विनोद नेपाल

 

समाजमा उनको राम्रो इज्जत थियो । धनको, पदको वा ज्ञानको कुनै दम्भ थिएन । उनी सामाजिक काममा निस्वार्थ रुपमा खट्थे ।

समाजमा प्रिय थिए । नराम्रो काम नगरेकाले समाजमा उनको सम्मान र इज्जत थियो ।

सधैँ ठाडो शिर गरेर हिँड्ने उनी एकाएक टाउको निहुराएर हिँड्न थाले । देख्नेहरु आश्चर्यमा परे ।

कुनै गाह्रो अप्ठ्यारो परेर हो कि ? स्वास्थ्यमा केही समस्या पर्यो कि ? छिमेकीहरु उनलाई यस्तो देखेर परस्पर भन्न थाले ।

कसैले उनलाई भेटेर र कसैले फोनमार्फत भन्नथाले, ‘हजुर जस्तो व्यक्तिलाई जस्तोसुकै सहयोग गर्न पनि तयार छौं, अचेल किन हजुरको शिर ठाडो छैन, हामी हजुरको शिर सधैँ ठाडो देख्न चाहन्छौँं ।’

जवाफमा उनी भन्थे, ‘ त्यस्तो केही होइन, परे भनिहाल्छु नि, मेरो जे जे भने पनि सबै तपाईँहरु नै त हो, आफ्नो ठाउँ छाडेर यतै बस्न थालिहालियो, ओहदा भनेको त केही समयको लागि न हो जिन्दगीभर कहाँ रहन्छ र ? सधैँ चाहिने समाज हो । यहाँहरुले सहयोग नगरे कस्ले सहयोग गर्छ र ?’

‘तर हजुर कताकता अप्ठ्यारोमा परेजस्तो, हामीसँग पनि कुराकानी गर्न अरुचि राखेजस्तो, हामीले अलि फरक महसुस गरिरहेका छौँ हजुर’ छिमेकीहरु भन्थे ।

‘केही होइन, केही होइन’, उनी पन्छिन खोजिरहे ।

‘हैन हजुरले भन्नैपर्छ, केही अवश्य भएको छ’,एक छिमेकीले जिद्दी गरे ।

नभनी नहुने अवस्था आएपछि उनले असहज मान्दै भने , ‘हेर्नुस् न राष्ट्रका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने परम्परा अनुरुप यस वर्ष सम्मानित व्यक्तिहरुको सूची सार्वजनिक भएको रहेछ, त्यसमा मेरो नाम पनि परेछ ।’

‘राम्रै त भयो हजुर, बधाई छ ।’ ‘यहाँहरु जस्ताले नै त हो सम्मान पाउनुपर्ने’ ती छिमेकीले भने ।

‘हो त्यो त,तर यसपाली पनि त्यही परम्परा धानिएछ । ……. सँगै म पनि सम्मानित हुनपुगेछु । मलाई त यो खबर सुनेँदेखि कालो सूचीमा परेजस्तो पो महसुस भैराख्या छ ।’