हिमाल ओसिरिस

आफ्नो सम्पूर्ण परिश्रम, पसिना, अनि प्राण खर्चिएर आफ्नै लगनशील हात र कूचीले केही समयअघि एउटा रङ्गीबिरङ्गी पुतली क्यानभासमा सृजना गरेको थिएँ ।

हेर्दै जीवित जस्तो लाग्ने त्यो रङ्गीबिरङ्गी पुतली अस्तिको दिनदेखि क्यानभासमा देख्दिनँ । कोठाको एक कुनामा रित्तो क्यानभास मात्रै अर्कै पुतलीको आशमा प्रतीक्षारत एक्लै बसिरहेको छ ।

हिज…………………………………………………..

मध्यरातको समय एकदम छिप्पिएको गाढा रात थियो । थुप्रै सपना निलो समुद्रको गहिराइमा रमाई-रमाई पौडी खेलिरहेका थिए । यस्तै रमणीय अवस्थामा निलो समुद्र अकस्मात् रगतैरगतमा परिणत भैदियो । क्षणभरमै सबै सपनाका प्राण एकै स्थानमा एउटै चिहान भयो । म निस्सासिँदै बिउँतिएको थिएँ । बिउँतिदा पसिनैपसिनाले भिजेको थिएँ । मुटुको धड्कन पनि बढिरहेको थियो ।
कसैले ढोका ढकढकाएको आवाज सुनेँ । मनको झयालबाट चिसो पस्यो । ढोका ढकढकाइरह्यो । मनको ढोकाभित्र भयङ्कर डर पस्यो ।

मैले बिस्तारै ढोका खोलेँ । पूरै खोलेँ । मैले जे देखेँ । कत्ति पनि डराइनँ ।देख्नेबित्तिक्कै किन हो, डर बिलाएर गयो ।
हेर्दा भनूँ या देख्दा भनूँ उनी नौ/दश वर्षीया बालिका थिइन् । उनी एकदम अनटाइडी फोहोर देखिए पनि पोखिएका जूनका प्रकाशमय थोपाले उनी सजिएकी हुँदा सुन्दर देखिएकी थिइन् । उनका अँजुलीमा एउटा रङ्गीबिरङ्गी पुतली जूनकीरीझैँ उज्यालो छरेर बसिरहेथ्यो ।

पुतली कोठाभित्र प्रवेश गरेर आफ्नै तालमा तलमाथि उडिरह्यो । बालिका भने भित्र कुर्सीमा बसेर आफ्ना मनमा गुम्सेर बसेका बह मेरा सामु पोख्न थाली ।

“मेरो नाम नानुमाया हो । घरमा सबैको प्यारी । मम्मी ड्याडीको त झन् कति प्यारी, एक मात्रै छोरी । अस्तिको दिन थियो । गाउँकै दाइहरूले के-के के-के दिन्छु भन्दै कसैले नदेख्ने ठाउँमा लगेर के-के के-के गरेर ढुङ्गाले हानेर मलाई मारेर झयाङघारीमा फालिदिए । मम्मी ड्याडी मेरो चिन्ताले अहिलेसम्म नै कति रोइरहनुभएको होला ।”

मन मनमा सोच्न थालेँ, “नानुमाया त जिउँदै देख्छु । कि उसको प्रेतात्मा मात्रै हो ? मध्यरातको समय पनि छ । फेरि मकहाँ चाहिँ किन आएकी ? उसकै घर गएकी भए हुन्नथ्यो र ?”

फेरि मेरो मन भित्रैबाट एकदम चिसो भएर आयो र भयङ्कर डर पस्यो तर यो डर पनि त्यति धेरै बेर टिक्न पाएन । अनि हतार हतार “अब सुत्नुपर्छ है, नानु” भनेर उनलाई मेरो आफ्नै ओछ्यान देखाएँ । कुर्सीबाट निस्केर ऊ सरासर ओछ्यानतिर गई । ओछ्यानमा ढल्कनेबित्तिकै ऊ निदाइहाली । कोठाभित्र उड्दै गरेको रङ्गीबिरङ्गी पुतली पनि उनैको छेउमा गएर बस्यो । सायद पुतलीलाई पनि अचाक्ली निद्रा लागेको हुनुपर्छ ।

म चाहिँ मेरो स्टडी रुमको भुईँमा डस्ना ओछ्याएर ठूलो सास फेरेर मनमा अनेक कुरा खेलाएर पल्टिएँ । एउटा कुरा मैले थाहा पाइसकेको थिएँ । त्यो रङ्गीबिरङ्गी पुतली अस्तिदेखि मेरो क्यानभासबाट हराइरहेको जीवितजस्तो देखिने त्यै पुतली हो तर नानुमाया चाहिँ जीवित हो या होइन, केही थाहा भएन ।

आज बिहान………………………………………..
नानुमायालाई ढुङ्गैढुङ्गाले हानिरहेको थियो । ऊ चिच्याइरहेकी थिई । म अत्तालिँदै बिउँतिएँ । समयले मिर्मिरे बिहिनी डाकिसकेको रहेछ । म हतार-हतार मेरो बेडरुममा गएँ । ओछ्यानमा हेरें । नानुमाया देखिनँ । रङ्गीबिरङ्गी पुतलीलाई पनि देखिनँ तर रङ्गीबिरङ्गी रङ्गका धुलाहरू ओछ्यानैभरि देखेँ । म निकै बेर अवाक् भएर उभिरहेँ ।

अहिले……………………………………………………………………
त्यही रङ्गीबिरङ्गी रङ्गका धुलाहरूले रित्तो क्यानभासमा नानुमायाको एक सुन्दर तस्बिर सृजना गर्ने जमर्को गरिरहेको छु । कतै उनी पनि रङ्गीबिरङ्गी पुतलीजस्तै जीवित हुनेछिन् कि ?