“खायो,सुत्यो अनि यही फेसबुकमा नै झुण्ड्यो । दुई महिना हुन लागिसक्यो लकडाउन भएको । खाने र सुत्नेबाहेक अरु उपलब्धि छैन,” छोराको हातको मोबाईल खोस्दै आमाले भन्छिन् ।
“लौ ! संसार भरिका सबैजनाको काम नै त यही सुत्ने, खाने र फेरि सुत्ने यही त छ आमा,” हाँस्दै भन्छ छोरो ।
“हेर , पल्लो घरको राकेशलाई रातदिन राहतको सामान लिएर दौडिरहेको छ । एकछिन घरमा छैन । यही बेला त हो नि समाजमा गर्ने भनेको । हरेक पत्रपत्रिकादेखि अनलाइनमा उसकै प्रशंसाको खबरले भरिएको छ । अझ ठूलो कुरा गर्छस् तँ ? सिक् केही भए पनि ऊसँग,” जङ्गिदै आमा तरकारी किन्न ढोकातिर लाग्छिन् ।
त्यहीबेला उनकै घरको बाटो भएर पुलिसको गाडी अगाडि दौडिन्छ ।
“अब फेरि कुन विचरालाई दुई घण्टा बाटोमा उभ्याउने भए मोराहरुले,” कौतुहल स्वरमा घरको छेउमा उभिएकी छिमेकीलाई सुनाउँछिन् ।
“केको हुनु दिदी ! पल्लो घरको छोरा छ नि राकेश, उसैलाई समातेर चौकी लगेका होलान् नि ! राहतको सामानको टेण्डर मिलाइदिए बापत पसलेसित कमिसन लिँदालिँदै समातेको रहेछ नि ! के नपुग्दो थियो र यस्तो बेला पनि….!”
लामो सुस्केरा हाल्दै छिमेकी बोल्छिन् ।
रातो अनुहार पारेर माथि झ्यालबाट तल हेर्दै गरेको छोरालाई हेर्छिन् उनी ।

धुम्बाराही, काठमाडौँ