विष्णु पादुका

सन्तोष पाँचौँ कक्षा पास भयो । उमेर बढ्यो । नयाँ कुरा देख्न-सुन्न थाल्यो । अरूको कुरामा ध्यान दिन्थ्यो । आमाको आग्रहमा उसले अर्को स्कुलमा पढ्नुपर्ने भयो । त्यो कुरा उसले बुझेन । आमासँग प्रतिप्रश्न गर्ने उसको बानी नै थिएन ।
स्कुलमा पहिलो दिनमै कक्षा छ मा “बा” शिर्षकमा कविता लेख्न भनियो ।
उसले आफ्नै पारामा कविता यसरी लेख्यो ।
“मेरा बा मलाई
कत्ति मन पर्दैनन्,
आमा भन्छिन्
बा मजस्तै छन्
म बाजस्तै छु
तर मलाई मेरा बा
मनै पर्दैनन्,
उनी आमालाई पनि
मायाँ गर्दैनन्
मलाई पनि मायाँ गर्दैनन्
मेरा बा साह्रै अल्छी छन्
घरको ढोकामाथि बसेका बा
त्यो भित्ताबाट कहिल्यै सर्दैनन् ।”
नेपाली पढाउने गुरु आमा कविता पढ्दै रोएको देखेर सन्तोषले सोध्यो, “किन म्याम तपाईँका बा पनि यस्तै अल्छी छन् ?”
कक्षामा मौनताले लामो समय लियो ।
– कागकोट ,डोल्पा ।