अङ्कुर चन्द

सानो बालक विद्यालय जान्थ्यो । सबैले बिरे नामले बोलाउँथे । ऊ चञ्चल थिएन, बदमास थिएन । सोझो थियो, गरिब थियो, जेहनदार, इमानदार थियो ।

बाटामा उसलाई देखेर ऊसँगै विद्यालय जाने उसैका दौतरीहरू जिस्क्याउँथे । “ऊ हेर उसको झुत्रे लुगा, फाटेको, टालेको, यसको बा आमाले नयाँ लुगा पनि नकिनिदिने ।” ऊ सुनिरहन्थ्यो मात्रै बस् केही बोल्दैन्थ्यो ।

विद्यालयमा पनि त्यही व्यवहारको सिकार हुन्थ्यो ऊ । ऊ आफ्नो बाटामा निरन्तर हिँडिरह्यो । जति विघ्न बाधाहरू आए पनि । उसलाई हेला गर्ने कुनै साथीलाई उसले नराम्रो दृष्टिले हेरेन ।

समय बित्दै गए । साथीहरू छुट्टिएर पढ्न अलग-अलग लागे ।

एकदिन विद्यालयले त्यस विद्यालयबाट पढेर गएका भूतपूर्व विद्यार्थीहरूको भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रम राख्यो । धेरै समयपछि बालसखा साथीहरू एकापसमा भेटिँदा खुसी साटे । आफ्नो प्रगतिका बारेमा कुरा गरे ।

कार्यक्रम सुरु हुने तयारीमा थियो तर बिरे देखिएन । सबैले बिरेका बारेमा पुरानै सोच बनाए  । कसैले साथीहरूको सामुन्ने झुत्रे भएर के जाऊँ भनेर न आएको होला भने कसैले गोठालो गा होला फुर्सद नभएर न आ होला भने । यस्तै विविध अड्कल गर्दागर्दै कार्यक्रम सुरु भयो ।

उद्घोषकले कार्यक्म अघि बढाउँदै प्रमुखअतिथिको आसन ग्रहणका लागि जिल्ला शिक्षा अधिकारी तथा यस विद्यालयका भूतपूर्व विद्यार्थी बिरेलाई आमन्त्रण गरे र बिरे मञ्चमा देखिएर सबैलाई अभिवादन गर्दै प्रमुखअतिथिको आसनमा थचक्क बस्यो ।

त्यति बेलासम्म सबै साथीहरूले  लाजले भुतुक्क भएर शिर निहुराएर बस्नेबाहेक केही उपाय देखेनन् ।