
जेबी खत्री
सबै भन्दा बढी त म खुसी भएको थिएँ । त्यति धेरै खुसी किन भएँ ? त्यो त आफैँलाई पनि थाहा छैन । त्यसै खुसी थिएँ म । तमोर नदीको किनारमा तिनीहरू पाल टाँगेर बसेका रहेछन् । हामी मध्यको कुनै एउटाले भन्यो,उ त्यहाँ घुमाउँनेको बगरमा गोराहरू पाल टाँगेर बसेका छन् । जाऔँ हेर्न ।
सेतो थुम्कोमा उभिएर हे¥यौँ हामीले । नदी किनारमा रङ्गी–विरङ्गी पाल टाँगेर बसेका थिए तिनीहरू । हामी गोठालो गएका थियौँ । वस्तुभाउ त्यहीँ छोडेर हामी हिँड्यौँ बरालिन तिनीहरू भएतिर । छेउमा तिनीहरू चढेर आएका ३÷४ ओटा नाउ खर्केका थिए । ती पनि रङ्गी–विरङ्गी रमित लाग्दै थिए । के गर्दा हुन् ती मान्छे त्यहाँ ? हामीलाई लागेको जिज्ञाशा थियो यो । अरू भन्दा पनि हामीलाई तिनीहरू चढेर आएका नाउ हेर्नु थियो । नदीमा वारिपारि गर्ने काठका नाउ देखेका हामी ती प्लाष्टिकका छरिता नाउ देख्दा तीन छक्क प¥यौँ । पहिलो पल्ट देखेको त्यस्ता नाउ । विदेशीको अनुहार पनि पहिलो पल्ट त्यहीँ हेर्दै थियौँ । तिनीहरू काँ हो काँ माथि नदीको शिरदेखि तिनै नाउमा चढेर बग्दैबग्दै आएका थिए । केही खानेकुरा खाँदै रहेछन् ।
हामी तिनीहरूको नजिक पुग्ने वित्तिकै तिनीहरूले हाँस्दै हामीलाई नमस्कार गरे । विदेशीले पनि नमस्कार गर्न जानेको ! भनेर त्यतिबेलै हो म बढ्ता खुसी भएको । आज भन्दा ४० वर्ष पहिले देखेको त्यो विदेशीको अनुहार अहिले पनि म सम्झिरहेको छु । सायद कसैले मलाई नमस्ते भनेको पनि त्यो नै हो पहिलो पल्ट । कुरामा कुरा आए । हेर तिनले पनि कति मजाले जानेको नमस्ते गर्न ! भन्दै हामी त्यहाँबाट फर्केका थियौँ । विदेशीहरू भेटघाटमा एक–अर्का बिच हात मिलाउँछन् ,अङ्कमाल गर्छन् भन्ने कुरा त मलाई धेरै पछि मात्र थाहा भयो । हिँजोआज त विदेशीहरू पनि एक–अर्कामा भेटघाट हुँदा नमस्ते नै गर्न थाले छन् ।
हिँजोअस्ति मैले सूचना स्क्रिनमा देखेँ । विदेशी नागरिकहरूले पनि एक–अर्कामा भेटघाट हुँदा हात नमिलाई,अङ्कमाल नगरि नमस्ते गरेर शिस्टाचार गरेको । कोरोनाले गर्दा नमस्ते त विश्वव्यापी पो भइसकेछ । यो पटक भने ४० वर्ष पहिलेको जस्तो खुसी नलागेपनि त्यत्तिकै गौरव भने लाग्यो । यो त हाम्रो सँस्कार मात्र नभएर नेपालीको पहिचान पनि पो हो त ।
कोलमुनि



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

