गीतु गैरे

 

ऊ भर्खर फुल्दै छे, उसको तनमा, मनमा जताततै काउकुती लागेको छ । केही उत्सुकता, केही चञ्चलता, केही शारीरिक फरकपनले उसलाई बच्चा रहिनको भान गराउँछ ।

अब उसका सपनाहरू विस्तारित हुन थाले । आकाङ्क्षाहरू बदलिन थाले ।

स्कुलका हरेक खेलको जित आफू र आफ्नै समूहको होस् भन्ने चाहने ऊ अब सबैको आकर्षणको केन्द्रबिन्दु बन्ने लालसामा हराउन थाली ।

उमेरसँगै एउटै अनुपातमा वृद्धि भ‌एको मोटाइ, उचाइ र चौडाइले उसको सुन्दरतालाई हरसम्भव बढवा गरे ।
समय अनुरूप उसको सपना र  लक्ष्य बदलिरहे ।

कहिले कलाकार, कहिले पत्रकार,कहिले डाक्टर, कहिले पाइलट, कहिले वकिल, कहिले लेखक, कहिले अधिकृत । यस्तै-यस्तै जो मान्छे चर्चित हुन्थे, उसैको सिको गर्थी । दुई चार दिनपछि आफ्नो वशको कुरा नभ‌एकाले आफैँलाई धिक्कार्थी ।

हरसम्भव मानिससँग सुझाव लिने गर्दथी ।

उसले पनि सबैको कुरा ध्यानपूर्वक सुनी, मनन गरी तर आफैँलाई सुन्न भुली ।
सबैको क्षमतालाई वाह गरी तर आफ्नो क्षमतालाई भने नजरअन्दाज गरी ।
चर्चित हुने लोभमा अरू हुन खोज्दा ऊ आफैँ हुन बिर्सी ।