साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तीन लघुकथा श्रृंखला -४९

१ . पहिलो लघुकथा
(दोलखा क्षेत्रको पहिलो लघुकथाकार)

सोचाइ

श्रीबाबु कार्की उदास

श्रीबाबु कार्की उदास

छिमेकीले घरको तला थप्यो । ऊ खासखुस गर्न थाल्यो – “हेर, बुढी पल्लो घरकाले कहाँ राम्रैसंग टाँचा मारेछन, नत्र कहाँ यति चाँडो तला थप्नु ? रुखमा पैसा फल्दैन क्यारे, पोहोर मात्रै …..!”
“चुप लाग्नोस् छिमेकीले ‘डाह’ गरे भन्लान ।” श्रीमतीले श्रीमानलाई सम्झाइन् ।
केही समय नबित्दै छिमेकीले महंगो कार किनेर घर भित्र्याए ।
यतिबेला उसकी श्रीमतीले छिमेकीको ‘डाह’ गर्दै भनी “- तपाईं त भन्नू हुन्थ्यो पल्ला घरकाले कता राम्रैसंग टाँचा मारेछन । हेर्नुस् त , पल्लो घराँ कार पनि पो किनेछन ।”
“- म भन्दै त थेँ नी । उसै कसले जोडन सक्छ यत्रो सम्पत्ति ?
– घरको तल्ला
– गाडी, अहो फेरि एकै बर्षमा !
छिमेकीको प्रगतिका बारेमा श्रीमान् श्रीमती खास-खुस गर्दै थिए ।
उत्तिनैखेर उनिहरुको सानो छोरा खुशी हुँदै दौडदै आएर आमा बाबालाई सासै नफेरी भन्न थाल्यो-
” बाबा !
बाबा !!
आमा!
आमा !!”
हाम्रो पल्लो घरमा कति राम्रो गाडी किनेर ल्याउनु भएछ । अब त हामी पनि गाडी चढ्न पाउने भयौं है ?
वाउ ! क्या मज्जा ।”
– उसले खुशी हुँदै भन्यो ।
बाबा आमा एकाअर्कामा आँखा लगाउदै थिए । पुनः छोराले भन्यो ।
“- निकेशको बाबाले पर्सि स्याटर-डे मलाई पनि निकेशसंग घुमाउन लैजाने रे ।
बाबा आमा झनै झस्किए र प्रश्न सूचक आँखा एक अर्कामा लगाइरहे ।

###
(दोलखा क्षेत्रमा लघुकथा लेख्ने पहिलो व्यक्तिको रुपमा श्रीबाबु कार्की उदासलाई चिनिन्छन् । उनीले वि.सं.२०६० मा “समय र बाछिटा” लघुकथाकृति प्रकाशन गरेका छन् ।
श्रीबाबु कार्की उदास साहित्यको अन्य बिधामा पनि कलम चलाउँछन् । तर उनको मुख्य विधा लघुकथा नै हो । उनी उचाइले मात्र अग्ला हैनन् उनको लेखनको पनि छुट्टै उचाई छ । सुन्दर हस्ताक्षर भएका श्रीबाबुले लामै समय साहित्यपोष्टमा स्रष्टाहरूको रचनालाई आफ्नो कुसल हस्ताक्षरमा सजाउने नियमीत स्तम्भ पनि चलाए । उनी लघुकथा समाज नेपालको केन्द्रीय सदश्य पनि हुन् ।
प्रस्तुत लघुकथा “सोचाई” यथार्थवादी कथा हो । मान्छेका बारेमा वयस्कहरूको सोचाई र बालसुलभ मनको मनको सोचाईमा कति फरक हुन्छ भन्ने प्रष्ट्याउने प्रयास गरेका छन् । यस्ता कथाहरू बस्ती बस्तीमा देख्न पाइन्छ ।)

२. व्यापक काल

त्यो बौलाहा

शेषमणि आचार्य

हेर न आज पनि त्यसले एउटा कापी नै धुजा धुजा पारी चेतेछ।पाटीमा बसेको बौलाहाबारे घनश्यामले कुरा लगाए।
मलाई पनि आश्चर्य लाग्यो।पहिला त पत्याइनँ, भोलिपल्ट पनि यही कुरा दोहोरियो । लेख्या छ च्यात्या छ । नजिक गएर हेर्न खोज्दा उसले दिँदैन । बलजफ्ती गर्न कसैले आँट गरेनन् ।यसरी नै केही दिन बित्यो । मैले उसलाई बेला बेलामा चेक गर्ने सोच राखेँ ।
“नमस्कार कविज्यू !”
ऊ मुसुक्क हाँस्यो । दाँत पनि राम्रा देखेँ । हाँस्दा उसको मुहारमा बेग्लै कान्ति छाएको देखिन्थ्यो ।तर उसले लेखेको च्यात्न छोडेन । म नजिक गएर हेर्ने साहस पनि गरिनँ । ऊ दिनभरि त्यहीँ बस्थ्यो लेख्थ्यो,च्यात्थ्यो ।
“यो त बौलाहा हैन!”;मैलै भनेँ । सबैलाई मैले भनिरहेँ । उसको नगिच जाने आँट कसैले गरेन।
एकदिन उसलाई भनेँ – “नमस्कार कविज्यू!”
उसले मलाई नमस्कार पनि फर्कायो आज त, तर केही जवाफ दिएन, लेखिरह्यो ।
“ए,नानी! चिया लेऊ न!” –मैले नजिकैकी होटेलकी नानीलाई भनेँ। एकछिनपछि चिया आयो,दुई कप।विचार गर्न उसलाई दिँदै भनेँ- “कविज्यू ,चिया पान गरम्!”
ऊ मतिर हेर्दै मुस्कुरायो।उसले चिया लियो ।
मेरो उसँग यसरी नै संगत भै रह्यो ।
“तिम्रो घर कति टाढा छ?” -उसले सोध्यो। आश्चर्य चकित हुँदै मैले भनेँ- “ऊ त्यही हो ।” इसाराले देखाएँ ।
उसले भन्यो- “मलाई केही घण्टा तिम्रो घरमा शरण दिन्छौ?”
म झन् दङ्ग परेँ,ऊ मसँग खुल्दै गयो । मैले उसलाई मेरो घरमा लगेँ । एउटा कोठामा राखेँ । उसले कापी कलम लिएर केही लेख्न लाग्यो। उसलाई बेला बेलामा चिया दिन घरमा लगें ।।ऊ दुई घण्टा जति बस्थ्यो, केही लेख्थ्यो जान्थ्यो, तर अचेल लेख्ने च्यात्ने गर्न छोड्यो । कापी झोलामा राख्ने गर्न लाग्यो।एकदिन ऊ केही लेख्दै थियो । उसको छुट्टिने बेला भएछ ।हतार हतार लेखोट झोलामा राख्दै ऊ निस्क्यो । हतारमा उसले एउटा लेखोट छोडेछ । मन मानेन चोरी आँखाले हेरेँ ।
म दङ्ग परेँ ।
यो मान्छेको अक्षर पनि कति राम्रा, छापा जस्तै । मैले पाना पल्टाएँ । उसका गजल पढेँ । कथा,कविता, लघुकथा सबै ।
भोलिपल्ट ऊ आयो र सोध्यो-
“ओइ,मेरो एउटा कापी छुटेछ,देखिनस् ?”- मैले जस्ताको तस्तै दिएँ र भनें –
“तपाईं किन लेख्दै च्यात्दै गर्नुहुन्छ?”
“क्यार्ने त राखेर के काम ? कसले हेरिदिने ? मेरो कोइ समालोचक पाठक आफ्नो छैन ।
हेर् केटा, तँ पनि बौलाहा होस् । तैँले बौलाहालाई माया गरिस्, । तैँले समय चिन्न सकिनस् । तँ पनि बौलाहा !”

###
(नेपाली लघुकथाको ६० को दशकलाई व्यापक काल भनिन्छ । यही समयमा नेपाली लघुकथाले व्यापकता पायो । हो, यही समयको सुरुवाती समयदेखि शेषमणि आचार्य नेपाली लघुकथामा उदाएका हुँन् ।
शेषमणि मूलत: कवि हुन् । उनका कविताका दुई कृतिहरू प्रकाशित पनि छ । तर यसो हुुदाहुँदै पनि उनी आख्यान र निबन्ध पनि लेख्छन् । राजनीति, शिक्षण र लेखन उनको रुचीको विषय हो । उनी कुसल साहित्यिक संगठनकर्ता पनि हुन् । पछिल्लो पटक शेषमणि आचार्य लघुकथा समाज, गण्डक प्रदेशको उपाध्यक्ष हुन् ।
प्रस्तुत लघुकथा “त्यो बौलाहा” साहित्यप्रतिको गजबको व्यङ्ग मिश्रित लघुकथा हो । साहित्यमा अधिकाम्शको लेख्ने र थन्काउने काम भइरहेको देखिन्छ । पाठक, समीक्षक र समालोचकहरूको अभावमा साहित्यकार बौलाहाको रुपमा रुपान्तरण भएको यथार्थ लघुकथाकार शेषमणि आचार्यले प्रष्ट्याउने प्रयास गरेका छन् ।)

३. मलाई मनपरेको लघुकथा

अत्तर

बाबुराम न्यौपाने “उत्स”

एकसमय एशियाको मध्येभागमा संसारभर नाम र ख्याति कमाएका प्रतापी राजा थिए।उनले आफ्नी प्यारी रानीको लागि झीलको किनारमा फूलको भव्य बगैंचा निर्माण गर्न लगाएका थिए।
राजारानी बेलाबेला बगैंचाको आनन्द लिनजान्थे।
तर किन हो केही दिनपछि राजारानी छेउमा गएभने फूलहरु परपर सर्न थालेका थिए।रानीलाई यसको आभाष भएको थियो।
रानीले फूलहरुलाई सोधिन् !
” ए !! सुन्दर फूलहरु हामी आएपछि तिमीहरू किन निराश अनुहार पारेर टाढाटाढा जान्छौ हँ ? ”
एकछिन फूलहरु चुपलागे।हावाको तरङ्गको सहारामा केही संदेश छरे।
फेरि सबैले एकैस्वरमा भने।
” महारानी हामी परपर जानुको कारण तपाईंहरुको शरीरबाट आएको अत्तरको नाकपोल्ने पीरोगन्ध हो। हामीलाई हुर्काउने बढाउने र हेरचाह गर्ने मालीको शरीरबाट आएको पसिनाको गन्ध अत्तरको गन्धभन्दा कति मीठोमीठो।”

###
(बाबुराम न्यौपाने उत्स पुराना स्रष्ट हुन् । निरन्तर साहित्य सृर्जना उनको धर्म हो । नेपालको प्राकृतिक नगरी इलामको वातावरणमा रहेर उत्सले अनगिन्ती लघुकथाहरू लेखिरहेका छन् । उनी साहित्यपोष्टले प्रत्येक हप्ता सञ्चालिन लघुकथा प्रतियोगिताको एक विजयी पनि हुन् ।
प्रस्तुत लघुकथा “अत्तर” स्वैरकल्पनामा आधारित कथा हो । यस लघुकथाले कृतितामा भुल्नुभन्दा यथार्थ र आफ्नै मेहनतमा भूल्न प्रेरणा र उत्साह भर्छ । लघुकथा कालजयी छ । यस्ता लघुकथाहरूले हाम्रो लघुकथाको उचाई बढाउन ठूलो सहयोग गर्छ ।)

प्रतिक्रिया
Loading...