
डि एल घिमिरे
छुट्टि सकियो । परदेश आउने तयारी हुँदै थियो मेरो । सबै साथीभाइ, इष्टमित्रको एउटै प्रश्न थियो, आउनै लागेको दशैँ छोडेर किन जान लागेको छुट्टी नथपेर ?
यसमा मेरो एउटै जवाफ थियो, के गर्नु तपाईंको कम्पनी भएको भए मलाई सजिलो हुन्थ्यो । छुट्टी थपेर दशैँपछि आउँछु है भन्न पाइन्थ्यो । तर के गर्नु तपाईंको परेन ।”
मलाई पनि त कहाँ रहर थियो र ? दैलोको दसैँ छोडेर हिँड्न ! परदेश आएपछि दसैँको जमरा नदेखेको आठ वर्ष भएछ । यस्ता पीडा परदेशमा बस्नेहरूको कति छन् कति !
एक महिना २० दिनको छोरो, तीन वर्षकी छोरी, बुबाआमा र श्रीमतीको माया थपक्क दैलोभित्र राखेर हिँड्दाको पीडा मलाई मात्र थाहा छ । घरबाट निस्कँदै गर्दा मन भारी भएको थियो । सधैँ बाहिर निस्किँदा मेरो पछि लाग्ने छोरी आज “बाबु म विदेश गएँ है” भन्दै गर्दा उसका अबोध हातहरू हल्लिए । हाँस्दै उसले “बाई बाबा” भनेर हातले मायाका वर्षा गरी । त्यसले मलाई घरबाट निस्किँदै गर्दा केही सहज भयो । दाइ लिन आउनुभएको थियो। मन भारी हुँदाहुँदै पनि गाडीमा बसेँ । हामी निस्कियौँ ।
अगाडि बाटोमा दाइको घर थियो । दाइलाई म ठुली आमालाई भेटेर आइहाल्छु है भन्दै निस्केँ । घरभित्र छिरेपछि ठुलीआमा, भाउजू, छोराछारी सबैसँग भेट भयो । अचानक मन भारी भएर आँखामा आउन लागेको थियो, जबरजस्ती रोक्ने प्रयास गरेँ तर थामिएला जस्तो लागेन । म हतार भएझैँ त्यहाँबाट भागेँ । आफ्नै घरबाट भागेँ, आफ्नै देशदेखि भागेँ, आफैँदेखि भागेँ ।
दाइ र म निस्कियौँ। केही व्यावहारिक, केही उरन्ठेउला कुरा गर्दै आयौँ । मलाई थोरै केही सहज भयो । हाँस्दै-हाँस्दै आयौँ । दाइले एयरपोर्टमा मलाई छोडेर उहाँ घरतिर लाग्नु भयो । मन न हो अनेक तर्कनाहरू खेल्छन् । यसरी हिँडेदेखि मन अमिलो भएको छ । साँच्चै परदेश हिँड्ने बेलामा दशैँ नआएको भए पनि हुन्थ्यो नि, है !
आजसम्म १० वर्षको वैदेशिक बसाइमा १६ पटक नेपाल आउजाउ गरियो तर यसपालि जस्तो नरमाइलो कहिले लागेको थिएन । समय हो, घुमेर आउँछ । मिलेसम्म अर्को दसैँ र तिहार मनाउँला । तर मलाई के पनि थाहा छ भने परदेशीको समय आफ्नो हुँदैन ।
युएई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

