बजारको मुख्य चोकमै रमलाको ठुलो सिलाइ पसल थियो । फेसनदार सिलाइका लागि खुब कहलिएको उक्त टेलरिङ सेन्टरले रमलालाई खुब पोसाएको थियो । सधैँ खचाखच भिड लाग्ने सहरका फेसनदार युवतीहरूको आवतजावतले उसमा अभिमानको पारो खुब चढेको थियो । ऊ आफूलाई एउटी अब्बल फेसन डिजाइनरको पङ्क्तिमा राख्दथी । छेवैमा साइँली दमिनी पनि एउटा मेसिन राखेर यसो पुराना फाटा टालटुल गरेर जीविका चलाउँथी ।

अचानक रमलाको आवाजले साइँली झस्की । “साइँली के गर्दै छौ? अब भोलिदेखि त पसल खोल्न नपाइने रे । भोलि बिहान एकछिन मेरोमा आऊ है ! एउटा सानो काम छ ।” साइँली अचम्मित भई । कैले मिठो मुखले नबोल्ने रमला ।  सधैँ हेपाहा प्रवृत्तिले आफूलाई व्यवहार गर्ने आज किन बद्लिई ?” भनेर ऊ छक्क परी, “किन छक्क परेकी ? आऊ है ।” फेरि रमलाले आदेश जमाई ।

साइँली भोलिपल्ट बिहानै गई रमलाकोमा । रमलाले आग्रहको साथ भनी,  “भित्रै आऊ न, किन बाहिरै उभिएकी ? ” रमलाको बदलिँदो व्यवहारले अचम्मित हुँदै केही असहजताका साथ साइँली बैठक कोठामा पसी ।

भुईँमा केही थान कपडाहरू छरिएका थिए । रमलाले ती कपडाहरू देखाउँदै भन्न थाली , “साइँली अब हाम्रो त बाती नै बस्ने भो । अब कामधाम बन्द भएपछि कसरी गुजारा चलाउने ? त्यही सम्झेर मैले अब घरमै तिमीलाई मास्क बनाउन लाएर सप्लाई गरूँ भनेर बोलाको ।”

साइँली केही बेर मौन बनी र सोच्न थाली ।  विगतका उसका अपहेलित व्यवहारहरू जसलाई, साइँलीले,  “हातको काम चाहिँ मलाई दिनू न मेरो पनि गुजारा हुन्छ ।” भन्दा रमलाले हेपाहा प्रवृत्तिले भन्ने गर्थी । “मेरोमा कस्तो कस्तो डिजाइन लाउनेहरू आउँछन् । मेरा ग्राहकको चित्त बुझाउन त गाह्रो छ । मैले मेरो ग्राहक भड्काउनु छैन तिम्रो भर परेर” भन्दै उसलाई दुत्कारेकी थिई । अझ साइँलीलाई उसको पसलछेउ उभिँदा पनि जातै जान्छ जस्तो गर्थी ।

तर आज त्यही महिलाले आफूलाई आग्रह गर्दा, उसलाई पनि म गर्दिनँ भनूँ कि जस्तो लाग्यो तर उसले झट्ट सम्झेर भनी, “हेर्नुहोस् रमला दिदी म यो काम गर्दिन थेँ । पहिला तपाईँले मलाई गर्नुभएको व्यवहार सम्झिँदा तर म तपाईँको तुच्छ व्यवहारलाई बिर्सेर सारा नेपालीको सुरक्षाका लागि पनि गर्छु । यो मेरो कर्तव्य हो आफूले जानेको सिपले देश र जनताको भलो हुन्छ भने किन नगर्नु ?”

साइँलीको उच्च सोचको कुरा सुनेर रमला निःशब्द बन्दै विगतको आफ्नो व्यवहार सम्झेर लज्जित बनी ।