म पानी लिन जाँदा मसँगै कुवासम्म गएर फर्केको थियो । अचानक के भएछ ? बेलुका खाना नखाइकन लल्याकलुलुक्क परेको डम्फु देखेर मनमा कुरा खेल्यो । दूधसम्म पनि खान सकेन । डम्फु बिरामी भएको कुरा घरभरि फैलियो । रातिहुँदो जँचाउन लग्ने कुरा पनि भएन । हामी डम्फुलाई घेरेर बस्यौँ ।
“पक्कै यसले विष खाएको हुनुपर्छ, नत्र एकाएक यस्तो के हुन्थ्यो ?” सासूको कुरा ।
“प्लाष्टिक खायो कि ?” वहाँको कुरा ।
“जुका पर्यो कि !” हजुरआमाको कुरा ।
“हेर.. पानी लिन जाँदा संगसगै कुवासम्म जान्थ्यो के भको होला हगि भाउजू ..!” नन्दको कुरा ।
“इत्रो… सानोमा ल्याएर भाउजूले कति माया गरेर हुर्काउनु भएको… !” देवरको कुरा ।
“माइतीको कुकुर पनि प्यारो भन्थे हो रैछ… लौ यिनी त रुन पो लागिन् नरौ !” जेठानीका कुरा ।
कुरैकुरा सुनेर भक्कानिदै म एकोहोरो डम्फुलाई नै हेरिरहेको थिएँ । हे भगवान केही नहोस् डम्फुलाई । मनमनै भगवान सम्झिरहेथेँ । हेर्दाहेर्दै उसले एकचोट जीउ तनक्क तन्कायो र प्राणविहीन भयो ।
“ए लौ मर्यो..! मर्यो..! तुलसीमठमा लगेर सुताइदेओ । भोलि बिहानै धोबी खोलामा लगेर गाड्नु !” सासूले भन्नु भयो । त्यै अनुसार गरियो पनि । सबै आ-आफ्ना कोठातिर लागे । “हिँड भित्र जौँ!” वहाँले मलाई अंकमाल गरेर भित्र लग्नुभयो । “पीर नगर भोलि म यो भन्दा राम्रो मोती कुकुर ल्याइदिन्छु ।” वहाँले आँशु पुछिदिँदै भन्नु भयो ।
मेरो डम्फुको रिक्तता कुनै अरु कुकुरले भर्न सक्ने थिएन । मैले त आफ्नो सन्तान जस्तै सम्झेर पालेकी थिएँ । चम्चाले दूध खुवाएर हुर्काएकी थिएँ । एउटा सन्तान गुम्नुको पीडा कस्तो हुन्छ ? मैले मन फुकाएर रुन पनि सकिनँ । भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । रात धेरै छिप्पियो । निद्रा लागेन । एउटा बोरा लगेर डम्फुलाई ओडाइदिएँ । र फेरि भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । कति खेर निदाएछु ।
सपनामा देखेँ, तुलसीको मठबाट डम्फु उठेर आएछ । म सुतेको पलङनजिकै आएर जिब्रो निकालेर स्याँ स्याँ स्याँ गरेर तातो स्वास फालिरहेको थियो । म खुशीले चिच्याउँदै उँठे ।
“के भयो ?” वहाँले भन्नुभयो ।
“डम्फु जिउँदै छ !” मैले भनेँ ।
“सुत भर्खर ४ बज्यो !” वहाँले मेरो अनुहार मायाले मुसार्नु भयो र ब्ल्याङकेट ओडाइदिनु भयो, फेरि निदाएछु ।
“नाना .. ! नाना..!” वहाँले मलाई घचघच्याइरहनु भएको थियो । केही नबोली आधी आँखा खोलेर हेरेँ । “हेर त यो को हो ?” मैले पुरै आँखा खोलेँ । पलङ छेउमा डम्फु सपनामा जस्तै पुच्छर हल्लाएर मलाई मायालाग्दो अनुहारले हेरिरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।