युवती भनेपछि हुरुक्कै हुने कृष्णले जिन्दगीमा दर्जनौँ काण्डहरू मच्चाइसक्यो । गाउँका केटाहरूले त्यसै उसको नाम ‘बोका दाइ’ राखिदिएका होइनन् । स्कुल पढ्दापढ्दै एउटी केटीलाई पेट बोकाएपछि गाउँलेले उसैसँग बिहे गराइदिए । त्यसैबाट जन्मिएकी छोरी अहिले हुर्केर ठुली भैसकी । कृष्ण आफैँ ३५ नाघिसक्यो तर उसका चर्तिकलाहरू भने अझै रोकिएनन् ।
कृष्णकी स्वास्नीलाई उसका सारा काण्डहरू थाहा छ । आजकल पनि कृष्ण अनेकौँ युवतीहरूसँग राति फेसबुकमा कुराकानी गर्ने गरेको र तिनीहरूसँग लुकीछिपी भेटेर रासलीला मच्चाइरहेको कुराबारे समेत ऊ अवगत छे । लोग्नेलाई पटक-पटक गाली गर्ने, सम्झाउने प्रयास पनि उसले नगरेकी होइन तर यौनमत्ता कृष्णले उसलाई कहिल्यै टेरेन । बिचरी स्वास्नी, एक्ली हुँदी हो त सायद भागेर जान्थी होली तर आफ्नी छोरीको मायाँले त्यसो गर्न पनि सकिन ।
सधैँझैँ त्यस रात पनि कृष्ण रक्सीको नशामा हल्लिँदै घर आयो । कोठा छिर्नासाथ सुतिरहेकी आफ्नी स्वास्नीलाई लात्ताले हिर्कायो । स्वास्नीले केही थाहा नपाएझैँ गरी । “हैन, मरिस् कि क्या हो रन्डी!” स्वास्नीलाई सराप्दै कृष्ण खाटमा डङ्ग्रङ्ग पल्टियो । गोजीबाट मोबाइल झिक्यो र फेसबुक खोल्यो । नोटिफिकेसनको घण्टी बज्यो । “काण्ड संसार” नामक एक फेसबुक ग्रुपमा भर्खरै कसैले पोस्ट गरेको रहेछ । “नयाँ नेपाली यौन काण्ड!!!” लेखिएको पोस्टको तल एउटा भिडियोको लिङ्क पनि राखिएको थियो । रक्सीले मातिसकेको कृष्ण उक्त पोस्ट देख्नासाथ रौसियो । उभित्र बेत्तोडले कामोत्तेजना बहन थाल्यो, शरीरका तन्तुहरू एकाएक सल्बलाए ।
कृष्णले आफ्नो एउटा हात पाइन्टभित्र छिरायो र अर्को हातले उक्त भिडियोको लिङ्क थिच्यो । भिडियो चलेको केहीबेरमै उसको मुहारको रङ्ग फेरियो । उसका आँखा थरथराए, ओठमुख सुके, हातहरू काँपे । कृष्णको होसहवास उड्यो, त्यस भिडियोमा देखिएकी युवती उसकी आफ्नै छोरी थिई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।