यो मुलुकलाई साला कमरेड सामन्तीहरूले सखापै पार्ने भए । नाथे मार्सी चामल खाने मार्कसिस्‍ट र लैनचौरमा बसी लेनदेन गर्ने लेनिनिस्ट दलालहरूका हातमा सत्ता पुगेपछि के यो मुलुकको भलो हुन्छ? को माइकालाल अहिले सच्चा सर्वहारा कम्‍युनिस्‍ट नेता हो मलाई देखाइदेऊ त? तीन हात उफ्रिँदै पञ्चनारायण आसेपासेकाहरूलाई भाषण छाड्छ । यसरी भाषण छाड्दाछाड्दै आवेशमा अपशब्‍द पनि बोलिहाल्छ ।

पञ्चनारायण तत्कालीन पुराना पञ्चप्रधानका सामन्ती पुस्ता हुन् । उनका बाजे र बुबाले राजाबाट सिन्दुर लाएकाले उनका पुस्ता कहिल्यै राजाको विपक्षमा उभिएनन् । वर्तमान हिन्दु धर्म संरक्षण समाजको नेतृत्व अहिले उनैले गरिरहेका छन् ।

खुपेन सुनुवार

पञ्चनारायणलाई दुईवटा “क” देखि असाध्यै घृणा छ- एक कम्युनिस्ट र अर्को क्रिस्चियन । बेला-बेला वरिपरिका गिर्जाघर जानेहरूलाई ऊ सताउने गर्छ । केही हप्ताअघि मात्र हिन्दू धर्म त्याग गरी क्रिस्चियन बनेका बिबका परिवारलाई आफ्नो समुदायलाई दुष्ट सैतानहरू भनेको गम्भीर आरोपमा झन्डै-झन्डै उनले जिउँदै नै जलाइदिएका थिए ।

बिबका अर्थात् वीरबहादुर कामी । वास्तवमा बिबका जातीय विभेदबाट उन्मुक्ति पाउन ख्रिष्ट धर्म अपनाएका अवसरवादी  हुन् । उनलाई बाइबलको सिद्धान्तसँग  मतलब छैन तर उनलाई पञ्चनारायणका मन नपर्ने दुईवटा “क” खुब मनपर्छ ।

पञ्चनारायणका बाजेले वीरबहादुरका बाजेलाई मन्दिर जान वञ्चित गरेपछि वीरबहादुरका बाजे विद्रोही भए र पञ्चायत व्यवस्था हुँदा जेलनेल पनी भोगे ।  उनी तिनताक  पुष्पलाल र निर्मल लामाका घनिष्ठ मित्र थिए रे भन्ने खुबै हल्ला पनि थियो । मन्दिर पस्न नपाएको विरोधमा वीरबहादुरका बाजेले घरैमा  पञ्चदेवको मूर्ति स्थापित गरे । अहिले पनि ती पञ्चदेव (माक्स, ट्रस्की, लेनिन, स्टालिन र माओ) को तस्‍बिरहरू वीरबहादुरका घरमा छन् तर काठको क्रसमा झुन्डिएको नासिरीको तस्‍बिर अरू तस्बिरभन्दा ठुलो आकारमा थपिएको छ ।

पहिले वीरबहादुर कम्युनिस्टको प्रचार गर्थे । अहिले क्राइष्टको गर्छन् । आर्थिक अवस्था अहिले  झनै अब्बल छ । विभिन्न सरकारी गैरसरकारी सङ्घसंस्थाहरूमा सक्रिय छन् ।  उनी जुन गिर्जाघर जान्थे त्यसबाट छुटेर अहिले आफ्नै अल्लग गिर्जाघर खोलेका छन् र धर्मगुरु पनि आफैँ भएका छन् । सुनिन्छ धेरैलाई धनको प्रलोभन देखाएर आफ्नो समूहमा ल्याएकाले आफ्नै बिरादरीकाले उनको समूहलाई “कल्ट” को क्याटगोरीमा राखेका छन् । कारण उनको मसिह अब इस्रायलको येसु मसिह रहेनन । दक्षिण कोरियाको प्रतिपादित धर्मगुरु पो नयाँ मसिह भएका छन् ।

जब कुनै व्यक्ति, चाहे पञ्चनारायण होस् या वीरबहादुर, यदि कसैले राजनीति र धर्मको नाममा अफिमको धन्दा गर्छ भने त्यो कुनै पनि व्यक्ति, समाज र राष्ट्रका लागि नै बडो हानिकारक र घातक बन्न पुग्छ ।