
हिजोदेखि दुई शब्द हृदयमा गढेर बसेको छ । बारम्बार मनबाट मुखमा झुन्डिन आइरहेछ खोइ किन यो शब्दले मलाई अलमल्याइरहेछ । ‘बैगुनी बिउ’; के हो यो ‘बैगुनी बिउ’? के बिउ बैगुनी हुनसक्छ ? धेरै बेर सोचिरहेँ । माटाले लगाएको यो आरोप, बिउमाथिको आरोप ‘बैगुनी बिउ’ माटैलाई थाहा होला किन यसो भन्दै छ ? म उसैलाई सोध्न कौसीतिर जान्छु । गमला, बाल्टी, बट्टाबुट्टी, ड्रम सबै माटाले भरिभराउ छ । एक एक गरी सबै माटालाई हेर्छु, छाम्छु र अनुभूतगर्न खोज्छु कि कुन माटाबाट यो गुनासो आइरहेछ भनेर । अचानक झ्वाट्ट मेरो आँखा कुनामा रहेको एउटा ठूलो गमलामा पर्छ । कागतीको बोट लगाएको त्यो गमला जसको सानो चर्किएको भागबाट पानी रसाइरहेछ । म नजिक पुग्छु । माटो, पानी अनि कागतीको त्यो बोटको कुरो बुझ्ने प्रयत्न गर्छु । रसाएर बगिरहेको त्यो पानी अनायास मलाई कुनै कोप्चो आँखा अनि त्यसबाट चिप्रा मिसिएर बगेको आँसुजस्तै लाग्छ । हेर्दाहेर्दै त्यो गमला एउटा जीर्ण घरजस्तै अनि कागतीको बोट खङ्ग्रङ्ग सुकेको एउटा बुढो शरीर । एकैछिनको दिग्भ्रमपछि म फर्किन्छु । त्यो त गमला थियो; कागतीको बोट अनि चर्केको भागबाट रसाइरहेको धमिलो पानी । म अझ नजिक पुग्छु । त्यो परिवेशमा छिर्न खोज्छु अनि कागतीको त्यो बोटको कुरो सुन्ने प्रयत्न गर्छु, भन्या बुझ्ने कोसिस गर्छु । झट्ट बुझ्दिन । दायाँबायाँबाट आइरहेको आवाज, चराचुरुङ्गी परेवाको गुडगुड सबैबाट पर रहेर एकाग्र भएर सुन्न खोज्छु । तर अहँ! अझै सुन्दिन । मलाई त्यो माटाको आवाज सुन्न औधीहतार भैसक्यो । म थ्याच्चै भुईँमा बस्छु । आँखा बन्द गर्छु र भर्खर देखेको त्यो गमला, त्यसभित्रको माटो,कागतीको बोट अनि चर्केको भागबाट रसाइरहेको धमिलो पानीलाई आफ्नो स्मरणमा ल्याउँछु । अचानक म एउटा आवाज सुन्छु, माटो सुँक्कसुँक्क रोइरहेछ । सायद मेरो हृदयको स्पर्श ठ्याक्कै उस्को पीडाको पोखरीमा पर्न गयो र तरङ्गित भयो । म बिस्तारै उसैको भाषामा सोध्छु, “के भो तिमीलाई? के त्यो तिम्रै आवाज थियो कि हिजोदेखि बारम्बार मेरो कानमा ठोक्किने; ‘बैगुनी बिउ’?” ऊ भक्कानिँदै भन्दै जान्छे , “हो हेर त, कति वर्षदेखि लगाएको यो कागतीको बोटमा यसपालि एउटै कागती फलेन । किन थाहा छ ?” “खोइ के थाहा मलाई तिमी भन न ।” म उसलाई पोखिन भाँडो थापिदिन्छु । “कताबाट भौँतारिएर हो मेरो काखमा आएको,एउटा बिउलाई मैले आफ्नै पौष्टिक रस चुसाएर हुर्काए । हावापानी, आँधीहुरीले नउडाओस् र हतास भएर भौँतारिन नपरोस् भनेर थुपुक्क खोकिलामा छोपेर राखेँ । कागतीको बोटलाई घचेडेर हुर्किनका लागि ठाउँ फराकिलो गरिदिएँ । मैले त्यसलाई स्याहार र स्नेह दिन केही कसर छोडिनँ । हरेक साँझ म उसैको रेखदेख पछि थुपुक्क निदाउँथेँ र मेरा हरेक बिहानी उसैको शुभ आशामा सुरु हुन्थ्यो । कागतीको बोट त परिपक्व मजबुत भैसकेको ठान्थेँ । समयले आफैँ हुर्काउँदै, थेग्दै फल दिँदै थियो । यो अहिले मेरो शरणमा आएको बिउलाई मैले मलजलसँगै बचाएर हुर्काउनु छ भन्ने ठिक ठानेँ । आफ्नो सारा उमङ्ग, खुसी, आशा त्यहीँ बिउमा खन्याइरहँदा कहिलेकाहीँ मैले कागतीको बोटलाई अन्याय पो गरेँ कि भन्ने पनि नलागेको होइन तर तुरुन्तै दुवैको स्याहार हेरचाहमा अवस्थाअनुसारको सन्तुलन मिलाउँथेँ । यसो गरिरहँदा कहिलेकाहीँ चस्सचस्स दुख्ने नगरेको पनि काहाँ हो र त्यो बिउले घोचेर ! तर त्यसलाई मैले मातृत्वको सुखद पीडा सम्झेर रमाइरहेँ । किनकि मलाई पत्यार थियो बिउ फुट्छ, अङ्कुराउँछ र फल दिन्छ त्यसका लागि हो यो चसक्क चसक्क । अचानक एकदिन मैले थाहा पाएँ कि त्यो चसक्क दुखाइ त बिउको होइन रहेछ । बिउ त उहिल्यै उछिट्टिएर अर्को गमलामा सरिसकेछ । ऊ त त्याहाँसम्म पुग्ने बाटो खोज्दै मेरो काखमा आएको पो रहेछ । यो चसक्क दुखाइ त उसले खाली गरेर गएको ठाँउमा छिर्ने हावाको स्याँठ पो रहेछ । बिउ त अर्को गमलाको काँडैकाँडामा फैलिसकेको रहेछ र माथि-माथि हेदै जाँदा त त्यो हिजोको मेरो बिउ त अर्का लाहरालाई बचाउने रखवारी पो रहेछ । हेर, मलाई के थाहा त्यो बिउ यति बैगुनी छ भनेर । मलाई के थाहा त्यो बिउले मलाई यसरी घात गर्छ भनेर ! त्यसैको पीडाले म नराम्ररी चर्केकी छु र यी रसाएको चिज म रुदा आँसुसँगै बगेका मेरा सपनाहरू हुन् । यी हेर त ! तिमीले नै हेरी-सोधी गरेर मात्र भनेकी छु नत्र अरूका लागि त यो धमिलो पानीमात्र न हो । भैगो छोडिदेऊ यी कुरा । बैगुनी बिउसँगको मुखको तितो झारे पनि आखिर त्यसले पनि धर्म निभाएको होला । यसै गरी उछिट्टिँदै त्यहाँसम्म पुग्नु थियो । उसको नियतिमा मैले किन गुनासो गर्नु ? म त बाटो भएँ, म त समय भएँ उसको त्यहाँसम्म पुग्ने तर उसले छोडेर गयो भन्ने खुट्को रहिरहेको थियो । आज तिमिलाई बताएपछि भने मन हलुङ्गो भयो । चित्त बुझाएँ कि “माटाले धर्म निभाएकै हो, बिउले पनि धर्म निभाएकै हो । दुवै सँगै मात्र नभएका हुन् । आआफ्नो नियति, आआफ्नो धर्म, आआफ्नो कर्म फेरि केको गुनासो? को बैगुनी?” गमलामा पानी हाल्दाहाल्दैको मेरो हात टक्क अड्छ एकैछिन झसङ्ग हुन्छु, देख्छु कागतीको बोट लगाएको त्यो गमलाको चर्केको भागबाट धमिलो पानी अझै रसाइरहेको छ । उता केही दिनअघि सारेको बोडीको लहरा माथि-माथि गइरहेछ ।
मिनभवन



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










