१. पहिलो लघुकथा
(पहिलो बालविषयक लघुकथा सम्युक्त संग्रह)

बुबाको खुसी

शेखरकुमार श्रेष्ठ

बाबु अफिसबाट फर्कनेबित्तिकै छोरी रमाले गर्वसाथ ढोकामा रोक्दै भनिन्, “बुबा ! म जिल्लास्तरीय कविता प्रतियोगितामा पहिलो भएँ । यी मेरो प्रमाणपत्र र नगद एक हजार रूपैयाँ ।”

बाबुले आलस्य स्वरमा भने, “ए ठिकै छ नि ! जाऊ, आफ्नै कोठामा लगेर राख ।”

रमा निराश हुँदै कोठामा गइन् । छोरी गएपछि आमाले सोधिन्, “अस्ति रमाकान्त बाबुले विद्यालयस्तरीय कविता प्रतियोगितामा छोरी दोस्रो हुँदा खुसीले लड्डु बाँडेका थिए । तपाईँले त छोरीलाई स्याबास पनि भन्नुभएन ।”

“स्याबासी त तिमीलाई दिनुपर्छ । तिम्रो कविता पहिलो भयो ।”

“ए त्यसो पो ! म छोरीलाई आफैँ गर्नुपर्ने कुरा सिकाउँछु त्यसोभए ।”

त्यसको महिना दिनपछि नगरले गरेको नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि केही लज्जित हुँदै रमाले भनिन्, “बाबा ! म नृत्यमा दोस्रो भएँ । यी प्रमाणपत्र अनि आठ सय रूपैयाँ । यसपालि म पहिलो हुन सकिनँ ।”

“नाच सरले सिकाउनुभएको होइन । ठिकै छ, हरेस नखाऊ । मिहिनेत गर,” छोरी खुसी हुँदै कोठामा गइन् ।

त्यसको हप्ता दिनपछि विद्यालयले खेलकुद प्रतियोगिता सञ्चालन ग¥यो । रमाले दौडमा भाग लिइन् । उनले जित्न सकिनन् । उनले बाबुलाई सहभागीको प्रमाणपत्र देखाउँदै भनिन्, “बुबा ! यसपालि भाग्यले साथ दिएन । मैले हारेँ । तर अर्कोपटकका लागि म आजदेखि मिहिनेत गर्छु ।”

“स्याबास छोरी ! त्यो प्रमाणपत्र मेरो कोठामा राख । आज म खुसी छु । तिमीलाई आज म मेरोतर्फबाट पुरस्काररुवरूप लड्डु खान दिन्छु ।”

बाबुले पसलमा गई लड्डु ल्याए अनि सबैलाई खान दिए । लड्डु खाएपछि रमाले सोधिन्, “बुबा, म पहिलो र दोस्रो हुँदा तपाईँ खुसी हुनुभएन तर आज हार्दा किन लड्डु बाँड्नुभयो ?”

बुबाले जवाफमा भने, “किनकि यसपालि तिमीले जित्ने तरिका सिक्यौ ।”

###
(पछिल्लो समय नेपाली लघुकथामा विषयगत लघुकथा संयुक्त संग्रहहरू प्रकाशनमा आउन थालेको पाइन्छ । यसै सिलसिलामा नमस्ते आधुनिक लघुकथा मञ्चले हालै “लघुकथाको सुगन्ध” मार्फत बालविषयक लघुकथाहरूको संयुक्त संग्रह प्रकाशन गरेको छ । यो नै नेपाली लघुकथामा पहिलो बालविषयक पहिलो लघुकथा संग्रह हो ।

“लघुकथाको सुगन्ध”मा १३३ जना स्रष्टाहरूको २३० वटा लघुकथालाई समेटिएको छ । यसैमघ्येका एक लघुकथाकार हुन् शेखरकुमार श्रेष्ठ । उनी शालीन र अध्ययनशील स्रष्टा हुन् । हालै उनीले विद्यावारिधि पनि गरेका छन् । शेखर कुमार लघुकथाको असल समीक्षक र सम्पादक पनि हुन् ।

प्रस्तुत संग्रहमा शेखरकुमारको फरक स्वादका ८ वटा बालविषयक लघुकथाहरू संग्रहित छन् । पाना नम्बर २०५ मा संग्रहित प्रस्तुत लघुकथा “बुबाको खुसी” नानी/बाबुहरूको आन्तरिक प्रतिभा जगाउने लघुकथा हो । यस लघुकथाले बालकलाई मात्र हैन अभिभावकलाई पनि गतिलो शिक्षा दिन सफल भएको छ ।)

२. व्यापक काल

सडक र रक्सी

टंकबहादुर आलेमगर

अनुशासित जीवन उठाउन उसले रक्सी, चुरोट, गाँजा, जुवा, तास, रण्डीबाजी, लागूपदार्थ यी तत्त्वलाई प्रमुख दुश्मनको रूपमा रातो चिह्न लगा’ छ मनको ठाँटीमा।

लोकसेवा सफलपश्चात् सोच्यो, ‘सरकारी मान्छे भइयो ।’

सार्वजनिक कार्यालयमा सरुवा भयो र त्यहाँ देख्यो कुनै सेवाग्राहीबाट कुनै ढिलो हुने कारण देखाएर पाइने बोनस या सरकारी समयपछिको सेवा शुल्क । थप सेकुवा र मस्ती झोल ।

खान्नभन्दा भन्दै फोकटको उपहार छोड्न चाहेन र रक्स्याहा बन्यो, घुस्याहा बन्यो ।

अर्को कार्यालय सरुवा भयो तर रक्याहा त हो, नखाए भात रुच्दैन, निद्रा लाग्दैन, कलम अक्षर चुहाउँदैन ।

छैनन् गोप्य फलाहार फल्ने बोट । निकै टाइट छ अचेल । डरमर्दो उस्तै सबैको हातमा मोबाइल, भिडियो रेकर्ड हुने भय । तलबबाटै इच्छा भर्न पर्यो ।

पश्चात् श्रीमतीको पनि काण्ठ बस्यो, मूल स्रोत नै सुक्न थालेपछि । छोराछोरीका फर्माइस अपुरो ।

कार्यालयदेखि घर र समाजकै घाँडो बन्यो ऊ ।

तलबले नपुगेर श्रीमतीको मंगलसुत्र चोरेर बेचियो । छोरीको छट्के तिलहरी । छोराको ल्यापटप । अझै धेरै धेरै छन्, रक्सी पसले साहु-साहुनीको उधारो ।

अचेल ऊ बाटोमा कुटिन्छ । घरको आँगनमा छोरोद्वारा र सुत्ने कोठामा श्रीमतीद्वारा कुटिन्छ ।

ऊ कराइरहन्छ, ‘कुट, सेर, छालै काढ तर मलाई एक गिलास रक्सी देओ । म हरेक अपमान, तिरस्कार र यातना सहन सक्छु ।’

यतिन्जेलसम्म नाता र कृपाबाट चलेको उसको जागीर पनि धराशायी भयो नयाँ हाकिम आएपछि ।

परिणाम : रक्स्याहाको सर्व परिवार सडकमा घुयेँत्रिन्छन् ।

छोरी तर्सन्दै बोल्छे ‘बुबाको भ्रष्टाचारको पापले रहेछ हाम्रो दिमागमा कुबुध्दि भरिएको । आज न उच्च शिक्षा, न सम्पत्ति, न इज्जत…।

छोरा आकाशतिर हेर्दै भन्छ, ‘यदि हामीले बुबाआमालाई तलबभन्दा बढी पैसा आउनुको स्रोत सोधेको भए ? हामीले टाउको भन्दा ठूलो टोपी नमागेको भए ?’

उसको श्रीमती रुँदै बर्बराउँछे, ‘काश मेरो श्रीमानलाई मैले भ्रष्टाचार गर्नबाट रोकेको भए….।’

ऊ भने बीच सडकमा उभिएर कराउँदै छ, ‘शक्तिको सगरमाथा पाउँछु । मात्र मलाई एक गिलास रक्सी देओ ।”

###
(नेपाली लघुकथाको ६० को दशकलाई व्यापककाल मानिन्छ । यही समयबाट नेपाली लघुकथाको पंङ्ख धेरै क्षेत्रमा फट्फटाएको हो । यही कालदेखि लघुकथाकार टंकबहादुर आलेमगर नेपाली लघुकथामा देखिएका हुन् ।

टंकबहादुर आलेमगर मगर भाषाको पहिलो लघुकथाकार पनि हुन् । उनी आफ्ना प्रायः लघुकथाहरूमा मगर संस्कृति प्रष्ट्याउने भावभङ्गी प्रस्तुत गर्छन् । उनी कुशल चित्रकार पनि हुन् ।

प्रस्तुत लघुकथा “सडक र रक्सी” घुस्याहा सरकारी कर्मचारीको कथा हो । लघुकथाकार टंकबहादुर आलेमगरले यस कथामा एउटा कर्मचारीको कम्तिमा लगभग २० वर्षको जीवनी उतारेका छन् । कथाले भ्रष्टको अन्त्य कारूणीक हुन्छ भन्ने सन्देश प्रष्ट दिएको छ ।)

३. मलाई मन परेको लघुकथा

पितृप्रसाद

विष्णु भण्डारी आचार्य

विष्णु भण्डारी आचार्य

कति भने रामचन्द्रले छोरालाई – “बाबु यो पितृप्रसाद हो, बेच्ने कुरा नगर, सरापै लाग्छ । हजुरबाले कति दुःख गरेर छोरानातिको लागि जोड्देको जग्गा हो, नाथे यति बेचेर शहराँ के नै काम टर्छ र, कहिलेकाहीँ आउँदै हेरदेख गर्दै गरौँला, कमाउन नसके यसो बालीविरुवा लाएर छोडेदिउँला बरु ।”

लाख कोसिस गरे बेच्न नदिन, जति सम्झाउँदा पनि उनको केही लागेन ।

अनपढको बुद्धि हुँदैन, मान्छे काँबाट काँ पुगिसके, गाउँमा कुवाको भ्यागुतो बनेर बसेको छ बसेको छ, न केहीको सुविधा छ,” जङ्गिन थाल्यो प्रवीण।

“ए त्यसो नभन न, सधैँ यस्तै मात्रै नरहला नि त, केही समयपछि कसो नआउला तैँले भनेको सुविधा पनि । शहरमा मात्रै खुम्चेर बस्ला त सुविधा?”

“हो, आउँछ, कति पुस्ता बितेपछि आउला नि, के गर्नु ?”

जग्गा कौडीको भाउमा बेचेर शहरतिर छोरासँग डोरिन बाध्य भए रामचन्द्र ।

गाउँको जग्गा बेचेर हात पारेपछि बाबुछोराबीच घरसल्लाह पनि हुन छोडेको थियो । जग्गा बेचेको लगभग दुई वर्षपछि नै, गाउँमा आयुर्वेद कलेज र ठूलो आयुर्वेद हस्पिटल खोल्न सरकारी योजनामा पर्यो । सरकारी टोली गाउँ पुगेर सर्वे गर्यो । फराकिलो टाहारबारीमा चैँ कलेज र हस्पिटल बनाउनको लागि, भिरालो र ओसिलो बाँकी जग्गामा औषधिजन्य बोटविरुवा लाउन रामचन्द्रले बेचेको जग्गालाई उपयुक्त ठहर्याइयो ।
योजना पास भएर काम पनि शुरु भएछ ।

केही दिनदेखि खटपटाइरहेको प्रवीण तीन दिनसम्म घर नआएको थाहा पाएर रामचन्द्रले बुहारीलाई सोधे, “हन परबिन काँ गो दुलही, दुई तीन दिन भो देख्दिन नि ?”

“ए, बुबा, हजुरलाई था छैन र ? उहाँ त गाउँ जानुभाछ त !”

“गाउँ ! हन किन गको रछ त त्यो छोडेको नाथे गाउँ ?

बुहारीले सिधै कुरा भन्दिइन्, “बुबा हामीले बेचेको जग्गामा त कलेज खुल्ने भो रे नि, त्यहाँ अलिकति किन्नुपर्छ पछि त्यो मालामाल हुन्छ भन्दै यहीँका अरु दुई तीन जना साथीहरूले भनेकोले जानुभाछ ।”

“ए, अनि किनो त ?”

“काँ बुवा, कति महङ्गो भो रे ! हामीले पहिले बेचेको असी रोपनी जग्गा हैन त बुबा?”

“हो नि त अनि।”

“त्यो बेचेर आएको जम्मै पैसाले पनि पाँचआनाको घडेरी टुक्रो नआएर अलिकति थप्नु परो अरे, त्यही पनि हामीले बेचेको भन्दा एक किलोमिटर पर, आज पास गर्न मालपोत जानुभाको छ अरे !”

###
(विष्णु भण्डारी आचार्य पछिल्लो समयमा राम्रो लघुकथा लेख्ने एक नारी हस्ताक्षर हुन् । हालै उनीको “फेसबुक आइडी” लघुकथा प्रकाशनमा आएको छ । उनी चोटिलो लघुकथा लेख्छिन् । विष्णुले शालीन पारामा आफूलाई प्रस्तुत गर्दै लघुकथाहरू लेखिरहिन् भने उनी नेपाली लघुकथामा बाँचिरहने छिन् ।

प्रस्तुत लघुकथा “पितृप्रसाद” पुस्तान्तरणको एक मार्मिक कथा हो । जब पुस्ताहरूबीच कुरो बाझिन्छ, त्यहा ठूलै गडबडी भेटिन्छ । कथाले माटोको सुगन्ध मनग्य बोकेको छ । कथामा झड्काको रुपमा पछुतो प्रष्ट देखिएको छ र त्यही पछुतोले जीन्दगीभर गजबको झड्का दिएको छ ।)