वसन्त अनुभव

सडक छेउको चिया पसलमा बसेर चिया पिउदै थिएँ। दौरा सुरुवाल कोटमा सजिएका एक हुँल मान्छेहरू पसलमा छिरे। चिया अर्डर गरे । अघि जुठो गिलास माझ्दै गरेको करिब दस वर्षको केटो चिया लिएर आयो।
चिया दिनै लाग्दा उसको हातबाट चियाको गिलास छुटी भुइँमा खसेर फुट्यो, चियाका केही छिटाहरू सुकिला मान्छेको सुरुवाल र जुत्तामा लाग्नपुग्यो ।
“साले ! राँडीको छोरा । आँखा पनि देख्तैनस् । सुरुवाल, भर्खर पालिस गरेको जुत्ता, सबै फोहोर बनाईदियो । अब बाल दिवस कार्यक्रममा कसरी जाने ?” सुकिला मान्छेको मुखबाट निस्केको शब्दले म आश्चर्यचकित भए भने केटो भयभित ।
हातमा छडी लिएर साहुजी प्रकट भए । ऊ झनै भयभित देखियो। ऊ लुगलुग कामिरहेको थियो । साहुले पनि मुखबाट अमृत वर्षाउँदै लठ्ठी नचाउन थाले । “साले खाते ! राम्ररी काम गर्न आउँदैन । अब फुटेको गिलासको पैसा कसले दिन्छ ? तेरो बाउले ?”
“रुक्नुस् साहुजी ! तपाईं बालकलाई किन पिट्नुहुन्छ ? जानीजानी गल्ती गरेको त होईन नि ?” मेरो आवाजले उसलाई केही सहारा मिलेको मैले अनुभव गरे ।
मैले रिसाउँदै अगाडि भने। “एक त नियम विपरीत बालमजदुर राख्नुहुन्छ, त्यसमाथि यो निर्मम कुटपिट? तपाईंको गिलासको पैसा कति हो ? भन्नोस् म दिन्छु।”
बालकको उद्दार गरेर खाने, बस्ने, पढ्ने सुविधा सहितको बालगृहमा राखिदिएँ । आजभोलि म बालश्रम अन्त्य गर्ने अभियानमा लागेको छु ।
घोराही उपमहानगरपालिका १४, दाङ