१.  डाक्टरखेती

नन्दलाल आचार्य

‘म गरिप बाबुको छोरो हुँ । धन खर्च गरेर भए पनि बाँच्न चाहन्छु तर दबाई खाएरै मर्न चाहन्नँ ।’

जति पटक जाँच्न डाक्टर आउँछन्; उत्ति पटक फरकफरक औषधी लेखेर र किनाएर हैरान पारेपछि मैले भनेको थिएँ ।

ब्लड क्यान्सर भएर अस्पताल भर्ना भएको हप्ता दिन भएको थियो । उपचार शुरुआत भएपछि बिमार घट्नुको साटो बढेको थियो । खर्चको हिसाब थिएन ।

बिरामीलाई जाँचेजस्तो गर्ने, पहिलेको रिपोर्ट हेर्दै नहेर्ने, मात्रै नयाँ जाँच र औषधी लेख्ने डाक्टरको प्रवृत्तिबाट म वाक्क थिएँ ।

त्यसकारण मेरो मन कुरा मथ्न मस्त भयो-

-बिराम खान्छ भनेर बिरामी अस्पताल धाउँछन् ।
-धन भएका बुद्धि कम रहेका मुस्किलले बाँच्छन् ।
-धन कम भएका बुद्धि रहेका सजिलै बाँच्छन् ।
-धन र बुद्धि हुँदै नभएका अलिकता बाँच्छन् ।
-धन र बुद्धि हुँदै भएका मज्जैले बाँच्छन् ।

आफ्नो बुझाई व्यक्त गर्नासाथ एक नर्सले भनेकी थिइन्; ‘हाम्रो हात बाँधिएको छ । मुखमा ताला झुन्डिएको छ । हामी टमटमे घोडा हौँ । चालकको इसारामा नाच्छौँ । उसकै मनका लागि अनुहारमा हाँसो ल्याउँछौँ ।’

नर्सको कुराले सुषुप्त अवस्थामा रहेको मेरो चेतना जागृत भएको थियो । म होसमा आएको थिएँ । बेहोसीको समूल नष्ट भएको थियो ।

औषधी र इन्जेक्सनले गर्दा म दिनानुदिन भित्रभित्रै जल्ने र गल्ने भइरहेको थिएँ । न खाना रुच्थ्यो, न त शरीरमा तागत थियो । औषधी नदेऊ; रियाक्सन भयो भन्दा ‘हामी डाक्टर कि बिरामी स्वयम् नै डाक्टर ?’ भन्ने प्रश्न सुन्नुपर्थ्यो ।

नर्सले हातमा दिएको औषधी खाटमुनि हुर्याउँदा हुर्याउँदा एक थुप्रो भइसकेपछि बल्ल मेरो शरीरमा त्राण आएको थियो ।

मेरो मनले ठानेको थियो; ‘डाक्टर देवतुल्य पेशा हो । यद्यपि मानवता बेचेर कमाइखाने भाँडो बनाउनु मानवसंसारको दुर्भाग्य हो ।’

 

२. अवसर

‘यो अन्तरी त पूरापूरी नाङ्गी पो रहिछ ! लाज छोप्न न होस छ । लगाएको कपडामा प्वाल पर्नाले बेहोस हुन बाध्य छे । देखिने कुरा त देखिएकै छ । नदेखिने पनि देखिएर पो बर्बाद भयो !’

मनभित्र खेलेको कुराले मलाई अन्तरीका बाउआमाको आर्थिक हैसियत अवलोकन गर्न बाध्य गरायो । उनीहरू मिठो खान्थे । आफू राम्रो लाउँथे । छोराछोरी सानै छन् भनेर कपडा प्वाल पर्दा पनि वास्ता गर्दैनथे ।

खासमा अन्तरी मेरै भतिजी थिई । ऊ उमेरमा क्रमश़ः उकालो चढ्दै थिई । उसको इज्जत र बेइज्जत मेरो पनि थियो ।

‘अन्तरी चुप छे भन्दैमा उसले लगाएका कपडा चुप छैनन् । तिनले धर्म छाडेको टुलुटुलु हेर्नु परेको छ । शिघ्रातिशिघ्र व्यवस्थापन गर्नुपर्यो नि !’

मेरो कुरा सुनेर बुहारीचाहिँ बोलेकी थिइन्; ‘भको पैसो दशैँ मनाम्दै तुरिगो । काँबाट किन्दिनु ?’

पैसाको समस्या नै परेको होला भन्ठानेर हजारको नोट थम्याउँदै भनेको थिएँ; ‘यसले माथिदेखि तलसम्मको जामाको कपडा र धागो किन; बाँकी बचे फिर्ता लेऊ; कम भए आफैँ थपथाप गर । सिलाउन तिमी आफैँ छँदैछ्यौ ।’

आलटाल गर्दै र सकस मान्दै बुहारी नजिकैको पसल गएकी थिइन् । फर्कँदा अन्तरीको अनुहार मलिन थियो । बुहारी भने मन्द मुस्कानका साथ पोलिथिन झोला हल्लाउँदै आएकी थिइन् ।

कपडा देखाउँदै भनेकी थिइन्; ‘दाजु, जुन आवश्यकता बढता महत्त्वपूर्ण छ, त्यो पहिला पूरा गर्नुपर्छ भन्ने तपैँको सिद्धान्तअनुसार नै स्कुल पोशाक किन्देकी हुँ ।’

म चकित भएको देखेर अगाडि थपेकी थिइन्, ‘त्यसको पोशाक हावाहुन्डरीले बेपत्ता पारेको थियो । दुई महिना देखिन् स्कुल जान बन्द थियो । दाजुको त्यै पेसोले अब जान पाउने भई ।’

३. नयाँ माइती

‘मैले गरे जति सबै तेरै लागि थियो । म तँसँग सम्झौता गर्न चाहन्थेँ । तैँले नै अविश्वास गरिस् । सम्बन्धको गाँठो एक्कै झट्कामा चुँडाइस् ।’

निवर्तमान ससुराको यस्तो बोली सुन्नासाथ मेरो मन तर्सिएको थियो । उनले छोराको बारेमा चर्चा गरेका थिए । छोराको कुरा सुनेर मेरो मन खिन्न भएको थियो । छोरो उनीहरूसँगै थियो । सासूससुरा दुबै मेरो नयाँ दाम्पत्य जीवन सञ्चालन भएको घरमा आएर कुरा गर्दै थिए ।

पतिले पारिवारिक कचिङ्गल बहन गर्न अस्विकार गरेका थिए । त्यसैले स्वविवेकले धरती त्यागेका थिए । उनीबिना पाँच वर्ष बिताएकी थिएँ । सासूससुराले हाभीलाई पहिले नै अङ्श दिएर छुट्याइदिएका थिए ।

यत्तिखेर भने मैले छोरो र आफ्नो अचल सम्पत्ति त्यागेँ । नयाँ जीवन शुरुआतका लागि दाम्चे गाउँबाट भागेर यहाँ गल्फडिया आएँ । दश वर्षको छोरोसँग बजार पुगेर फर्किन्छु भन्दै बिदा भएकी थिएँ ।

छोरो रोइरहेको छ भनेको सुन्दा दगुरेर छोरालाई भेटूँ र काखमा राखेर म्वाइँ खाइरहूँ भन्ने लागिरह्यो । तर व्यवहारमा त्यसो गर्न समाजले दिँदैनथ्यो ।

म निरीह मुहार लगाएर खडा भइरहेको देखेर निवर्तमान सासूले गह टिलपिल पारेर भनेकी थिइन्; ‘सोधखोजबिना नै घर त्यागिस् । आफ्नो छोरो भेट्ने दैलो सदाको लागि थुनिस् । एक शब्द पनि सोध्ने हिम्मत गरेकी भए तँलाई छोरी बनाएर अनमनाई दिन्थ्यौँ । सप्पै काम निको गरिस् तर प्रक्रिया मात्र गलत गरिस् ।’

ससुराको बोली सुनिएको थियो; ‘जे भा पनि नातिकी आमा होस् । घर सम्झन नसके पनि माइत सम्झेर आउने गर् है !’

 

४. को कति ठीक ?

यतिखेर म परलोकमा भडकिरहेकी छु । इहलोकमा मलाई मेरै सास खोसिदिए । मेरो अमनचयन गुमाइदिए । विश्वासको पहाड बनिदिँदा पनि अविश्वासको लोहोराले थिलथिलो तुल्याइदिए । मेरो तडपिरहेको आत्माले सम्झिरहेछ-

‘छोरो बाँचुञ्जेल उसको पसिना खाइस् । मरेपछि पनि उसको योगदान खान खोज्छेस् ?’

सासूले घृणित नजरले हेर्दै र मलाई कटाक्ष गर्दै भनेकी थिइन् । म जवाफविहीन टोलाइरहेकी थिएँ ।

त्यही मौका छोपेर ससुराले मनमा वचनरूपी वज्र प्रहार गरेका थिए, ‘छोरो थियो र तँ बुहारी थिइस् । छोरो बैकुण्ठधाम गयो । तँसँगको नातोको लहरो तत्क्षण नै चुँडियो । उसको सम्पत्तिको हक बिर्सिदे । खटाएर देको खा र सकेको गर् । तेरो भलो यसमै छ ।’

‘म तपैँहर्कै छोरालाई मेरो मनभरि राखेर बाँचिरहेकी छु । मेरो निश्चल प्रेममा शंका नगर्नुस् ।’

मेरा कुरा भुइँमा नपर्दै ससुराको आवाज सुनिएको थियो; ‘त्यो बोल्ने कुरा हो । गर्ने कुरा अर्कै छ । सुनबूढी हात पर्ने भएपछि कसले ज्यानप्राण नछाड्ला र ? गुलिया कुरा गरेर धन हात पार्ने; हात परेपछि छोराछोरी त्यागेर गुँड बदल्ने । तेरो तुच्छ नीति मलाई थाहा छैन र ?’

‘मेरो पतिव्रता धर्ममा शंका गरिरहे म सबैलाई छाडेर पतिसँग जान पनि सक्छु ।’

मैले रुँदै बोलेका शब्दको जवाफमा सासूको कर्कश ध्वनि सुनिएको थियो; ‘गर्नेले झ्याली पिट्दैन । कायरले मात्र धाकधम्की देखाउँदै हिँड्छ ।’

फलत: मैले विश्वास दिलाउन आफ्नै दैलोमा पासो लगाउन परेको हो ।

 

५. नातो

‘दशैँको बेलामा पनि तँ किन निम्छरो भएको बाबु ?’ सबै केटाकेटी पिङमा झुत्तिएको बेला एक फुच्चे मलिन मुहार लगाएर टुलुटुलु हेरिरहेको देखेर मैले सोधेको थिएँ ।

ऊ जवाफ दिन सकस मान्दै थियो । मैले पटकपटक एउटै प्रश्न दोहोर्याएको थिएँ । ऊ मलाई नै अस्वीकार गर्ने पक्षमा देखिन्थ्यो ।

म फुच्चेलाई राम्ररी चिन्थेँ । ऊ गरिब बाबुको छोरो थियो । उसको बाबु भवानी आफ्नै कारणले गरिब थियो किनभने ऊ जति पैसा भए पनि रक्सी खाएर सिद्धयाउँथ्यो । रक्सीले मातेर समाजमा नाना थरी बक्दै हिँड्नाले ऊ घृणित पात्रका रूपमा चिनिन्थ्यो ।

जँड्याहा बाबुसँग फुच्चेले आफ्नो नाम जोड्न नचाहेर पटकपटक भनेको थियो; ‘म भुवन पौडेल हुँ । म कल्पना पौडेलको छोरो हुँ ।’

६. जिम्मेवारी

‘हामी गरिप छौँ तर दामी छौँ । तेरो दु:ख देख्छौँ र हाम्रो दशैँमा पनि तँलाई फुकाएर चराइरहेको छु ।

सानो सानेले वार्तालाप गरिरहेको देखेर म नजिकै गएँ । चारैतिर हेरेँ । भैँसी चरिरहेको थियो । भैँसीको नाथ्री सानेको हातमा थियो । ऊ बाहेक वरपर कुनै मानिसको अवशेष थिएन ।

ऊ भैँसी सुम्सुम्याउँदै भन्दै थियो, ‘मान्छेको दशैँमा आफ्नो सन्तानको हाडखोर चवाए भनेर चित्त नकुड्याउनु । संसार मायाले चल्दैन । परिस्थितिसँग मित लाएर मात्र चल्छ ।’

त्यत्ति कलिलो उमेरमा यस्ता रसिला कुरा गरेको सुनेर म दङ्ग परेको थिएँ । ऊ पाल्तु पशुलाई अति प्रेम गर्थ्यो । उसले आफ्नोपनको हिफाजत गर्न जानेको थियो ।

‘भुवन भाइ, भुवन भाइ ! सुतिरहेको अवस्थामा मैले बाबाको गोजीबाट पचास रुपियाँ फुत्काएँ ।’ सानेकी कान्छी दिदीले भनेको सुनेर ऊ कान ठाडा पार्दै थियो । म भने त्यहाँबाट हिँडिसकेको थिएँ ।

हिँड्दाहिँड्दै सानेले भनेको सुन्दै थिएँ; ‘राख् दिदी राख् । जड्याहा बाबाको गोजी नै रित्या । पैसो अन्त कतै नमास् । जोगाएर राख् । थपथाप गरेर तेल किन्नुपर्छ । मामूले भुटुन सकियो भनेको दश दिन भयो ।’

 

७. अभिनय

‘ह्याङह्याङ र ख्याङख्याङ ! तँ मुला दैत्यले मेरो देहमा दाह्रा गाड्न खोज्या । तेरो रगत पिउन पाए भने मात्र मेरो क्रोध शान्त हुन्छ ।’

बाध्यताले बहुलाही बनी मैले मनका कुरा नबुझिने गरी व्यक्त गरेकी थिएँ । अकस्मात् बदलिएको मेरो हाउभाउले शुरुमा ऊ शशंकित मात्रै बनेको थियो । इसारालाई अक्षरस: पालना गर्छु भन्ने उसमा अझै झिनो आश बाँकी नै रहेछ ।

मसँग बहुलाउनुको विकल्प थिएन । जथाभावी चिथोर्न थालेँ । कराएर जगतै थर्काएँ । आफैँलाई मात्रै नभई उसैलाई पनि लुछलाछ पारेँ । ऊ डरले परपरै रहन थाल्यो । म भने लाजै पचाएर जथाभावी गर्न व्यस्त रहन थालेँ ।

बीस दिनअघि म घरायसी काम गर्न भनी मलेसिया गएकी थिएँ । शुरुका दिनमा राम्रै थियो । पछिपछि घरमालिकले जिउ मालिस गर्न लगायो । गहका आँसु पचाएर जसोतसो काम गर्दै थिएँ । कल्पनाभन्दा बाहिर गएर मलाई गोडा नै मिच्न लगायो । त्यसपछि भने मेरो स्वभाव पूरै उल्टियो ।

उसले मलाई नेपाल फर्काउन सम्पूर्ण कागतपत्र तयार पारेर राहदानीसमेत हातमा राखिदिएपछि मेरो बोली निस्कियो, ‘आजसम्म आफ्नो लोग्नेको त गोडा मिचिएन । यस उमेरमा सात समुद्रपारि आएर तँ डिङ्गरको गोडामा तेलमालिस गर्नु भन्दा त बहुलाउनु नै निको !’

सिद्धार्थटोल, उदयपुर