
डाेर बहादुर केसी
दलजित आन्दोलनले स्थापित गरेका नेता हुन् । उनकै नेतृत्वमा देशव्यापी सडक आान्दोलन चलेको थियो । उनीहरूको माग सुनुवाई नभएपछि अबको निर्णायक आन्दोलन सिंहदरबार केन्द्रित भएको थियो । देशभरका कार्यकर्ता काठमाडौँमा जम्मा भएका थिए ।
आन्दोलनमा पाँच जनाले ज्यान गुमाइसकेका थिए । सयौँ घाईइते भएका थिए । काठमाडौँको सभामा दलजितले घोषणा गरे “अबको हाम्रो धावा सिधै सिंहदरवारमा हुनेछ । जनताले यो हाम्रो झन्डा सिंहदरबारमा गाड्ने छन् । दुखी, गरिब, पीडित, मजदुर, असहायहरूले आफ्नो सत्ता स्थापित गर्नेछन् ।” आन्दोलनमा मारिएका सपुतहरूलाई सहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नेछौँ ।”
उनले चेतावनीको भाषामा भने “सरकारले आज रातिसम्म हाम्रो माग पूरा गरेन भने भोलि बिहान ठिक नौ बजे हामी सिंहदरबार घेराउ गर्नेछौँ । हाम्रो मागको अन्तिम छिनोफानो भोलिको आन्दोलनले गर्नेछ ।”
सरकारले बिहानसम्म पनि उनीहरूको मागबारे कुनै टेरपुच्छरै लगाएन । कार्यकर्ताले आजको आन्दोलनबारेमा छलफल गर्न दलजितलाई सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन । घरमै पुगे तर नेताज्यू हिजोदेखि घरमा नआएको जबाफ पाए । आफ्ना नेतालाई सरकारले बेपात्ता पारेको भन्दै आन्दोलनमा नयाँ नाराहरू थपिए । “सर्वाच्च नेताको रिहाइ गर ।” “मान्छे वेपत्ता पार्न पाइँदैन ।”
सिहंदरवार वरिपरि मानवसागर ओर्लियो । कडा सुरक्षाका बिच एउटा झन्डावाला गाडी साइरन बजाउँदै सिंहदरवारतर्फ आयो । आन्दोलनकारीले फालेको एउटा ढुङ्गा गाडीको पछाडिको सिसामा लागेर सिसा पूरै फु्ट्यो ।
झन्डावाल गाडीभित्र दौरासुरुवालमा सजिएका उनकै सर्वोच्च नेता दलजित थिए ।
गाडी हुइँकिदै सिंहदरबार छिऱ्यो । एकछिनमा मन्त्रीज्यूको पदभार ग्रहण गरे ।
मन्त्रीज्यूको पहिलो निणर्य थियो “देशको सुरक्षा प्रवन्धको लागि सबै विकल्पहरू प्रयोग गर्ने ।”
मन्त्रीज्यूलाई बधाईको वर्षा भइरह्यो । सडकमा सत्ता सुरक्षाका लागि गोलीको वर्षा चलिरह्यो ।
मदाने २ , गुल्मी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

