
१. पहिलो लघुकथा
(लघुकथालाई व्यापकीकरण गर्ने स्रष्टा)
पृथक् बाटो
श्रीओम् श्रेष्ठ रोदन

श्रीओम श्रेष्ठ ‘रोदन’
रातको दश बज्न लागेको थियो । बाटामा केही बत्तीहरू जलेका र केही फुटिसकेका थिए । शून्यता र अन्धकारले वातावरण भयावह बनेको थियो । मैले अँध्यारोलाई चिर्न शून्यतालाइ भङ्ग गर्न गीत गुनगुनाएँ । भय मबाट अलि पर सर्यो ।
अकस्मात नारी अस्मिता रक्षार्थ चीत्कार गुन्जियो । म रोकिएँ र बहादुर बनेर आवाज आएको ठाउँमा गएँ । एउटा युवती आफ्नो कुमारित्व बचाउन युध्दरत थिइन् । सिकारीसँग केही क्षण घम्साघम्सी गरेँ र युवतीलाई जोगाएँ । सिकारी मुखसम्म आएको सिकार गुमेको रिस लिएर भाग्यो ।
युवतीको चोलो च्यात्तिएको थियो । आधा साडी फुस्किएको थियो । दया लाग्यो र कोट फुकालेर लगाइदिएँ । फ़ेरि आक्रमण हुन सक्ने ठानेर घरसम्म पुर्याउन गएँ । बाटोमा उनले आफू नर्स भएको बताइन् ।अस्पतालको ड्युटी सकेर फर्केकी रे ! एकान्त र एक्ली हुनाले आक्रमणमा परेकी रे ! उनी भाग्नबाट असफल भए पनि बलात्कृत हुनबाट बचेकी थिइन् ।
घरको दैलोमा पुगेपछि उनले लगाइरहेको कोट फुकालिन् ।आभार प्रकट गर्दै लगाइदिइन् र भनिन् – “तपाईंलाई दुःख भयो ।”
मैले भनेँ -“तपाईंको रक्षा गर्न सकेँ, यो सुख हो ।”
उनी मुसुक्क मुस्कुराइन् र आँखा भुइँमा घोप्टाउदै भनिन्, “भित्रै आउनुस् न, म एक्लै छु।”
###
(नेपाली लघुकथालाई व्यापकीकरण गर्ने प्रमुख श्रेय स्रष्टा/सम्पादक श्रीओम श्रेष्ठ रोदनलाई जान्छ । ४० को दशकसम्म चुपचाप अघि बढिरहेको लघुकथालाई ५० को दशकबाट श्रीओम श्रेष्ठ रोदन र उनको समूहले फैलाउँदै हाल देशको सातै प्रदेश लगाएत विश्वमा नेपालीभाषी रहेको ठाउँ पुर्याउने काम गरिरहेका छन् ।
स्रष्टा रोदन मूलत: सम्पादक हुन् । उनी कुशल निबन्धकार पनि हुन् । जब उनले सुस्त अवस्थामा रहेको लघुकथामा आँखा लगाए र काम गर्न थाले त्यसपछि उनी लघुकथाकार हुँदै लघुकथाको संगठनकर्ताको रुपमा पनि चिनिए । लघुकथा समाज नेपालको गठन गरी रोदनले आफ्नो अगुवाईमा नेपाली लघुकथालाई व्यापकता दिन लघुकथामा सम्मान, पुरस्कार, गोष्ठी, अन्तरक्रिया, प्रशिक्षण र प्रकाशन एकैसाथ अघि बढाएका छन् । प्रत्येक वर्षको भाद्र महिनाको पहिलो हप्ता साप्ताहिक रुपमा देशैभरि लघुकथाको विविध कार्यक्रमहरू गरिन थालिएको छ ।
सबै विचारसँग मिल्न सक्ने स्वभावका धनी श्रीओम श्रेष्ठ रोदनका एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशनमा आएका छन् । वर्षमा दुई/तीन वटा पुरस्कार/सम्मानले विभूषित रोदन नेपाली लघुकथालाई जागरण गराउने महानायक हुन् ।
प्रस्तुत लघुकथा “पृथक् बाटो” समाजमा सुनिएकै विषयमा लेखिएको सरल कथा हुँदाहुँदै पनि यसको अन्त्य नसोचिएको छ । कथाले अदृष्य नारी तृष्णा बोकेको छ ।)
२. व्यापक काल
उसको डायरी
मिलन समीर

मिलन समीर
बाटोमा हिँड्दै थिएँ । मेरा दुवै आँखा बाटोको छेउमा मिल्किएको डायरीजस्तै लाग्ने वस्तुमा गएर ठोक्किए । नजिकै गएर नियालेर हेरेँ । पुरानो डायरी नै रहेछ । उठाएर त्यसलाई हातमा लिए । त्यसमा लागेको धुलोमैलो टक्टक्याए, पुछपाछ पारेँ । भित्रपट्टिको पहिलो पाना खोलेर हेरेँ । त्यहाँ निकै राम्रा अक्षरमा लेखिएको थियोे –
” … मलाई अहिलेसम्म कसैले बुझ्ने प्रयास नै गरेनन् । मेरो मनभित्रको मनमा लुकेर रहेको एउटै त के आधाको आधा कुरा पनि कसैले बुझेनन् । मेरो इच्छा के हो भनेर अहिलेसम्म कोही कसैले सोध्दै सोधेनन् । मेरो उन्मुक्त आकाङ्क्षाको आकाशमा लागिरहेको कालो बाक्लो बादल कहिल्यै फाटेन । मेरो रुचिको बारेमा कसैले कुनै चासो राखेनन् । घरमा अनि स्कुलमा पनि । घरमा सबैले खाली पढ् कि पढ् भनेर गाली मात्रै गरिरहे ।
स्कुलमा त झन् कुरै नगरौं । जुनसुकै सर, मिस र मेडमहरू कक्षा कोठाभित्र पस्यो कि – रिसाएको जस्तै गरी एकोहोरो मलाई नै घुरेर हेरिरहने उनीहरूको नियमित दैनिकीजस्तै बनिसकेको थियोे । निकै लामो समय लगाएर भर्खरै पक्राउ परेको कुनै खतरनाक अपराधीलाई प्रहरी अफिसरले हेरेजस्तै गरी हेरिरहन्थे, मेरो कक्षाकोठाभित्र पढाउन भनेर आउने प्रायः सर , मिस र मेडमहरुले । व्यवहार पनि प्रायः त्यस्तै गरिरहे मसङ्ग । जस्तो व्यवहार प्रहरीले निकै खतरनाक अपराधीहरुलाई गरिरहेको हुन्छ ।
हो म पढाइ – लेखाइमा कमजोर थिएँ । यो कुरालाई म स्वीकार गर्छु । तर पढाइ – लेखाइबाहेक स्कुलमा नियमित रूपमा हुने अतिरिक्त क्रियाकलापहरूमध्ये कुनैमा पनि म कमजोर थिइनँ । त्यो कुरालाई कसैले पनि कहिल्यै बुझ्दै बुझेनन् । बुझ्नै खोजेनन् । अतिरिक्त क्रियाकलापमा निकै कमजोर देखिएका भएर पनि पढाइ – लेखाइमा सिपालु साथीहरू सम्पूर्ण सर, मिस र मेडमहरूको आँखाको कसिंगरजस्तै भएँ । पढाइ – लेखाइमा निकै कमजोर भएको हुनाले त होला अतिरिक्त क्रियाकलापमा सदैव अगाडि आउन सफल हुने म कसैको पनि आँखाको नानी हुनै सकिनँ ।
पढाइ – लेखाइमा सधैं पछि पर्ने मेरो कुनै रहर थिएन । मेरो आफ्नै बाध्यता थियोे । मलाई त्यस्तो बाध्यतामा पुर्याउने अरु कोही नभएर मलाई कक्षा – एकदेखि पढाउने सर , मिस र मेडमहरु नै थिए । जसले मलाई राम्रोसँग बुझाएर कहिल्यै पढाइदिएनन् । अझ भनौं उनीहरूले मलाई राम्रोसँग बुझाएर पढाउन कहिल्यै सकेनन् । आफ्नै पोल खुल्ने डरले उनीहरू सदैव डराइरहे । आफ्नो कमीकमजोरीको बारेमा अरुले थाहा पाउछन् कि भनेर आत्तिइरहे । आफ्नै बारेमा खुलेर कुरा उठाउछन् कि भन्ने त्रासले आतंकित भइरहे । त्यसैले त तातोभुत्लो केही नजान्दा – नजान्दै पनि नाम मात्रैको परीक्षा , त्यो पनि लिए जस्तै गरी मलाई माथिल्लो कक्षामा जबर्जस्ती धकेलिरहे । मभित्र लुकेर रहेको पढाइ – लेखाइ बाहेकको विशेष क्षमताको कदर कहिल्यै गरेनन् । त्यसलाई प्रस्फुटन गराउनुको सट्टा सदैव निमोठिरहे । कुल्चिएर हिंडिरहे … ।
मलाई आज यसरी घर न घाटको बनाइदिएर अलपत्रै पारिदिए … । आफ्नै जीवनदेखि विरक्त बनाइदिएर मलाई अकालमै मर्न बाध्य बनाइदिए … ।
उसको डायरीमा अझ धेरै कुरा लेखिएको थियोे तर यहाँभन्दा अगाडि पढ्ने हिम्मत मैले जुटाउनै सकिनँ ।
###
(नेपाली लघुकथामा ६० दशकलाई व्यापक कालको नामले पुकारिनु पर्छ । यही समयदेखि नेपाली लघुकथाले व्यापकता पायो । यही समयमा उदाएको हुन् स्याङ्जाका मिलन समीर ।
नेपाली लघुकथा लेखनमा मिलन समीर गम्भीर र सशक्त लघुकथाकारको रुपमा चिनिन्छ । उनीका लघुकथाहरू समसामयिक विषयमा केन्द्रित हुन्छन् । त्यसो त समीर लघुकथाको समीक्षक पनि हुन् । लघुकथाको साङ्गोपाङ्गो अध्ययन/अध्यापन र विवेचनामा पनि गम्भीर चासो राख्छन् उनी । मिलन समीर लघुकथा समाज, गण्डकी प्रदेशको सचिव पनि हुन् ।
प्रस्तुत लघुकथा “उसको डायरी” बालमनोविश्लेषणात्मक छ । बालकलाई केवल “पढ् पढ्” को शैलीमा गाली गरिरहँदा अभिभावक र शिक्षकभित्र भएको कमजोरी लुकाउने प्रयास भने भइरहेको हुने नयाँ कुरो कथाले उजिल्याएको छ । कथा मर्मस्पर्शी छ ।)
३. मलाई मन परेको लघुकथा
रक्सी
वन्दना घिमिरे

वन्दना घिमिरे
दुई वर्ष शहरमा दशैं मनाउदा ज्यादै खल्लाे लागेर यसपालिको दशैं आफ्नै गाउँ घरमा मनाउने विचारले गाउँ आयाैँ । पुग्दा झमक्क साझँ परिसकेको थियाे । यसपालि त गाउँमा पनि उस्तै – न त पिङ छ , न केटाकेटी नयाँ लुगा लगाएर फुर्किदै यताउता गरेका छन् । धन्न जाँगरिला युवाहरूले घर चाहिँ पाेतेर चिटिक्क पारेका रहेछन् । सयपत्री ढकमक्क फुलेकाे र पाकेकाे धानकाे बास्नाले मनै हरर भयाे ।
यसाे गाउँ घुम्न जाउँ भने पनि शहरबाट आएकाे भनेर केही भन्ने पाे हुन् कि भन्ने चिन्ता । आँगनमा यत्तिकै घुमिरहेकी थिएँ, नयाँघरे खरदार्नी बज्यैले के छ हालखबर भन्दै बाेलाउनु भएकाले आँगनकाे डिलमा उभिएर बाेल्दैथिएँ । खर्दारबा र उहाँका भाइ चाेकतिरबाट आउनुभयाे । “ए नानी कहिले आएकाे ? के छ हालखबर ?” भन्दै आउँदा त मुख परैबाट गन्हाएकाे ।
हे भगवान ! दुई वर्ष अगाडि टिबी रोगले थला परेर झण्डै भगवानको प्यारा हुन आँटेका बुढा बालाई खर्दार्नी बज्यैले शहरमा लगेकाे । सँगै गएर डक्टरकाेमा जँचाएर एक वर्षकाे औषधि किनेर गाउँ पठाएको । एक वर्ष औषधि र तागतिलाे खुवाएर ठिक पारेर डक्टरकाेमा लगेकाे । डक्टरले अबदेखि रक्सी चाहिँ नछुनु नि बा भनेकाे । एक्कै पटक दिमागमा फनफनी घुम्याे ।
अनि बज्यैकाे नजिकै गएर भने, “आमा के हाे बुबाले त फेरि शुरु गरेकाे जस्तो छ त ? हजुरले यसाे संम्झाउनु पर्थ्याे नि ! ”
अलि हेपेकाे जस्तो गरेर दुईवटै हातले लाेप्पा ख्वाउलाझैँ गरी उनले भनिन्, “आ ! नानी हुन्देउ, तिम्रा बुढा पाे त कमाई नहुने अफिसका अधिकृत, पैसा कमाउनेले त खाई हाल्छन् नि रक्सी !”
###
(वन्दना घिमिरे पछिल्लो समय नेपाली लघुकथामा सक्रिय भएकी लघुकथाकार हुन् । उनी सरल र सिधा तरिकाले नेपाली समाजका संगति/विसंगतिको चित्रण गर्छिन् । वन्दनाको प्रायः लघुकथाको बीजवाक्य चोटिलो र पोटिलो हुन्छ ।
प्रस्तुत लघुकथा “रक्सी” मा वन्दनाले पछिल्लो समयको गाउँघर र चाडबाडको चित्रण गरेकी छन् । कथाले चरित्रको छायाँ/छवि उतारेको छ । कथाको बीजवाक्यले कथालाई पुरै युटर्न गर्नै भौतिकतामा लिप्त नारीको चरित्र चित्रण पनि गरेको छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

