” बुहारी! भोक लाग्यो होला आऊ खान।” सबैले खाइसकेपछी सासुले बुहारीप्रति प्रेमभाव दर्साइन् ।
सबै जना खाइसकेर गफ्फिँदै थिए ।
बुहारी अझै चुल्होचौका सफा गर्नमै व्यस्त थिई । “आमा म अहिले खान्नँ । अब उतै गएर खान्छु ।” बुहारीले इच्छा जाहेर गरी ।
सासु अचम्मित बन्दै -“कता उतै भनेको?”
बुहारीले पनि जबाफ दिई -“माइत!”
-“किन जानुपऱ्यो? तीजको दर यहीँ पाकिसक्यो । माइत गएर पनि त्यही खाने होला !” सासूले सहजै भनिन् ।
माइली आमाजू बिचैमा बोलिन् -“अँ…. हामी सब भेला भाका छौँ । आज त सबै जना यहीँ रमाइलो गर्ने विचार छ, नजाऊ आज ।”
यत्तिकैबीच -उसैकी (माइली आमाजुकै) फोनको रिङ्ग बज्यो । उठाइन् र के-के कुरा गर्न थालिन् । फोन राख्दै फतफताउन थालिन् ।-” कस्तो लाज पचेकाहरू? सधैँ बुहारीले कमारी बन्नैपर्ने?”

आमाले अतालिँदै सोध्छिन् ।-“किन रिसाकी छोरी,के भन्छन् घरकाहरू ?”

आचार्य प्रभा (अमेरिका)

ऊ आमालाई सुनाउँछे ।-“बल्ल तीजमा माइत आएकी । दिदी/बहिनी आउँदै छन् चाँडै घर आइज रे । लागिरा’छ पुच्छर ।”
केही समयपश्चात् ———-
-“ए बुहारी सबैलाई चिया बनाऊ त!” सासुले आदेश ठोक्छिन् ।
 बुहारीले आफ्नो कोठाबाटै भन्छिन् ।-“आमा मलाई पनि ढिला भइसक्यो माइत जान ।”
-“हैन यो के भन्छे ? घरभरि चेलीबेटी आका छन् । भोलि जाँदा हुन्न माइत ?”
बुहारीले जबाफ दिन्छे ।-“आमा हजुरले जस्तै, मेरी आमाले पनि तीजको दर पकाएर राख्नुभा छ रे छोरीलाई भनेर अनि हजुरका छोरीचेलीजस्तै म पनि माइतकी एक्ली चेली हुँ । आमाले हिजैदेखि बाटो हेरिर’नु भा’छ रे ।”
बुहारीको ठाडो जबाफ सुनेर सासू अवाक् बनेकी देखेर जेठी छोरीले भन्छिन् ।-“ठिकै हो आमा, बुहारी पनि हामीजस्तै कसैकी छोरी हुन् ।जसरी हजुरले हामीलाई मायाँ गर्नुहुन्छ । उस्तै मायाँ उसकी आमाले पनि गर्छिन् नि !”
जेठी छोरीको कुरा सुनेर सासूले बुहारीलाई भन्छिन् ।-“ल,ल जाऊ तर …….भोलि बिहानै आउनु नि!दिदीहरूलाई बिदा गर्नुपर्छ ।”
फेरि बुहारीले उस्तै जबाफ फर्काउँछे ।-“आमा मेरा त भाउजुहरूले मलाई बिदा दिइरहनु पर्दैन । उहाँहरू त हप्ता दिनलाई भनेर माइत गइसक्नु भएछ । माइली आमाजू त सासूको फोन सुनेर घर फर्किनुपर्छ भनेर कड्किँदै हुनुहुन्थ्यो त ! लागिराको छ पुच्छर ! भनेर ।”
बुहारीको जबाफ सुनेर सासूले मनन गर्छिन् ।-“हो हुन त आफ्ना छोरीचेली पनि  कसैकी बुहारी हुन् ।”
अनि सासुले अर्ध मुस्कान छर्दै भन्छिन् ।-“जाऊ चाँडो गरेर, आमाले तिम्लाई पनि पर्खिराख्नुभा’होला?”