चन्द्रकला पूर्णिमाको चन्द्रझैँ उज्याली थिइन् । बुवा आमाकी एक्ली छोरी पढाइमा पनि निकै तेज थिइन् । सबैको नजर उनैमा थियो । उनलाई जन्मघरबाट चाँडै अनमाइयो । अनुशासित र मर्यादित उनी पराईघरमा कहिल्यै असल कहलाइनन् । अधुरा सपना, पढाइ पूरा गर्ने उनको लक्ष्य मूल्यवान् समयसँगै बगिरहेको थियो ।
समय अगाडि बढ्दै थियो ।
अचानक ! माइतीबाट निम्तो आयो, काकाको घरमा पुराण छ जाऊ रे ! यस्तो सन्देश सुनेर हत्त न पत्त माइत गइन् । पुराण त! बहाना मात्र रहेछ। बुवा सिकिस्त बिरामी भएर मुख हेर्न बोलाइएको रहेछ ! उनी
झसङ्ग भइन् । आमा तील, जौ, कुश, लिएर पानी समाउँदै ! बुवाको हातमा गाईको पुच्छर बाँधिएको डोरी! दशदान,
बैतर्नी हुँदै रहेछ ! तिमी झ्यालको छेउबाट हेर, भित्र जान हुन्न अपवित्र हुन्छ भन्ने आज्ञा भयो । एक्लो सन्तान छोरी
आएको होहल्ला अचेत बुवाको कानमा गुन्जियो र बिस्तारै आँखाको ढकनी खुले र चारैतिर हेरे । झ्यालबाट “बुबा”
भन्दै आवाज लगाइन् । बुवाका आँखा फेरीिबन्द भए । उनलाई बुवाको नजिक जान, नाडी समाउन दिइएन, छुन हुन्न
भन्ने चर्चा भयो । शोक गर्दै घर फर्कन बाध्य भइन् । भोलिपल्ट खबर आयो छिटो जाऊ रे ! बुवाको अन्तिम दर्शन गर्न !
यस्तो सुनी, मुटुको धडकन ढक ढक गर्दै हात पाउ टेकेर माइती पुगिन् । बुवालाई घाटमा लगिसकिएको रहेछ !
ब्रह्मनाल तकिया लगाएका बुवालाई अँगालो हाली समुद्री आँधीझै आँसुले भिजाउँदै घोप्टे परी मूर्च्छा परिन् । “न छो ! न
छो!” कतैबाट भन्ने आवाज आइरहेको थियो यस पटक उनी सम्हालिनन् र अन्तिम श्रद्धाञ्जलि दिइन् । त्यस बेला
उनको रजस्वलाको दोस्रो दिन चल्दै थियो ।
विराटनगर-४
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।