साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा – प्रेमको परिभाषा

Chovar Blues Mobile Size

 

रेनुका सापकोटा (ओदालगढी)

वेदप्रकाश र ऋचा हिजोआज चर्चित छन् । एकप्रकारले भन्दा उनीहरूको प्रेमकथा भाइरल भएको छ तर कस्तो प्रेमकथा, किन चर्चित ? जान्नका लागि पन्ध्र सालअघिको कुरा जान्नुपर्छ ।

ऋचा पढाइमा अब्बल, स्कुलको कक्षादेखि कलेजको सेमेस्टरसम्म अद्वितीय, देख्नमा पनि रम्भा मेनकाहरू सबै पछि पर्ने । शालीन, सौम्य, शान्त, पहिरनमा अति साधारण वेशभूषामा ऋचा झनै राम्री । साधारण काठमिस्त्री कर्णाखरकी छोरी ऋचाले दरिद्रता घरको चौखटबाटै देखेकी छे अनि भोगेकी पनि छे । उसका लागि कलेज युनिभर्सिटीको उच्चशिक्षा जून छुने रहरजस्तै हो । बाबुको दैनिक आयको पैसाले उसको उच्चशिक्षाको खर्च धान्न सक्दैन । “भो छोरी, अब राम्रो कुटुम्ब हेरेर बिहे गरिदिन्छु मन्दिरमै भए पनि ।” कर्णाखर खुइय्य गर्छ उपायन्तर भएर । ऋचा केही बोल्दिन, उसलाई लाग्यो, आफ्नो सपना विपनामा अनुवाद गर्ने रहर रहरै हुने रहेछ । उसको अँध्यारिँदै गएको वर्तमानमा घामको उज्यालो कतैबाट पर्छ कि! ऊ सोच्छे ।

वेदप्रकाश दार्जिलिङको एउटा डल्लै चियाकमानको मालिक जनार्दनको एकमात्र छोरो । धनीमानीका सन्तानले पढ्ने ठुलो खर्चिलो स्कुलमा पढे पनि गाउँको हावापानीमा खेल्न रमाउने वेदप्रकाशका आँखामा ऋचा सानैदेखि छाएकी । ऋचाको अध्ययनमा रहेको रुचि र लक्ष्यले वेदप्रकाशलाई एकप्रकारको मोहनी लगायो । एकदिन कुरैकुरामा वेदप्रकाशले ऋचालाई सोध्यो, के-कस्तो विधा पढ्ने रहर छ । ऋचाले सोझो मनले भनी, “मलाई त मेडिकल पढ्ने इच्छा थियो नि, तर…!” वेदप्रकाशले ऋचाको अदम्य इच्छा र लक्ष्यपूर्तिको उद्देश्यलाई साकार रूप दिन अठोट गऱ्यो ।

“तिमी साँच्चिकै नै मेडिकल पढ्ने हो भने इन्ट्रान्सको तयारी गर न त ल, म खर्च दिउँला ।” अनायासै वेदप्रकाशको मुखबाट निस्केको वाक्यले ऋचालाई झकझक्यायो । उसले वेदप्रकाशका आँखामा आएका भावावेग पढी । वेदप्रकाशका छचल्किएको आँखामा उसका लागि उम्लनै लागेको मायाँ अनुभव गरी । एक्कासि ऋचा वेदप्रकाशका बाहुपाशमा बाँधिन पुगी ।

sagarmani mobile size

एक सातापछि मेडिकल भर्नाको इन्ट्रान्सको परीक्षा भयो । ऋचाले आफ्ना सपनाहरू साकार पार्न परीक्षा दिई । रिजल्ट आयो एकै सातापछि । मुलुकभरि उसले टप गरी । उसले यो खबर पहिले वेदप्रकाशलाई नै सुनाई । मेडिकल पढ्ने जम्मै खर्च वेदप्रकाशले बेहोऱ्यो । यसैबीच दुवैको प्रेमले पनि गहिरो रूप लिइसकेको थियो । मेडिकलको पाँच वर्षको पढाइ सकेर दुवैले बिहे गर्ने सिद्धान्त लिए ।

यसैबीच ऋचालाई इङ्ल्यान्डको विख्यात लन्डन स्कुल अफ मेडिकल साइन्सबाट चिकित्सा विज्ञानमा स्नातकोत्तर र शोध गर्ने ठुलो अफर आयो । उसले खर्चको कुरा सोचेर वेदप्रकाशलाई भनी । “वाओ! यस्तो अफर कहाँ छोड्ने! तिमी जाऊ मात्रै ‌ऋचा, खर्चको कुरा नसोच। मैँ हुँ न!” वेदप्रकाश खुसीले गदगद भयो।

लन्डन स्कुल अफ मेडिकल साइन्स । कत्रो ठुलो! यहाँ पढ्न पाउनु पनि ठुलै भाग्य चाहिन्छ । ऋचाको एडमिसन भयो । एकवर्षको व्यस्ततामा दार्जीलिङमा रहेको वेदप्रकाशलाई फोनमा, भिडियो कलमा पनि सम्पर्क गर्न उसले भ्याइन । कतिपल्ट वेदप्रकाशको फोन, भिडियो कल आयो, रिसिभ गर्नुसम्म उसले भ्याइन ।  एक से एक सुन्दर, आकर्षक अनुहारका युवा डाक्टरहरूलाई देखेर उसले वेदप्रकाशलाई बिर्सँदै गई।

डा. अनुराग सुन्दर, आकर्षक व्यक्तित्वको धनी । पोस्ट ग्रेजुएसनमा पहिल्यैदेखि भेटेकी ऋचाले । डुवर्सबाट लन्डन आएको पढ्न । दुवै सँगै पढ्ने, लन्च गर्ने, बीच-बीचमा टेम्स पारी डुल्न जाने । ऋचाले सोची, वेदप्रकाश कहाँ र डा. अनुराग कहाँ! उसको एकतर्फी आकर्षण अनुरागतर्फ बढ्दै गएको अनुरागले पनि अनुभव गर्न थाल्यो तर उसले ऋचालाई केवल सहपाठीको रूपमा चाह्यो । वेदप्रकाश र अनुराग एउटै स्कुलमा पढेका अभिन्न साथी । त्यहीमाथि अनुरागलाई थाहा थियो ऋचा कसरी लन्डनसम्म आइपुगी । उसले वेदप्रकाशलाई ऋचाको भित्र आउन थालेको परिवर्तनबारे पुराणै सुनायो फोनमा । दुवै मित्र मिलेर एउटा प्लान बनाए ।

वेदप्रकाशको फोनै नउठाउने ऋचालाई एकदिन दिल्लीबाट एउटा फोन आयो डा. अभिषेकको । सुन्दर चस्मामाथि रहेको मास्क लगाएको यति सुदर्शन डक्टर! बिस्तारै दुवैका बीच फोनकल, च्याटिङ, भिडियो कल बाक्लै हुन लागे । यता ऋचाको पढाइ टुङ्गिनै लागेको थियो । डा. अनुरागबाट खासै मिल्ने कुरा नभएपछि ऋचा डा. अभिषेकसित घनिष्ट हुन लागी । स्वदेश फर्केपछि उनीहरूको सिलगढीको एउटा पार्कमा पहिलो भेटको समय पनि ठिक भयो । यथासमयमा ऋचा स्वदेश फर्की र सिलगढी पुगेर तोकिएको पार्कमा डा. अभिषेकलाई पर्खिएर बसी । समयमा काउब्वाय ह्याट लगाएको लामो कलर फर्किएको कालो कोट लगाएको एक जना सुदर्शन युवक ऋचाको छेउ आयो । ऋचाले उसलाई तन्न-तन्न हेरी र दङ्ग परी,”वेदप्रकाश, तिमी यहाँ!” वेदप्रकाशले गहिरो पाराले तर मुस्कुराउँदै भन्यो, “हो, ऋचा, मै हुँ वेदप्रकाश । तिमीले डा. अभिषेक सोचेको पनि मै नै हुँ । तिमीभित्र आउन लागेको परिवर्तनबारे मेरो जिग्री साथी डा. अनुरागले मलाई सबै भनिसकेको छ तर तिमीप्रति रहेको मेरो अकृत्रिम मायाले होला, मलाई डा. अभिषेक बन्न बाध्य गरायो ।”

उसका कुरा सुनेर ऋचाका खुट्टाबाट भुईँले ठाउँ छोडेको अनुभव भयो । “मलाई माफ गर वेदप्रकाश, माफ गरिदेऊ, मैले तिमीप्रति जुन अन्याय गरेँ, त्यो अक्षम्य भए पनि माफ गरिदेऊ । म बहकिन लागेकी थिएँ, तिमीले मलाई उद्धार गऱ्यौ । मलाई माफ गरिदेऊ ।” ऋचाका आँखाबाट उर्लिएर आउन लागेका आँसुका धारा रुमालले पुछिदिँदै वेदप्रकाशले  भन्यो, “हेर ऋचा, यो उमेरमा मन बहकिनु ठुलो कुरो होइन तर तिमीप्रति रहेको मेरो असल मायाँले तिमीलाई अन्जान परिवेशबाट रक्षा गऱ्यो । कहिलेकाहीँ यस्तो पनि हुन्छ प्रेमको परिभाषा ।”

०००

२२ जुलाई,२०२१

 

प्रतिक्रिया
Loading...