पीपी कोइराला

ध्रुव र उषा सानै कक्षादेखि मिल्ने साथी थिए । उनीहरूको
घर टाढा टाढा भए पनि स्कुलमा  भेट हुन्थ्यो । पढाइलेखाइमा उनीहरू एकअर्काका साह्रै सहयोगी थिए । एकदिन अचानक ध्रुव घाँसको भारी  बिसाउँदै बाटामा थचक्कै बसेको उषाले अलि परबाटै देखी । ध्रुव लाजले भुतुक्कै भएको र आफू नदेखिन घाँसको भारीले छेलिएर अर्कापट्टि फर्केको उषालाई थाहा भयो ।
उषाले नजिकै गएर ध्रुवलाई कोट्याउँदै भनी, “के लजाको?घाँस काट्दा पनि लजाउनुपर्छ?अपराध गर्न पो लाज मान्ने।”
फेरि हाँस्तै भनी, “घरका सबै काममा लाज नमान्नू । म पनि त भाँडा माझ्छु, बढार्छु, लुगा धुन्छु तर लजाउँदिनँ त ! अनि हिजो किन स्कुल नआको?” ध्रुव जबाफ नदिईकन मुस्कुराउँदै टोलाइरह्यो । उससँग यसरी मीठो बोलिदिने र सम्झाइदिने अरू कोही केटीहरू थिएनन् । उषाले यसरी  मीठोसँग बोलिदिँदा ऊ मक्ख नै परेको हुन्थ्यो । ऊ उषालाई मनमनै साँच्चैको मायाँ पनि गर्न थालिसकेको थियो ।
हुन त भर्खरै आठ कक्षामा पुगेका उनीहरूको मायाँप्रीतिको उमेर त थिएन । तैपनि ध्रुव एकोहोरिएको थियो ।
ध्रुवले एसएलसी पास गऱ्यो उसले मनको कुरा खोल्नुपऱ्यो भनी उषालाई एकान्तमा भेट्न भन्यो । अन्य विषयमा नगई सिधै
भेट्नेबित्तिकै फिल्मको पाराले हात समाउँदै भन्यो,-“आई लभ यु उषा ।”
तर तुरुन्तै उ रन्थनिँदै पर हुत्तियो ।
उसको गालामा डाम बस्ने गरी झापड हानेर उषाले भनी,”ध्रुव! तँलाई मैले असल मित्र सोचेकी थिएँ र शृङ्गारबोधले भरिएको मायाँ गरेकी थिएँ । तँ त फटाहा रहेछस्,
यौनतृप्तिको मायाँ खोज्दो रहेछस् ।”
अनि नबोली सुँक्कसुँक्क गर्दै घरतिर लागी ।

 

धरान–१३