त्यसदिन त्यहाँ महिला सङ्घ सङ्गठनहरूको सक्रियतामा “भ्रूणहत्या एक सामाजिक अपराध” विषयक कार्यशाला गोष्ठीको आयोजना हुँदै थियो । गोष्ठीको प्रमुख अतिथि थिइन् महिला अधिकारवादी ‘दुर्गादेवी’ । अन्य वक्ताहरू बोलिसकेपछि उनको पालो आयो । त्यसपछि मन्तव्य राख्दै उनले भनिन्– ‘महिलाअधिकार हनन र भ्रूणहत्या एक अक्षम्य सामाजिक अपराध हो, महापाप हो । …, यस्तो निन्दनीय कार्यमा सम्लग्न जो कोहीलाई पनि कडाभन्दा कडा सजाय दिएर राज्यले त्यस किसिमको जघन्य अपराध हुनबाट रोक्न सक्नुपर्दछ । समाजमा छोरी चेलीहरूले सकुशल जन्मन र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्दछ । यसो गर्नका निमित्त मलाई यहाँहरू सबैको सक्रिय साथ र सहयोग चाहिन्छ । त्यसैले यो अभियानमा जुट्नका निमित्त म यहाँहरू सबैलाई हार्दिक अपिल गर्दछु ।’ मन्तव्य श्रवण गरिसकेपछि सहभागीहरूले परर्र ताली पिटे र कार्यक्रमको अन्त्यसँगै आआफ्ना गन्तव्यतर्फ लागे ।

दुई छोरीकी आमा दुर्गादेवी स्वयम् दोजियाकी थिइन् । कार्यक्रम समापनपश्चात् सरासर घर नगईकन उनी मेडिकल लाइनतिर मोडिइन् र एउटा क्लिनिक अगाडि पुगेर झ्याप्प कार रोकिन् । सायद हिजोअस्ति नै एप्वान्टमेन्ट लिइस केकी थिइन् क्यार, क्लिनिकमा पसेर गर्भ परीक्षण गराइन् । यसपटक पनि गर्भमा छोरीकै भ्रूण हुर्किरहेको थाहा लाग्यो । मनमा अनेकानेक कुरा खेलाउँदै उनी घर पुगिन् । उनलाई मात्र होइन यता सिङ्गो घर परिवारमै छोराको चाहनाले जबरजस्त डेरा जमाएर बसेको थियो ।

“ल त राम्रोसँग जानुहोला है म्याम ।”
“हस्, बहिनी ।”
“… साँच्ची म्याम, हजुर अस्तिको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो हगि ?” गर्भपतनपश्चात् क्लिनिकबाट निस्कँदै गर्दा रिसेप्सनिस्टले भनिन् ।

“अँ …,” मुन्टो हल्लाउँदै ढोका खोलेर दुर्गादेवी कारभित्र स्वाँट्ट पसिन् ।

 

जराङबेसी, गोरखा