मित्र ‘उराठी’ गौतम

गाउँबाट क्याम्पस पढ्न सहर झरेको रूपेशको पढाइकै सिलसिलामा नमितासँग भेट हुन्छ । पढाइमा अब्बल र
अनुशासित भएर होला रूपेश नमिताको मिल्ने साथी बन्यो ।नमिता पनि सरल र लगनशील थिइन् ।सहरीया
अरू छात्राहरू फेसनमा सजिएर आउँथे तर रूपेशलाई नमिताजस्ती सुन्दर अरू लाग्दैनथे ।चन्द्रमुखी अनुहार, सर्लक्क लामो कपाल, सलक्कको जिउडाल भएकी उनको कहिले भड्किलो शृङ्गार देखेन रूपेशले ।
दुवैको ध्यान जति बेलासुकै पढाइमा हुन्थ्यो ।उनीहरू हरदम पढाइकै बारेमा छलफल गरिरहेका हुन्थे । यिनीहरूको यो सम्बन्धलाई कतिपय साथीहरूले गलत अर्थ पनि लगाउँथे तर उनीहरू यस्ता कुरालाई बेवास्ता गरिदिन्थे ।
यहि क्रममा एक दिन नमिताको विवाह हुने निश्चित भयो ।नमिताले रूपेशलाई पनि विवाहको निमन्त्रणा कार्ड
दिइन् । रूपेशले विवाहमा आउने वचन दियो ।

विवाहको दिन रूपेश उपहारसहित विवाहस्थल पुग्यो तर त्यस दिन त्यहाँ विवाह मण्डप थुप्रै थिए ।रूपेशले
नमिताको विवाह मण्डप कुन होला भनि केही क्षण अलमलियो ।सबै मण्डप चहार्दै हिँड्यो तर नमितालाई
भेट्दैन । यसै क्रममा एउटा विवाह मण्डपमा आँखा गाडेर हेर्छ तर ठम्याउन सक्दैन । फर्कनै के आँटेको थियो
नमिताको आवाजले टक्क अडिन्छ । पछि फर्केर हेर्छ तर नमिता नै हो भनेर ढुक्क हुन सक्दैन । नमिताले नजिकै
बोलाएर –”विवाहको निमन्त्रणा स्वीकार गरी आएकोमा धेरै धेरै धन्यवाद” भने पछि ऊ ढुक्क भएर नमितालाई शुभकामनासहित उपहार दिन्छ ।

तर ऊ नमिताको रूप देखेर आश्चर्यचकित हुँदै मनमनै सोच्छ- “त्यति सुन्दर अनुहारमा के के लिपपोत गरेको होला ? सुन्दर ती काला ठूला-ठूला आँखामा चन्द्रमाजस्तै आँखी भौँ बिगारेर के न केका लामालामा परेला
टाँसेको होला ? हातैभरि त्यो कालो दलेर के विरूप पारेको होला ? त्यति राम्री नमिता विवाहको दिन झन्
प्लास्टिकको बुख्याचाजस्तो किन बनेको होला ? अनि कसरी चिन्नु मैले ?”
“हैन के ट्वाल्ल परेको रूपेश ?”
नमिताको आवाजले ऊ झसङ्ग हुन्छ ।

इस्मा-६, अमरपुर- गुल्मी,