दोलनकारीहरूको भित्री रूप आफूमा केन्द्रित रहेको देखिन्छ । कथाले नेपाली आन्दोलनकारीहरूको लामो इतिहासको चित्रण थोरै शब्दमा गरेको छ ।)
३. मलाई मन परेको लघुकथा
बेमौसमी छाता
गंगा खड्का

गंगा खड्का
स्नातक तहमा पढ्ने भएर पनि मेरा छोराछोरीलाई मैले अफिसबाट फर्कँदा पापा नल्याई धरै पाउँदिनथेँ । एउटा चकलेट नै भए पनि बोकेर ल्याउने आदत मेरो पनि बसिसकेको थियो । कहिलेकाहीँ म आउँदा उनीहरू घरमा रहेनछन् भने म ब्याग राखेर घरको काममा व्यस्त हुन्थेँ।
उनीहरू ब्याग खोतलेर पापा खान्थे।
एकदिन म आउँदा दुवै जना मोबाइलमा व्यस्त रहेछन् । म ब्याग खुसुक्क राखेर भान्साको मेसोमा लागेँ । केही बेरपछि उनीहरू बिरालोको चालमा भान्सामा प्रवेश गरे । छोरीले मेरा आँखा छोपिदिँदै भनी, “मामु ! सधैँ हजुरले हाम्रो लागि केही न केही ल्याउनुहुन्छ । आज हामीले पनि हजुरका लागि केही ल्याइदिएका छौँ । हजुरले चिन्नु भएपछि मात्रै आँखा खोल्न पाइन्छ है !”
छोराले मेरो हातमा केही चिज राखिदिँदै भन्यो, “मामु ! ल अब भन्नुहोस् त, यो के हो ?”
मैले छामछाम छुमछुम गरेर निमेषभरमै भनिदिएँ, “छाता । ”
त्यसपछि छोरीले मेरो आँखाबाट हात झिकिदिँदै भनी, “कस्तो लाग्यो मामु ?”
“बेमौसमी भए पनि यो छाता मलाई अति मन पर्यो । तिमीहरूले मेरो समस्या बुझेर हिउँदको याममा नि छाता उपहार दिएजस्तै डुबानमा परेकाको लागि सरोकारवालाले सोचिदिए कस्तो हुन्थ्यो होला ?”
###
(पछिल्लो समय गंगा खड्का नेपाली लघुकथा लेखनमा सक्रिय छिन् । लघुकथाका प्रायः पेजहरूबाट उनका लघुकथाहरू बग्रेल्ती पढ्न पाइन्छ । समसामयिक कथा/व्यथाहरूलाई घुमाउरो तरिकाले भन्दै अन्तिममा झड्का छोड्नु गंगा खड्काको लघुकथा लेखनको विशेषता हो ।
प्रस्तुत लघुकथा “बेमौसमी छाता” पारिवारिक वातावरणबाट अगाडि बढ्दै जान्छ । कथा पढ्दै गर्दा पाठकलाई लाग्न सक्छ – कथाकारको पारिवारिक वातावरण पाठकलाई केको चासो ? तर चासो केलाउन नपाउँदै लघुकथा ३६० डिग्रीमा मोडिन्छ र पाठकलाई समसामयिक राष्ट्रिय समस्यामा पुर्याइदिन्छ । वास्तवमा कथा सटिक छ । यस लघुकथाले वास्तवमै देशको नाङ्गो राजनीतिक अवस्थालाई प्रष्ट्याएको छ । लघुकथाकार गंगा खड्काबाट अझै सशक्त लघुकथाको आश गर्न सकिन्छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
