मनोज कँडेल
कोरोनाबाट बचेर दसैँ मनाउन यो वर्ष गाउँमा गएँ । मेरो बचपनको साथी बुधे पनि गाउँमै आएको रहेछ । बुधेको बुबामुमासँग टीका थाप्न बुधेको घरमा गएँ ।
आशीर्वादस्वरुप दसैँको टीका ग्रहण गरेँ । खाई पिई रमाइलो गर्नुपर्ने बुधे । २० वर्षपछि हाम्रो भेट भएको थियो । बुधेले डाँडाको पसलमा साँझमा भेट्ने निर्णय सुनायो । मैले पनि टाउको हल्लाएँ ।
बुधे बिस्तारै बहकिन लाग्यो । सायद तीनपानेले उसलाई साथ दिएको थियो मनको बह निकाल्न ।
“हेर्नोस्, दाइ म कमरेड अध्यक्षको व्यक्तिगत सुरक्षाको लागि सेवामा बसेको १५ वर्ष भयो,” उसको मुहारमा खुसीभन्दा आक्रोश देखिन्थ्यो ।
“याद होला नि दाइलाई पनि, सर्वहारा वर्गको शासनसत्ता ल्याउने अनि धनीको सम्पति बाँढेर गरिबलाई वितरण गर्ने भनेर नेताहरूले भाषण गरेको ?” बहकिदै थियो बुधे । मैले पनि सहमतिको टाउको हल्लाएँ ।
उसको स्वरको भोलुम बढ्दै थियो – “घरको खेतीपातीले ६ महिना मात्र खान पुग्ने । जमिन्दारको जमिन पाउने आशमा नेताको पछाडि लागियो । हिजो जमिन्दारको खेतमा पसिना बगाइयो । आज कमरेड अध्यक्षको घरमा पसिना बगाइँदैछ ।”
“दाजु सकियो त, एक क्वाटर थप्ने होइन ?”
“थप्ने हो नि, दसैँमा थप्नै पर्यो नि !” मेरो कुराले बुधे मक्ख भयो ।
“अनि कमरेड अध्यक्षको प्रियपात्र भएको मान्छे । ठूलाबडाहरुको उठबस हुने । तिमी त भाग्यमानी देख्छु त । किन यत्रो निराश मित्र ?” मेरो कुराले उस्लाई गम्भीर बनायो ।
“ठेक्का कस्लाई दिनेदेखि मन्त्री कस्लाई बनाउनेसम्मको सबै, सेटिङदेखि कमिसनसम्म सबै त्यतै हुन्छ नि हुन त !” किन हो कुन्नी उसले मलाई एकोहोरो हेरिरहेको थियो ।
बुधे हाँस्दै भन्नथाल्यो, “कमरेड अध्यक्षको घरमा भएको सेटिङको रेष्टुरेण्टमा काम गर्नेहरूले जस्तो कमिसन पाउने भए नि दाजु मेरो अहिले काठमाडौंमा २० वटा जति घर हुन्थ्यो नि !”
बुधेको रुन्चे हाँसोलाई मैले नि साथ दिएँ ।
“थाहा छ दाजु, यो १५ वर्षमा मैले कहिल्यै पनि त्यो घरमा देश र जनताको विकास र प्रगतिको योजना बनाएको सुनिनँ,” तीनपानेले रातो भएको उसको अनुहार झन् रातिदै थियो । म भने भोलि भेट्ने वाचा गर्दै हिँडे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।