“जेइ हाम्ले क्वटी कस बेला खाने हो ?” खेलेर आउनेबित्तिकै भुन्टेले आमासँग भन्यो ।
“के भन्च एले ? तो क्वटी भन्याको के होर है ?” आमाले अनभिज्ञता व्यक्त गरिन् ।
“खै तो मुखियाको नातिले भन्या, मिठो झोल हुन्च रे । केरौ, चना, अनि के के मिलार बनान्चन रे । छिटो बनौन् ।”
“हुन्च बनाम्ला । पैला तेरा बालै आन तो दे ।” छोरालाई आश्वासन दिएर शान्त बनाइन् । ‘
‘हाम्ले पनि क्वटी खाने, हाम्ले पनि क्वटी खाने” भुन्टे खुसीले फुरुङ्ग पर्दै बतासियो ।
काम गरेको ज्याला थापेर त्यही पैसाले भान्साको सामल लिएर आउँछु भनेर बिहानै निस्केका भुन्टेका बा अबेला भैसक्दा पनि फर्केका थिएनन् ।
भान्सामा गएर हेर्दा सबै भाँडा रित्तिएका थिए । एउटा भाडामा भने अलिकति पिठो थियोे । थोरै तेल राखेर पिठालाई भुटिन् । त्यसमा नुन बेसार पानी हालेर झोल जस्तो बनाइन् । त्यतिन्जेल भुन्टे क्वाँटी खान आइसकेको थियोे । तातो झोल सुरुप्प पार्दै भुन्टेले खुसी हुँदै भन्यो ।
“ओहो जेई क्वटी ता मिठो हुने रच । आब डिनडिनै एइ बनाऔँ है ।”
 दाङ