पुण्य कार्की

बन्दाबन्दीमा छ बस्ती । बन्दाबन्दीमै छन् चोक र बजारहरू । गिरिबन्धुको चियापसलबाहिरबाट बन्द छ तर भित्र बिहानबिहानै चियाप्रेमीको जमघट चल्छ । प्रायः सरकारइतरका दलसित सम्बन्धित मान्छेहरू मनको तीतो पोख्तै चिया सुर्क्याउँछन् ।
‘क’आफ्नो कथन सुरु गर्छ–“इतिहासकै नालायक सरकार ! जनतालाई दूध दिन सक्तैन । हेर्नू न तीन दिन भो, घरमा दूधविनाको चिया पिएको……. अनि यो सरकारले यो गर्छु ऊ गर्छु भनी के गफलाउनु !”

‘ख’ सुरिन्छ– “दोकानमा बजारमा टमाटर सकिएको कति दिन भो था’छ तपाईँहरूलाई ? म त चटनीको भोगी मान्छे ! विनाचटनी भाग बस्न पनि मन लाग्दैन । निकम्मा सरकारले जनताको भान्सामा टमाटरसम्म पुऱ्याउन सक्तैन । लाजछैन सरकार चलाउनेहरूलाई ।”

‘ग’गनगनहाल्छ– “ होइन खसीको मासु पाउन छोडेको कति दिन भो हिसाब गर्नुभा’छ?आफू त हप्ताको दुइचोटि मटनकरी ( खसीको झोल ) सित भात खानबानी परेको मान्छे ।पङ्गु सरकारले माछामासु त ठीक ढङ्गले आपूर्ति गर्न सकिराखेको छैन, अरू कुराको त के आशा गर्नु !”

‘घ’आफ्नै पीडा सुसेल्छ– “आफ्नो त अर्कै व्यथा छ साथीहरू ! सधैँ साँझमा ट्वाक लाउन बानी परेको मान्छे; घरमा लान खान मनाही छ । सधैँ रेस्टुराँमा पसेर पिउने बानी ।लकडाउनले त्यो पनि बन्द गरिदिएपछि पानीविनाको माछा बनिसकेँ । कति दिन भो भो निद्रा नलागेको । सफ्ट ड्रिङ्क्ससमेत वर्जित गर्ने इतिहासकै यो झल्ला सरकार हो ।”

+++++ +++++ +++++
यिनीहरूले गुप्त जमघट चलाएको कुरा कसैले खुसुक्क पुलिस बिटमा खबर गरेछ । एकहुल पुलिस आएर हकारपकार पार्दै बाहिर निकाल्यो ।
असई कड्कियो– “यस्तो महामारीमा जमघट चलाउने, क्वारेन्टाइनमा लैजानुपर्ने हो ?”
“दोकानमा चियासम्म पिउन नदिने यस्तो पनि हुन्छ । जनताको मौलिक हकअधिकार खोस्ने यो निरङ्कुश सरकार हो………….।” क, ख, ग, घ नै भुतभुताउँदै बाटो लागे ।