

इन्दिरा गौतम (असम)
”गाउँका केटाहरू सबै बिग्रिएछन् है आमा ?”
“तँलाई कसरी थाहा भयो, विकास ?”
“त्यो पनि सोध्ने कुरा हो ? हिजो सागरको बिहेको पार्टीमा नाचेको देख्नु भएन ? सबै मत्त थिए । मलाई त यो गाउँको हुँ, भन्न पनि सरम लाग्छ हिजोआज ।”
ऊ भोलिपल्टदेखि गाउँको सबैभन्दा भलाद्मी सभ्य केटा जो पढाइमा पनि अब्बल छ, राहुलको सङ्गत गरेको कुरा आमासँग गर्छ ।
दुवै विज्ञान विषयको छात्र हुनाको नाताले बेलुका छिटै खाना खाएर गणित सिक्न राहुलकोमा जान थाल्यो ।
एक दिन आमाले भनिन्, “हेर छोरा, कसैसँग सित्तैमा पढ्न हुँदैन । टिउसनको फिस लगेर दिनू राहुललाई यसो हातखर्च भनेर । कि मैले लगेर दिँदा हुन्छ ?”
“मै दिन्छु ।”
यता आमाले आफ्नो छोरो र राहुल छोडेर गाउँका सबै केटा बिग्रिएका भन्दै जताततै हिँडिन् । सबै अभिभावकले आफ्ना आफ्ना छोराहरूलाई नजर राखे । विकासकी आमाले प्रातः भ्रमणमा निस्कँदा छोराको गुणगान दुई-चार जनासँग गाउन थालिन् ।
एक हप्ता के भएको थियो, प्रातः भ्रमणमबाट फर्किँदा दाहालनी ठुलीले भनिन्, “विकास घर पुग्यो ? रातभरि मातेर बाटामा लडेछ । हाम्रा छोराका बाउले उठाएर पठाएका अरे ।”
विकासकी आमाले सोझै कुराको विरोध गरिनन् । आफ्नो छोरालाई अविश्वास गर्ने कुरै भएन ।
हाँप र झाँप गर्दै आएर छोराको मुख सुघिन् । ह्वास्स गन्हायो । उनले घचघच्याउँदा विकास उल्टै भन्छ, ”यार ! डिस्टर्ब नगर न । निन्द्राले छोडेको छैन के ! हिजाको प्याक ज्यादै कडा रैछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

