अप्सरा आचार्य

ऋषिपञ्चमीको दिन पूजा लगाउने तयारी हुँदै थियो । टोलको सप्तऋषिको मन्दिर परिसरमा टोलछिमेकका सबै महिला दिदीबहिनीहरू मिलेर पूजा लगाउने भनेर ठिकठाक पर्छन् । पल्लो घरकी सुन्तली दिदी पनि आफ्नी बिस वर्षकी छोरीलाई पूजामा सहभागी गराउने भनेर लिएर आइन् । रजस्वला भैसकेपछि हरेक महिलाले पञ्चमीको विधिवत्  पूजाआजा गरेर  कर्कलो र भात खाई व्रत बस्ने प्रचलन छ हाम्रो हिन्दू संस्कारमा । हाम्रा आमा हजुरआमा सबैले यसै गर्दै आउनुभयो अनि हामीले पनि निरन्तरता दिँदै आएका छौँ ।

पूजा सम्पन्न भइसकेपछि पण्डितजीले पञ्चमिको कथा सुनाउन थाल्नुभयो । कथामा महिनावारी भएकी महिलाको कस्तो कस्तो रूप हुन्छ व्याख्या गर्दै भन्न थाल्नुभयो । रजस्वला भएको पहिलो दिन स्त्री चण्डालिनी हुन्छे । दोस्रो दिन बृह्मघातिनी तथा तेस्रो दिन धोबिनीको समान अपवित्र हुन्छे । चौथो दिन नुहाइ धुवाइ सकेर शुद्ध हुन्छे । रजस्वला भएका बेला छोइछाइ गर्दा पाप लाग्छ अनि वर्षभरि गरिएको पाप पखाल्नका लागि पञ्चमीको पूजाआजा गरी व्रत बसिन्छ भन्ने कुरा कथामा आयो । यति कथा सुनिसकेपछि सुन्तली दिदीको छोरी आज्ञा जुरुक्क उठ्छिन् र भन्छिन्, “पण्डितजी  हामीले रजस्वला भएर के पाप गरेको छौँ र यहाँ पाप पखाल्ने कुरा हुँदै छ । अनि हामी महिलालाई पर सरेका बेला दिएका उपनामहरूले यहाँ महिलाको खिल्ली उडाएको रहेछ । प्रकृतिको नियम हो रजस्वला हुने । हामीले किताबमा पढेको कुरा गर्ने हो भने यो एक स्वाभाविक प्रक्रिया हो जसरी शरीरबाट दिशा, पिसाब र  पसिना निस्कन्छ त्यसरी नै महिलाहरूको शरीर परिपक्व भएपछि रजस्वला हुन्छन् । यो प्रकृतिको नियमलाई पाप भनेर जबरजस्ती धर्म गराउन खोज्नु धर्म को गलत व्याख्या हो । मैले  रजस्वला भएर न कुनै पाप गरेँ र अब न मलाई यो पापसँग जोडिएको कुनै धर्म नै गर्नु छ । वातावरणमा एक छिन सन्नाटा छाउँछ । सबै मुखामुख गर्छन् ।

इमाडोल ललितपुर