साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

लघुकथाः सम्मान र चाकडी

 

सौगात भट्टराई

सम्मान र चाकडी नपाउँदा दुईचार दिनदेखि अलि बढी नै छटपटी छ। पहिलोपटक विशेष व्यक्तिको रूपमा भ्रमण गर्ने तारतम्य मिलाउँदैमा केही दिन बिते। ढिलै भए पनि अवसर प्राप्त हुँदा मनमा हर्ष र एकप्रकारको बेग्लै उन्माद छाउँदो रहेछ।

जानुभन्दा एकदिन अगाडि आफ्नो शैली, पहिरनलाई आकर्षक बनाउन रिहर्सल आवश्यक लाग्यो र ऐना सामुन्ने उभिएर हाउभाउ, बोल्ने शैली लगायतको परिक्षण गर्दा सबै ठिकै लाग्यो। विशेष व्यक्ति बनिसकेको अवस्थामा अरूका समस्या सुनेर टाउको हल्लाउने, समस्यालाई गम्भीरताका साथ बुझेको झैँ गर्न देखाउनुपर्ने प्रस्तुतीकरणपश्चात आफू पूर्णतया तयार रहेको महसुस गरेँ। भ्रमणमा निस्किनुपर्ने दिन आयो। दशैँमा नै किनेको भए पनि राम्रो र आकर्षक पहिरन भएको हुँदा सोही पहिरनलाई पहिरेर निस्किएँ।

विशेष व्यक्तिका लागि तयार गरिएको सवारीमा आसन जमाएर भ्रमणमा निस्किरहँदा अन्य सामान्य व्यक्तिले आफूलाई गर्ने सम्मान र चाकडीको भोकले व्यग्रै सताईरहेको थियो। समयको क्रमिक गतिसंगै गन्तव्य तर्फ उन्मुख मलाई चाकडीको स्वादको छटपटी साँच्चै नै उदेकलाग्दो थियो।
गन्तव्यमा पुग्नासाथ सवारीबाट बाहिर निस्किएँ। दुब्लो तर अग्लो कदकाँटको व्यक्तिले पूर्णतया निहुरेर फुलसहितको गुच्छाले मलाई स्वागत गर्यो। विशेष भवनतर्फ त्यो व्यक्तिले मलाई लग्दैगर्दा अधिकांश समय उसको ढाड निहुरेकै अवस्थामा रहँदा मलाई सगरमाथाको उचाईबाट मुन्तिर हेरेको झैँ महसुस भईरहेको थियो। भवनको मध्यभागमा राखिएको बडेमानको सोफामा आसन जमाएँ। वरिपरी विभिन्न थालीहरूमा चौरासी व्यञ्जनका भोजन, थरीथरीका पिउने जलहरू देखेँ। एकपछि अर्को गर्दै पालैपालो आफुले सो भोजनका परिकारको आनन्द उठाईरहँदा सो व्यक्ति भने शिर निहुराई नमस्कार गरेकै अवस्थामा खडा थियो। जल पिउने क्रममा मेरो हातबाट चिप्लिएर सुनौलो गिलास भुईँमा झर्यो र ठूलो आवाज आयो। त्यही आवाजको बीचमा म झल्याँस्स बिउँझिएँ। अघि चढेको सवारी गन्तव्यनजिकै पुगेको रहेछ।
गन्तव्यपूर्व नै हुनसक्ने स्वर्णीम आभास आफूलाई स्वप्नमार्फत भएको महसुस गरेँ। सपनाझैँ विपनामा हुने समयको प्रतीक्षा गर्दागर्दै गन्तव्य आइपुग्यो। गन्तव्यमा ओर्लिएँ तर त्यहाँ अघि सपनामा झैँ फूलमाला लिएर कोही खडा थिएन । केही पर्तिर एउटा मानिस उभिएको थियो, जो दुईहात जोडेर नमस्कारको भाव व्यक्त गरिरहेको प्रष्ट देखिन्थ्यो।

उसैले मार्गनिर्देश गरेबमोजिम अगाडि बढेँ, सपनामा झैँ कुनै पनि आतिथ्य र सत्कार थिएन। साँघुरो कोठाको एककुनाको सोफामा बसाई स्टिलको गिलासमा साधारण पानीले आतिथ्य गर्नासाथ मन कुँडियो। सपनामा झैँ चौरासी व्यञ्जनको आतिथ्य पाउने आशा लिएको मैलै त्यसको कुनै सुरसार नदेख्दा आक्रोशले मनमस्तिस्क छोपिसकेको थियो।
विशेष व्यक्ति भएको हुँदा अन्यले आफूसँग गर्ने दुःख, पीरमर्का सो व्यक्तिसमेत सुनाइरहेको थियो। उसले भनेको एउटै वाक्य “पैसा नभएर जीवन मरणको अवस्थामा पुगिसकेँ हजुर!” सम्म सुनेँ तर म भित्रको चाकडी र सम्मान नपाएको आक्रोशले कुनै वाक्य, शब्दको अर्थ बुझ्ने क्षमता गुमाइसकेको थियो।

केहीबेरको त्यो बसाई मेरा लागि दन्किरहेको चितामा बसेसरह महसुस गराइरहेको थियो। केही क्षणमा त्यहाँबाट केही नबोली निस्किएँ र सोही सवारीमा चढेर अगाडि बढेँ।

यस बीचका सम्पूर्ण घटनापरिघटनामा एउटै कुरा प्रधान रहे:- मैले सम्मान पाइनँ, सत्कार पाइनँ, चाकडी पाइनँ। भ्रमणबाट फर्किएसँगै मलाई चाकडी नगर्ने सो व्यक्तिको उछित्तो काढ्ने र आफ्नो शक्तिको प्रभावले भष्म पार्ने दृढ अठोट कसेँ।
जीवनमरणको अवस्थामा पुगेँ भनेको त्यो व्यक्तिको कारूणिक क्रन्दनभन्दा आज मलाई चाकडी नपाएकोमा औधी क्रोध आइरह्यो। सवारीले दुरी तय गरेसँगै समय बित्दै गयो तर चाकडी नपाएको झोँक र आक्रोश उस्तै नै रहिरह्यो… ।

प्रतिक्रिया
Loading...